इजरायली मौसम विभागले युरोपेली देशहरूले ठूला आंधी बेहरीको नामाकरण गरेजस्तै सम्भावित मौसमी घटनाहरुलाई विशेष नाम दिएर जनमानसमा सतर्कता अपनाउन आधिकारिक रूपमा शुरु गरेको छ । यसै क्रममा, सो विभागले यसपाली इजरायलमा आउने चिसो हावालाई “कोरल” नाम घोषणा गरेको छ।
कोरलले यो सप्ताहन्तदेखि आउँदो हप्ताको सुरुमा प्रभाव पार्ने अनुमान गरिएको छ, जसले जेरुसेलममा हिमपात हुने सम्भावना छ । मौसम नामकरण प्रणाली साइप्रस र ग्रीसका मौसम विभागहरूसँगको सहकार्यमा सुरु गरिएको हो, जसले जनसुरक्षामा असर पार्ने र सरकारी तयारी आवश्यक पर्ने मौसम घटनाहरूलाई कुनै विशेष नाम दिने गर्छ।
यस हिउँद ऋतुका पहिलो दुई आँधीले साइप्रस र ग्रीसमा मात्र प्रभाव परे पनि, “कोरल” पूर्वी भूमध्यसागर क्षेत्र, विशेष गरी इजरायललाई प्रभावित गर्ने पहिलो चिसो लहर हुनेछ।
पूर्वानुमानअनुसार, “कोरल” ले उत्तरी ध्रुवबाट अत्यधिक चिसो तापक्रम ल्याउनेछ। यसले इजरायलका उत्तरी पहाडहरू, मध्य क्षेत्रहरूमा अत्यधिक चिसो बढाउने र जेरुशलेम शहरमा हिमपात गराउने सम्भावना छ।
हालको अनुमानअनुसार, शनिबार उत्तरबाट पानी पर्न सुरु हुनेछ। आइतबारसम्म, ५०० देखि ७०० मिटर (१६४०-२२९७ फिट) उचाइ भएका क्षेत्रमा हिमपात हुनसक्छ, जसले इजरायलको उत्तरी सीमादेखि जेरुशलेम हुँदै हेब्रोन पहाडसम्म प्रभाव पार्न सक्छ।
तर, मौसम विज्ञहरूले हिमपातको ठ्याक्कै परिमाण र जमिनमा थुप्रिने अवस्था अनुमान गर्न अझै गाह्रो भएको बताएका छन्।
आइतबार, इजरायली आन्तरिक मन्त्रालयले सबै स्थानीय निकायहरूलाई “अत्यधिक चिसो हावा” का लागि तयारी गर्न निर्देशन दिएको छ। शनिवार जेरुसलेममा ठूलो हिमपात हुनसक्छ, जसले बाटो अवरुद्ध र अन्य समस्याहरू ल्याउन सक्छ,” मन्त्रालयले सावधानी रहन अनुरोध गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com