तेल अभिभ । गत डिसेम्बरमा गाजामा मृत फेला परेका तीन इजरायली बन्धक इजरायली सेनाकै हवाई आक्रमणमा मारिएको हुनसक्ने सेनाले जानकारी दिएको छ । मारिनेमा दुई सैनिक कर्पोरल निक बेइसर र सार्जेन्ट रोन शर्मेन तथा एक सर्वसाधारण एलिया टोलेडानो रहेका थिए ।
गाजामा सञ्चालन भइरहेको इजरायली सैन्य कारबाहीको प्रमुख उद्देश्य अक्टोबर ७ मा हमास लडाकुले बन्धक बनाएकाहरूको सुरक्षित उद्धार रहेको छ । उनीहरूको रिहाइका लागि सरकारमाथि आन्तरिक दबाब बढिरहेको छ ।
इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले तीनै जनाको परिवारलाई आइतबार नै अनुसन्धानको निष्कर्ष सुनाएको बताएको छ । हमासको उत्तरी डिभिजनका कमान्डर अहमद अन्डोरलाई मार्न सन् २०२३, नोभेम्बर १० मा गरिएको आईडीएफको हमलामा उनीहरूको मारिएको अनुसन्धानको निष्कर्ष छ ।
अन्डोर बस्ने भूमिगत सुरुङबाट तीन जनाको शव डिसेम्बर १४ मा बरामद गरिएको थियो । इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार गाजामा अझै १ सय १ जना बन्धक रहेका छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com