तेल अभीभ । इजरायली सेनाले गाजामा आफ्नो कारबाहीका क्रममा गल्तीले तीन जना बन्धकहरूलाई ‘चुनौती’ ठानेर मारेको बताएको छ। मृत्यु हुनेमा २८ वर्षीय योतम खाइम, २२ वर्षीय समेर तलालका र २६ वर्षीय एलोन शमरिज रहेका छन् ।
सेनाले गाजाको उत्तरमा रहेको शेजैयामा तीनै जनाको मृत्यु भएको बताएको छ। इजरायलमा हमासले अक्टोबर ७ मा हमला गरेको थियो र त्यसले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएर गाजा फर्काएको थियो। यद्यपि हमासले पछिल्ला केही दिनमा दर्जनौं बन्धकहरूलाई रिहा गरेको छ, तर तिनीहरूसँग अझै पनि १ सयभन्दा बढी बन्धकहरू छन्।
इजरायली सेनाले शुक्रबार भएको घटनाको अनुसन्धान भइरहेको जनाएको छ । सेनाले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ । सेनाले भन्यो, ’हाम्रो राष्ट्रिय मिशन बेपत्ता व्यक्तिहरूको खोजी गर्नु र सबै बन्धकहरूलाई घर फर्काउनु हो।’
घटनाको जानकारी पाएलगत्तै इजरायली सहर तेल अभीभमा सयौं मानिस भेला भए र सहरमा रहेको सैन्य अखडातर्फ मार्च गरेका थिए । आन्दोलनकारीले बाँकी बन्धकहरुको रिहाइका लागि सरकारसँग सम्झौता गर्न माग गरेका छन् ।
प्रदर्शनका क्रममा मानिसहरुले हातमा मैनबत्ती र पोस्टर बोकेका थिए । पोस्टरहरूमा ‘उनीहरूलाई घर ल्याउ’ र ‘बन्धकहरू आदान प्रदान गर’ जस्ता नारा लेखेका थिए । मृतकको शव इजरायल पुगेको छ, जहाँ उनीहरुको सनाखत भएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यी मृत्युहरूलाई ‘असहनीय त्रासदी’ भनेका छन्। ‘यो कठिन साँझमा पनि, हामी हाम्रा घाउहरू निको पार्नेछौँ । हामी पाठ सिक्नेछौँ र हाम्रा सबै बन्धकहरूलाई सुरक्षित रूपमा घर फिर्ता ल्याउन हरसम्भव प्रयास जारी राख्नेछौँ,’ उनले भने।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com