नेपाल इजरायल.कम, जेरुसेलम | वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत हुनु भएका एक नेपाली कामदारको इजरायलमै असामयिक निधन भएको खबर प्राप्त भएको छ ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद इजरायलका युवा संयोजक रमेश जोशीबाट प्राप्त विवरण अनुसार नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका वार्ड न १३ घर भएका कुल बहादुर कार्की विगत केही समयदेखि इजरायलमा केयरगिभरको रूपमा काम गर्दै आएका थिए ।
आफ्नो नियमित काम सकेर रिलिभर (नियमित केयरगिभरको सट्टामा केही समयका लागि बसिदिने) काम गर्दै आएका कार्की इजरायलको तेल अभिभस्थित हा आग्रा स्ट्रिट ३४ मा हिजो १५ तारिख मङ्गलवार मृत भेटिएका थिए । तेल अभिभमै कार्यरत रिता क्षेत्रीले सो घटनाको बारेमा प्रहरीलाई खबर गर्नु भएको थियो ।
प्रहरीको समन्वयमा नेपाली दूतावासलाई जानकारी गराई आवश्यक कागजपत्र तयार गरी मृतकको शव नेपाल पठाउने तयारी भइरहेको ब्यहोरा नेपाली राजदूतावास इजरायलका कार्यवाहक राजदूत श्री कुमार बहादुर श्रेष्ठले दूतावासद्वारा सञ्चालित इजरायलमा रहेका नेपालीहरूको एक समूहमार्फत जानकारी दिनुभयो ।
यसै क्रममा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ससानो बिमारी या असहजताको स्थितिमा आफ्ना रोग तथा समस्याहरू नजिकका साथीभाइ सँग साझा गर्न, समयमै उपचार गर्न र एक अर्कामा सहयोग गर्न एन आर एन ए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले अनुरोध गर्नु भयो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com