प्यालेस्टिनी लडाकू समूह हमासले शनिबार दुई इजरायली बन्धकलाई रिहा गरेका छन्।
इजरायली सेनाका अनुसार, रिहाइपछि ती बन्धकहरूलाई इजरायली सुरक्षा बलले आफ्नो नियन्त्रणमा लिएर इजरायली भूमिमा फिर्ता गरेको छ।
युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत उनीहरूलाई मुक्त गरिएको हो, जुन जनवरी १९ मा सुरु भएको थियो। हमास निकट स्रोतका अनुसार, जीवित बन्धकमध्ये अन्य चारजनालाई पनि शनिबार नै रिहा गर्ने तयारी भइरहेको छ।
रिहा गरिएका ताल शोहम र एवेरु मेन्गिस्तुलाई दक्षिणी गाजाको राफामा एक सार्वजनिक मञ्चमा लगिएको थियो, जहाँ कालो पोशाकमा रहेका सशस्त्र नकाबपोश लडाकुहरूको उपस्थितिमा शोहमलाई सम्बोधन गर्न लगाइयो। त्यसपछि दुवैलाई रेडक्रसको जिम्मा लगाइयो।
सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथिको हमलाका क्रममा प्यालेस्टिनी लडाकूहरूले कैयौं व्यक्तिलाई बन्धक बनाएका थिए, जसले गाजा पट्टीमा १५ महिनाभन्दा बढी समयसम्म युद्ध चर्काएको थियो।
शनिबार नै मध्य गाजाको नुसिरातमा एक छुट्टै समारोहबीच थप चार जना बन्धकलाई पनि रिहा गरिनेछ। हमास निकट स्रोतका अनुसार, इस्लामिक समूह हमासले उनीहरूलाई रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गर्नेछ।
इजरायली अभियान समूह द होस्टेज एन्ड मिसिङ फेमिलीज फोरम ले रिहा हुने ६ जना इजरायलीको नाम सार्वजनिक गरेको छ। तीमध्ये एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेनकर्ट, हिशाम अल-सैयद, एवेरु मेन्गिस्तु र ताल शोहम छन्।
हमासले शुक्रबार शिरी बिबशको शव पनि हस्तान्तरण गरिदियो, परिवारले शव शिरिकै भएको बताएका छन ।
यसघि हमासले बिहीबार हस्तान्तरण गरेको अवशेष, जुन उसले शिरी बिबासको भएको दाबी गरेको थियो, इजरायलका अनुसार एउटा अज्ञात महिलाको भएको पुष्टि भएपछि युद्धविरामको विश्वसनीयतामा प्रश्न उठेको थियो ।
यसै बीच, युद्धविराम सम्झौताका रूपमा शनिबार हमासले छजना जीवित बन्धकहरू २ जना रिहा गरिदिएको छ । यसको बदलामा इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्नेछ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com