काठमाडौं – व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।
सोमबार प्रसाईंले एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम क्षेत्रमा ३२ अर्बभन्दा बढी लगानी गरेको दाबी गरेका थिए। यसपछि नेकपा एमालेका नेताहरूले प्रसाईंको दाबीलाई भ्रामक र आधारहीन भन्दै कडा आलोचना गरेका थिए। उनीहरूले ओलीले कुनै पनि प्रकारको विदेशी लगानी नगरेको स्पष्ट पारेका थिए।
प्रसाईंले एनसेलका लगानीकर्ता सतिशलाल आचार्यसँग मिलेर प्रधानमन्त्री ओलीले कम्बोडियामा लगानी गरेको दाबी गरे पनि उनले त्यसलाई प्रमाणित गर्ने कुनै आधार प्रस्तुत गरेका छैनन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अनुसन्धानका लागि प्रसाईंलाई नियन्त्रणमा लिएको हो। यो पहिलो पटक होइन, यसअघि पनि विवादास्पद अभिव्यक्तिका कारण प्रसाईं प्रहरीको निगरानीमा परेका थिए।
प्रसाईंले पछिल्लो समय ठूला दल र नेताहरूको आलोचना गर्दै अभियान सञ्चालन गरेका थिए, जसले राजनीतिक वृत्तमा चर्चाका साथै विवादसमेत उत्पन्न गराएको छ।
दुर्गा प्रसाईंले समय-समयमा राजनीतिज्ञहरू र उच्चस्तरीय व्यक्तिहरूविरुद्ध विवादास्पद टिप्पणी गर्दै आएका छन्। उनको पछिल्लो बयानले थप विवाद उत्पन्न गरेको छ, जसले कानुनी कारबाहीको अवस्था निम्त्याएको हो।
प्रहरीले उनलाई बयानका लागि थुनामा राखेर थप अनुसन्धान गर्ने बताएको छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।
के हो वास्तविकता ?
हिजो अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फेसबुकमा एक भिडियो राखी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियामा ठूलो मात्रामा लगानी गरेको गम्भीर आरोप लगाएका थिए ।
प्रसाईंले विभिन्न प्रमाणहरू आफूसँग सुरक्षित रहेको दाबी गर्दै प्रधानमन्त्री ओलीलाई “तस्कर” भनी आलोचना गरेका थिए । उनका अनुसार कम्बोडियामा रहेको टेलिकम एग्जियाटा कम्पनीमा ओलीको २३ करोड अमेरिकी डलर (नेपाली मूल्यमा झण्डै ३१ अर्ब रुपैयाँ) लगानी रहेको कागजात प्रसाईंको सचिवालयले सार्वजनिक गरेको थियो ।
प्रसाईंले यस्तो ठूलो रकम कहाँबाट आयो भन्ने प्रश्न उठाए । यो आरोपले प्रधानमन्त्रीको पदको गरिमा र विश्वासमाथि प्रश्न खडा गरेको छ।
प्रधानमन्त्री ओलीले भने यस्ता सबै आरोपहरू अस्वीकार गर्दै आफूले कुनै पनि प्रकारको भ्रष्टाचार नगरेको स्पष्ट पारेका छन्। उनले बारम्बार आफ्नो “भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने” नीति दोहोर्याउँदै आएका छन्।
यस विषयमा गम्भीरता देखाउँदै सरकारले गरिमामय पदको प्रतिष्ठामाथि आँच आउने, व्यक्तिको चरित्र हत्या गर्ने गतिविधि रोक्न कडा कदम चाल्नुपर्ने आवाज उठेको छ। प्रसाईंले लगाएका यी आरोपहरूको सत्यता पत्ता लगाउन छानबिन अपरिहार्य रहेको छ।
यो विषयले राजनीतिक वृत्तमा चर्चा मात्र होइन, आम जनमानसमा पनि चासो बढाएको छ। अब सरकारले यसप्रति कस्तो कदम चाल्छ भन्ने हेर्न बाँकी छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com