तेल अभिव, इजरायल – प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४८औं स्मृति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको मूल आयोजना तथा महासंघमा आबद्ध राष्ट्रिय समुदाय संस्थाहरूको सह-आयोजनामा दोस्रो संस्करण लखन थापा मगर स्मृति कप २०२५ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
सो अवसरमा भलिबल तथा Catch’n Serve Ball खेल प्रतियोगिताको आयोजना गरिएको थियो । यस प्रतियोगिताले इजरायलमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य, र खेलकुद प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। प्रतियोगितामा नेपाली समुदायका विभिन्न स्थानीय टिमहरूको सहभागिता रहेको थियो।
जसमा भलिबलतर्फ नेपाल आदिवासी जनजाति महासंघ इजरायल, नेपाल मगर संघ शाखा इजरायल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल, प्रवासी नेपाली मञ्च इजरायल, सुदुर-पश्चिमेली नेपाल समाज इजरायल, इजरायली कृषि भलिबल टिम, लायन तेल अविव इजरायल तथा किरात याक्थुङ चुम्लुङ इजरायल सहभागी थिए भने, Catch’n Serve Ball खेलतर्फ नेपाल आदिवासी जनजाति महासंघ इजरायल र नेपाल तामाङ घेदुङ इजरायलले भाग लिएका थिए ।
प्रतियोगिताको भलिबलतर्फको विजेता इजरायली कृषि भलिबल टिम रह्यो भने उपविजेता नेपाल मगर संघ शाखा इजरायल बन्यो। यसैगरी, उत्कृष्ट खेलाडीको रूपमा इजरायली कृषि भलिबल टिमका निहाल विश्वकर्मा घोषित भए। विजेताले ४५०० सेकेल नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले २२०० सेकेल नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट खेलाडीलाई २०० सेकेल नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरियो। Catch’n Serve Ball तर्फ नेपाल आदिवासी जनजाति महासंघ इजरायलले प्रथम स्थान हासिल गर्यो भने उत्कृष्ट खेलाडीको उपाधि जानुका निरौलाले जितिन्। यस विधामा विजेताले १००० सेकेल नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने उत्कृष्ट खेलाडीलाई २०० सेकेल नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरियो।
बिजेता भलिबल तर्फ
क – इजरायली कृषि भलिबल टिम
ख -उपबिजेता -नेपाल मगर संघ शाखा इजरायल ।
ग – उत्कृष्ट खेलाडी -निहाल बिश्वकर्मा (इजरायली कृषि भलिबल टिम)
खेल नकआउट चरणमा खेलाइएको थियो भने सबै खेलहरू बेस्ट अफ थ्री प्रणालीमा सम्पन्न गरिएको थियो। इजरायलमा विभिन्न पेशामा आवद्ध रहेका नेपालीहरु विदा मिलाएर सहभागी भएको सो प्रतियोगितामा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन देख्न पाइयो, जसले सम्पूर्ण दर्शकलाई रोमाञ्चित बनायो। प्रतियोगितामा सहभागी भलिबल तथा Catch’n Serve Ball टिमका खेलाडीहरूलाई हौसलास्वरूप प्रशंसा पत्र प्रदान गरिएको थियो।
बिजेता Catch’n Serve Ball तर्फ
क -नेपाल आदिवासी जनजाति महासंघ इजरायल ।
ख – उत्कृष्ट खेलाडी -जानुका निरौला (नेफिन इजरायल )
खेलकुद प्रतियोगिताका प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलका महामहिम राजदूत प्रा. धनप्रसाद पण्डितका साथै नियोग उपप्रमुख कुमार बहादुर श्रेष्ठ हुनुहुन्थ्यो भने सभापतिको भूमिकामा नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी अध्यक्ष मनु श्रेष्ठ रहनु भएको थियो। इजरायलको तेल अभिभमा व्यवस्थित र मर्यादित रुपमा सम्पन्न दोस्रो संस्करण लखन थापा मगर स्मृति कप २०२५ प्रतियोगिता कार्यक्रमको संयोजन बिबस आले मगरले गर्नु भएको थियो ।
१५ फेब्रुअरी २०२५ तेल अभिवको लेभेन्स्की पार्क फुटसल ग्राउण्डमामा प्रतियोगिताको रौनकता साँझ अबेरसम्म देख्न सकिन्थ्यो । प्रथम शहिद क्या. लखन थापा मगरको स्मृतिमा आयोजना गरिएको यस प्रतियोगिताले इजरायल प्रवास रहेको नेपाली समुदायमा खेलकुदको प्रवर्द्धन मात्र नभई आपसी सद्भाव र सहकार्यलाई समेत सुदृढ गर्ने अवसर प्रदान गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com