नेपाल इजरायल डट कम ।
बर्दिया बाँसगढी-५ का नेपाली मोबाइल एप्स डेभलपर २३ वर्षीय कर्णबहादुर बुढा क्षेत्रीले बनाएको एक एन्ड्रोइड एप्सलाई इजरायली प्रविधि कम्पनी राउन्ड्स एआई लिमिटेडले किनेको छ । सोही कम्पनीले यस अघि पनि कर्ण बहादुरको पिक अप लाइन्स- फ्लर्ट मेसेजेज् (Pickup Lines- Flirt Messages) नाम गरेको मोबाइल एप्स ७० लाख रुपैयाँमा किनेको थियो । हाल खरिद गरेको एप्सको नाम भने गोपनीयताका कारण सार्वजनिक गरिएको छैन ।
डेभलपर क्षेत्रीका अनुसार ५२ लाख ८६ हजार रुपैयाँमा हालै इजरायली कम्पनीलाई बिक्री गरेको एप एन्ड्रोइड डिभाइसमा पाँच लाख बढी पटक डाउनलोड भैसकेको छ । उनका अनुसार सो एप क्वोट (भनाइ) सँग सम्बन्धित रहेको छ । यस सहित क्षेत्रीले बनाएको 2 मोबाइल एप्स बिक्री गरेर एक वर्षमा इजरायली कम्पनीबाट कुल एक करोड २२ लाख ८६ हजार रुपैयाँ आम्दानी भएको छ ।
डेभलपर क्षेत्री ललितपुरस्थित युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा स्नातक तहमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत छन् । फुर्सदको समयमा उनी मोबाइल एप बनाउन रुचि राख्छन् । इजरायली कम्पनी सँग भएको दुई वटा एप्सको बिक्री सम्झौता पछि उनी थप उत्साहित बनेका छन् ।
उनका अनुसार सुरुको एपले साथीभाइ/आफन्तसँग मिठा, रमाइलो, सम्झन लायक कुराकानी शेयर गर्न सहयोग गर्छ । यसका लागि एपमा पिक अप लाइनहरू सङ्कलन गरेर ठुलो सङ्ग्रह बनाएर राखिएको थियो ।छोटो समयमा नै एपलाई धेरैले मन पराएपछि डाउनलोड सङ्ख्या पनि ह्वात्तै बढेको थियो ।
पिक अप लाइन्स- फ्लर्ट मेसेजेज भित्र चिजी, रोमान्टिक, क्युट, फन्नी आदि क्याटगोरीका पिक अप लाइन रहेका छन् । जसलाई सजिलै कपि गरेर एसएमएस, ईमेल अथवा मेसेन्जरमा प्रयोग गर्न सकिन्छ।
एप तयार गरेर प्ले स्टोरमा अपलोड गरेपनि उनको एप्स सुरुवाती ५/६ महिनासम्म प्रयोगकर्ताले खासै चासो देखाएका थिएन्। उनले पनि त्यति वास्ता गरेका थिएनन । तर ६ महिनापछि डाउनलोड गर्नेको सख्या ह्वात्तै बढ्न थाल्यो पछि प्लेस्टोरले पनि एप सजेस्ट गर्न थाल्यो। सुरुवाती समयमा एपको नाम सर्च गर्दा पनि प्ले स्टोरमा देखिँदैन थियो।
एप खरिद गर्ने इजरायली कम्पनी राउन्ड्स एआईले उनलाई खरिदको प्रस्ताव पठाउँदा अनलाइन स्क्याम (ठगी) जस्तो लागेको थियो । तर कम्पनीबारे थप अध्ययन गरेर वास्तविक भएको पत्ता लागेपछि छलफल अगाडि बढाएका थिए ।
जाभा प्रोग्रामिङ ल्याङ्ग्वेज प्रयोग गरेर बनाएको एपलाई ८ लाख बढीले डाउनलोड गरिसकेका थिए । त्यस्तोमा किन्छु भन्दा शङ्का लागेको थियो । पछि कम्पनीबारे अध्ययन गरेपछि ढुक्क भएँ । अनि खरिदबिक्री सम्बन्धीको कुरा अगाडि बढ्यो,” उनले भने ।
उनको एप्स विशेष गरी युरोप र अफ्रिकाका प्रयोगकर्ताहरूले धेरै डाउनलोड गरिरहेका थिए । सुरुमा २५ हजार डलरमा किन्ने प्रस्ताव गरेको थियो तर केही समयको कुराकानीमा राउन्ड्स एआई ५३ हजार डलर (करसहित) मा एप खरिद गर्न राजी भएको थियो ।
डेभलपर क्षेत्री ‘काकी डेभलपर’ मार्फत एप बनाउने र प्ले स्टोरमा अपलोड गर्ने गर्छन् । अहिलेसम्म उनले गुगल प्ले स्टोरमा दुई दर्जन भन्दा धेरै एप्सहरु बनाएर राखिसकेका छन् । उनी नेपालको प्रविधि क्षेत्रमा स्वतन्त्र रुपमा योगदान दिन चाहन्छन् । नेपालमै काम गरेर पनि आम्दानी गर्न सकिने धारणा राख्ने क्षेत्री फ्रिल्यान्सिङ प्लेटफर्म मार्फत पनि सक्रिय छन् ।
इजरायलको तेल अभिभमा अवस्थित राउन्डस ए आइ कम्पनीले युरोपका २० भन्दा धेरै देशहरुमा सेवा विस्तार गरेको छ ।
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन । उनको ब्लग krishnathapa.comउनका अरु लेखहरु पढ्न सकिन्छ ।