तेलअभिव, इजरायल – इजरायलमा रहेका मगर समुदायले माघ्या सकराटी सांस्कृतिक साँझ तथा मिनाम ल्हेस ५०१८ शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। “भेषभूषा, भाषा, धर्म र संस्कृतिको संरक्षण एवं विश्वभरिका मगरहरूको एकता अहिलेको आवश्यकता” भन्ने नाराका साथ शुक्रबार साँझ तेलअभिवको मातालोन–७३ मा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाल मगर संघ, शाखा इजरायलका अध्यक्ष चित्र जुग्जाली मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा इजरायलस्थित नेपाली राजदूतावासका महामहिम राजदूत प्राध्यापक धनप्रसाद पण्डित प्रमुख अतिथि हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा नेफिन इजरायलकी अध्यक्ष मनु श्रेष्ठ लगायत इजरायलमा स्थापित विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका प्रमुख र प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।
यस अवसरमा मगर समुदायका सदस्यहरूले विभिन्न मौलिक तथा सांस्कृतिक प्रस्तुति राखेका थिए। मगर समुदायको ऐतिहासिक पर्व मानिने माघ्या सकराटी, जसलाई मगरहरूको नयाँ वर्ष अर्थात् मिनाम ल्हेस पनि भनिन्छ, आफ्नै पहिचान र महत्व बोकेको पर्व हो। कार्यक्रममा सहभागीहरूले मगर समुदायका परम्परागत परिकारहरू, जस्तै तरुल, खिचडी, र अन्य स्थानीय परिकारहरूको स्वाद चाखे।
माघ्या सकराटी मगर समुदायको सांस्कृतिक र ऐतिहासिक पर्व हो। यस पर्वमा मगरहरूले आफ्ना चेलीबेटी र पितृहरूको पूजा गर्छन्, आफन्त तथा साथीहरूसँग भेटघाट गरी शुभकामना साटासाट गर्छन्। साथै, खेलकुद, नाचगान र परम्परागत भोजको आयोजना गरी उल्लासमय रूपमा पर्व मनाउने गरिन्छ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत प्राध्यापक धनप्रसाद पण्डितले शुभकामना मन्तव्य राख्दै नेपालका मगर समुदायले मुलुकको इतिहासमा पुर्याएको योगदानको चर्चा गर्नुभयो। उहाँले मगर समुदायलाई दृढता, इमान्दारिता र बहादुरिताको प्रतीकका रूपमा व्याख्या गर्दै प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउने कार्य अत्यन्त प्रेरणादायक रहेको बताउनुभयो।
बैदेशिक रोजगारीका लागि इजरायलमा रहेका मगरहरूले आफ्नो भाषा, कला, र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २०१३ जुलाई १३ मा नेपाल मगर संघ, शाखा इजरायलको स्थापना गरेका हुन्। यस संघले हरेक वर्ष माघ्या सकराटी पर्व भव्य रूपमा मनाउँदै आएको छ। यसले मगर समुदायलाई संगठित गर्दै एकताको भावना प्रवर्द्धन गरिरहेको छ।
कार्यक्रमले इजरायलमा रहेका मगरहरूको पहिचानलाई अझ सुदृढ बनाउँदै प्रवासी भूमिमा पनि आफ्नो सांस्कृतिक विरासतको संरक्षणमा योगदान दिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com