अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई आश्रय दिन अस्वीकार गर्ने देशहरूलाई अमेरिका प्रदान गर्दै आएको सहयोग बन्द गर्ने चेतावनी दिएका छन्।
यसअघि ट्रम्पले प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनमा स्थायी रूपमा पुनर्स्थापना गर्नुपर्ने सुझाव दिएका थिए। तर, जोर्डनलगायत मध्यपूर्वका अन्य देशहरूले उक्त प्रस्तावलाई अस्वीकार गरेपछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।
उनको योजनाअनुसार, प्यालेस्टिनीहरूलाई अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरी गाजामा अमेरिकी नियन्त्रणमा पुनर्निर्माणको प्रक्रिया अघि बढाइनेछ।
जोर्डनका राजा अब्दुल्लाहसँग वार्ता
यसैबीच, जोर्डनका राजा अब्दुल्लाह द्वितीय वाशिङ्टन डीसी पुगेका छन्। उनले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
बीबीसीका अनुसार, ट्रम्पले राजा अब्दुल्लाहलाई प्यालेस्टिनीहरूको स्थायी बसोवासका लागि जोर्डनले पहल गर्नुपर्ने विषयमा सहमत गराउने प्रयास गर्नेछन्। उनले अन्य देशहरू पनि आफ्नो प्रस्तावमा सहमत हुने विश्वास व्यक्त गरेको बीबीसीले जनाएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com