नेपाल इजरायल डट कम । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले गत बर्ष हमासको आक्रमणमा परी वेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको स्थिति र उद्धार प्रयासबारे इजरायली अधिकारीहरूसँग जानकारी लिएका छन्।
राजदूत पण्डितले बिहीबार इजरायली प्रधानमन्त्री कार्यालयका सल्लाहकार तथा “बन्धक तथा बेपत्ता व्यक्तिहरूका संयोजक” ब्रिगेडियर जनरल (सेवा निवृत्त) गार्ल हिससँग भेट गरेका थिए। भेटघाट गार्ल हिसको बेनि ब्राकस्थित कार्यालयमा सम्पन्न भएको थियो, जहाँ विपीन जोशीसहित अन्य बन्दीहरूको अवस्थाबारे छलफल भएको बताइएको छ।
बन्दीहरूको विषयमा भ्रामक समाचारप्रति इजरायली अधिकारीको प्रतिक्रिया
इजरायली प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका गार्ल हिसले, बन्दीहरूको अवस्थासँग सम्बन्धित विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरूको सत्यता पुष्टि नभएको जानकारी गराएका छन्। उनले विशेष गरी इजिप्ट सरकारले हमाससँग बन्दीहरूको विवरण-सूची आदानप्रदान गरेको भन्ने समाचारको कुनै आधार नभएको बताए। त्यस्तै, नेपाली सञ्चारमाध्यममा प्रकाशित विपीन जोशीसँग सम्बन्धित खबरहरू पनि विश्वसनीय स्रोतमा आधारित नरहेको उनको भनाइ छ।

राजदूत पण्डितको आग्रह
राजदूत पण्डितले विपीन जोशीको उद्धारका लागि नेपाल, इजरायल, र अन्य सम्बद्ध पक्षहरूबीच समन्वयलाई अझ सशक्त बनाउने आवश्यकतामा जोड दिए। उनले इजरायल सरकारसँग मात्रै नभई, विश्व मञ्चमा रहेका अन्य अरब देशका कूटनीतिज्ञहरूसँग पनि निरन्तर संवाद गरी उद्धार प्रक्रियालाई तीव्रता दिन आग्रह गरे।
यो प्रयासले नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै, अन्तर्राष्ट्रिय सहयोगमार्फत विपीन जोशीको सुरक्षित उद्धारमा मद्दत पुग्ने विश्वास गरिएको छ।
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन । उनको ब्लग krishnathapa.comउनका अरु लेखहरु पढ्न सकिन्छ ।