हमासले गाजाबाट फिर्ता गरेका चार बन्धकको शवमध्ये शिरी बिबासको अवशेष नभेटिएको इजरायलले जनाएको छ।
इजरायली सेनाले शिरीका दुई छोरा, एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शव फेला नपरेको बताएको छ। हमासले बन्धक–कैदी साटासाट अन्तर्गत बिहीबार चार जनाको अवशेष रेडक्रस मार्फत इजरायली सेनालाई बुझाएको थियो।
इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले टेलिग्राममा लेख्नुभएको छ, “अनुसन्धान क्रममा पत्ता लाग्यो कि बुझाइएका तीन जनाका अवशेष सही भए पनि चौथो अवशेष शिरी बिबासको होइन। यो अन्य कुनै अपहरितसँग पनि मेल खाँदैन।”
उहाँले थप्नुभयो, “हमासले सम्झौताअनुसार शिरीसहित सबै अपहरितलाई फिर्ता गर्नुपर्छ।”
इजरायलले बिबस परिवारका दुई छोरा, एरियल र कफिरलाई प्यालेस्टिनी लडाकूहरूले मारेको निष्कर्ष निकालेको छ। तर, इजरायली सेनाले एरियल र कफिरकी आमा शिरीलाई युद्धको सुरुवातमा इजरायली हवाई आक्रमणमा मारिएको भन्ने हमासको दाबी अस्वीकार गरेको छ।
गाजामा भएको युद्धविराम अन्तर्गत इजरायललाई शव हस्तान्तरण गरिएको यो पहिलो घटना हो।
सेनाका प्रवक्ता अद्राईका अनुसार, “खुफिया जानकारी र अनुसन्धानका आधारमा, एरियल र कफिर बिबासलाई सन् २०२३ नोभेम्बरमा हमासका लडाकूहरूले क्रूरतापूर्वक मारेका थिए।”
सन् २०२३ अक्टोबर ७ मा अपहरण गरिएका शिरी, कफिर, र एरियल बिबास हमासको कब्जामा रहेको पीडाको प्रतीक बनेका थिए। हमासले बिहीबार यी तीन जनासहित चौथो बन्धक ओडेद लिफ्शिट्जको शव पनि बुझाएको थियो।
उहाँ एक अनुभवी स्वतन्त्र पत्रकार हुनुहुन्थ्यो, जसले लामो समयदेखि प्यालेस्टिनीहरुकै पक्षमा मानव अधिकारको वकालत गर्दै आउनु भएको थियो।
अक्टोबर ७ २०२३मा यस्ता धेरै शान्ति अधिकारवादी समेत मारिएका र अपहरणमा परेका थिए जसले सधैं प्यालेस्टिनीहरुको अधिकारको लागि पक्षमा लड्दै आएका थिए ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ। उहाँले एक भिडियो सन्देशमा भन्नुभएको छ, “हामी शिरीलाई मारिएकी वा जिवितै जुन अवस्थामा भएपनि फिर्ता ल्याउने छौं, मारिएका हाम्रा सबै बन्धकहरूको सम्मानजनक अन्त्येष्टि गर्ने, र सम्झौताको उल्लङ्घनका लागि हमासलाई गम्भीर परिणाम भोग्न बाध्य पार्नेछौं।”
यो पनि पढ्नुहोस
९ महिने वालकको त्यो निर्दोष मुस्कान, जो गाजामा सधैंका लागि अस्तायो
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com