कृष्णपक्ष थापा, जेरुसलेम इजरायल
इरानले चौतर्फी रकेट आक्रमण गरिरहेको थियो, घरी घरी बजिरहेको साइरन र बङ्कर मा जानुपर्ने बाध्यताले हामीलाई रातभर निदाउन दिएन । इजरायलमा इरानले प्रहार गरेको क्षेप्यास्त्रले भवनहरू ध्वस्त हुँदा केही घाइते भएका छन् भने मानवीय क्षतिका विवरणहरू पनि आइरहेका छन् ।
इरानका सर्वोच्च नेता खामेनी मारिएपछि इरानको आक्रमण अझ घातक र हिंस्रक भएको अनुमान गर्न सकिन्थ्यो । हुन त खामेनी मारिएको खबर इजरायली मिडियाहरूमा सुरु देखि प्रकाशित भइरहेका थिए, तर त्यसको स्वतन्त्र पुष्टि हुन भने सकेको थिएन ।
गत महिना इरानमा पनि नेपालमा जेन्जी विद्रोह भएजस्तै व्यापक आन्दोलन चर्किएको थियो, त्यो आन्दोलन तिनै कट्टर धार्मिक नेता आयातोल्लाह अलि खमेनीको निरंकुशताको विरुद्ध थियो, रिपोर्ट अनुसार तिसौँ हजार मानिस मारिए तर खामेनी टसका मस भएनन् ।
पश्चिमा सञ्चार भनिरहेका छन् – अहिले इरानी जनताका लागि धार्मिक निरङ्कुशता र अति वादको पन्जाबाट आफ्नो देश फिर्ता लिन सबैभन्दा ठुलो अवसर हो ।
तर प्रश्न के उठ्छ भने इरानमा अस्ति आन्दोलन भएको स्थितिभन्दा हालको परिदृश्य विलकुल भिन्न छ । बाह्य हस्तक्षेपको बलमा भएको परिवर्तन इरानी जनतालाई अस्वीकार्य हुने स्थिति छ । के इरानी जनताले आजभन्दा ५० वर्ष अगाडी नै इरानले भोगेको स्वतन्त्रता र समृद्धि फिर्ता पाउलान् ? या इरानमा विगतको समृद्धिको पुनरावृत्ति हुनेछ या अझ कठोर र अकल्पनीय राजनीतिक दुष्चक्रमा फस्नेछ .. ?
हामी भने यही कामना गरिरहेका छौँ – कि मध्यपूर्वको यो भयावह युद्ध चाडै सकियोस् र शान्तिको सास फेर्न पाइयोस् ।
अलि खमेनीको उदय, अधिनायकत्व र अवसान
२७ जुन १९८१ को एक रापिलो दिउँसो। तेहरानको अबुजर मस्जिदमा एक जना ४२ वर्षीय धर्मगुरु उभिएर जनताका प्रश्नहरूको जवाफ दिइरहेका थिए । पत्रकारको भेषमा आएको एक आततायीले उनको अगाडि एउटा टेप रेकर्डर राख्यो। कसैले सोचेको थिएन कि त्यो यन्त्र रेकर्डका लागि होइन, हत्या गर्ने उद्देश्यले ल्याइएको थियो । एक मिनेटमै भयानक विस्फोट भयो । उनको दाहिने हातको नसा सधैँका लागि काटियो, स्वर यन्त्र क्षतविक्षत भयो । त्यो मृत्युको मुखबाट बाँचेर फर्किएका मानिस अलि खमेनी थिए, जसले पछि साढे तीन दशकसम्म इरानको भाग्य र भविष्य आफ्नो मुठ्ठीमा राखे ।
तर २८ फेब्रुअरी २०२६ को बिहानले इरानको इतिहासमा अर्कै रक्तपातपूर्ण कथा लेखियो । ३६ वर्षको निरङ्कुश शासनपछि खमेनीको अध्याय एउटा मिसाइल आक्रमणसँगै समाप्त भयो । आज हामी उनै खमेनीको जीवन, उनको शक्ति मोह र हालै इरानको सडकमा बगेको रगतको अध्याय खोतल्दै छौँ ।
अलि खमेनीको जन्म १७ जुलाई १९३९ मा इरानको उत्तर-पूर्वी सहर मशहदमा भएको थियो (यद्यपि आधिकारिक कागजातमा १९ अप्रिल पनि उल्लेख छ) । उनका पिता जवाद खमेनी एक साधारण शिया धर्मगुरु थिए, जो अजरबैजानी मूलका थिए। खमेनीको बाल्यकाल कुनै राजा-महाराजाको जस्तो थिएन। उनले पछि संस्मरणहरूमा भनेका छन् कि उनीहरूको परिवार एउटै कोठामा खुम्चिएर बस्थ्यो र धेरैजसो समय रोटी, खजुर र किसमिस खाएर गुजारा गर्थ्यो ।
उनको शिक्षाको जग उनकै पिताले बसालेका थिए । तर, उनको चेतनालाई आकार दिने काम उनकी आमाले गरिन्, उनी शिक्षित थिइन, जसले उनलाई फारसी इतिहास, कला र साहित्यको गहिरो ज्ञान दिइन् । यही कारण हो कि खमेनी एक कठोर नेता मात्र थिएनन् । उनी भिक्टर ह्युगोको ‘लेस मिजरेबल्स’ लाई विश्वको उत्कृष्ट उपन्यास मान्थे । खामेनी आफैँ कविता लेख्ने साहित्य सिर्जना गर्ने एक साहित्यकार पनि थिए । उनी ‘अमिन’ उपनाममा कविताहरू लेख्थे ।
क्रान्तिको ज्वाला र खोमेनीको साया
सन् १९५८ मा अलि खमेनीको भेट आयतोल्लाह खोमेनीसँग भयो । यो भेट उनको जीवनको दिशा बदल्ने मोड थियो। त्यस बेला इरानमा शाह वंशको शासन थियो, जो इरानलाई आधुनिक र पश्चिमाकरण गर्न चाहन्थे । तर खोमेनी शाहका कट्टर विरोधी थिए। सन् १९६३ मा जब शाहले ‘श्वेत क्रान्ति’ सुरु गरे, खोमेनीलाई पक्राउ गरियो र पछि देश निकाला गरियो ।
धेरै अनुयायीहरू आयतोल्लाह खोमेनीसँगै निर्वासनमा गए, तर अलि खमेनी इरानमै बसे । यसको कारण राजनीतिक मात्र थिएन, पारिवारिक पनि थियो—उनका वृद्ध पिताको एउटा आँखाको ज्योति गुमेको थियो र उनलाई हेरचाह गर्ने कोही थिएन । यही समयमा उनले ‘सावार्क’ (शाहको गुप्तचर प्रहरी) को कठोर यातना र ६ पटक सम्मको जेल जीवन भोगे । सन् १९७५ मा उनलाई महिनौँसम्म अज्ञात कारावासमा राखियो, जहाँ उनको परिवारलाई उनी कहाँ छन् भन्ने समेत थाहा थिएन ।
यही सङ्घर्षका बिच उनले सन् १९६४ मा मन्सुरेह खोजस्तेहसँग विवाह गरे । मन्सुरेह एक यस्ती पात्र हुन्, जसको आजसम्म कुनै सार्वजनिक तस्बिर बाहिर आएको छैन, तर उनले खमेनीको जेल जीवन र क्रान्तिको कठिन यात्रामा एउटा बलियो खम्बा भएर साथ दिइन् । उनीहरूका ६ सन्तान भए, जसमध्ये मोजताबा खमेनी अहिले शक्तिको पर्दापछाडि सबैभन्दा प्रभावशाली मानिन्छन् ।
सत्ताको आरोहण—संयोग र रणनीति
इरानमा शाह राजतन्त्रका विरुद्ध १९७९ मा ठुलो जनविद्रोह भयो , त्यो क्रान्ति सफल भयो र शाहले देश छोडे । खमेनी सुरुमा क्रान्तिकारी परिषद्का सदस्य थिए । सन् १९८१ को त्यो बम विस्फोटमा घाइते भएको केही समयमै उनले आफूलाई राष्ट्रपतिको रूपमा पाए । इरानका पहिलो राष्ट्रपतिलाई पदच्युत गरियो र दोस्रो राष्ट्रपतिको हत्या भयो, जसले खमेनीका लागि सत्ताको बाटो प्रशस्त गरिदियो । उनी इरानको पहिलो धर्मगुरु राष्ट्रपति बने ।
१९८९ मा इरानका संस्थापक सर्वोच्च नेता आयतोल्लाह खोमेनीको मृत्यु भयो । त्यस बेला खमेनीलाई ‘सुप्रिम लिडर’का लागि सबैभन्दा योग्य मानिएको थिएन, किनकि उनी ‘मारजा’ (उच्चतम धार्मिक पद) पुगिसकेका थिएनन् । तर, राजनीतिक सन्तुलन मिलाउन संविधान नै संशोधन गरेर उनले ५० वर्षको उमेरमा आफूलाई इरानको सर्वोच्च पदमा आसिन गराए । उनले आफूलाई ‘अयोग्य’ भन्दै सुरुमा नाटक गरे पनि पछि सत्तामा यस्तो पकड जमाए कि उनी मध्यपूर्वका सबैभन्दा लामो समय शासन गर्ने नेता बने ।
प्रोक्सी युद्ध र ‘प्रतिरोधको अक्ष
खमेनीले सत्ता सम्हालेपछि इरानको स्वरूप पूर्णतः बदलियो। उनले ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (IRGC) लाई आफ्नो व्यक्तिगत सैन्य शक्तिको रूपमा विस्तार गरे । आज इरानमा IRGC अत्यन्त सक्रिय सैन्य संरचना बनेको छ । इजरायल तथा अमेरिकाप्रति अत्यन्त पूर्वाग्रह राख्ने र घातक आक्रमण गर्ने गरेका कारण हालसालै यो कट्टर सैन्य संरचनालाई संयुक्त राष्ट्रसङ्घ र युरोपियन युनियन लगायतका संस्थाहरूले आतङ्कवादी शक्तिको रूपमा ठहर्याएका छन् ।
उनको विदेश नीतिको मुख्य आधार ‘प्रोक्सी’ (परोक्ष) शक्तिहरू बने । लेबनानको हिजबुल्लाह, गाजाको हमास र येमेनका हुथी विद्रोहीहरूलाई इरानले हतियार र पैसाको खोलो बगायो । यो सबैको एउटै उद्देश्य थियो—इजरायलको विरोध र मध्यपूर्वमा इरानको प्रभाव विस्तार । पश्चिमा मुलुकले मध्यपूर्वमा अस्थिरताको मुख्य जरा इरानी प्रोक्सीहरु भएको आरोप लगाउँदै आएका छन् । इरानको इजरायल प्रतिको शत्रुता यति धेरै बढ्यो कि इरानले त्यसपछि इजरायलको अस्तित्व नै स्वीकार गरेन । भौगोलिक रूपमा टाढा भए पनि हमास, हुथि र हिज्बोल्लाह जस्ता प्रोक्सी सैन्य बलका माध्यमबाट इजरायल र अमेरिकी आधारहरूमा आतङ्कवादी हमलामा सक्रिय रह्यो ।
इरान – इजरायल कुनै समयको घनिष्ठ मित्र
शाह वंशीय राजतन्त्र होउन्जेल इरान र इजरायल घनिष्ठ मित्रराष्ट्रहरू थिए । शाह मोहम्मद रेजा पहलवीको शासनकालमा दुवै देशले सुरक्षा, व्यापार र क्षेत्रीय स्थिरतामा सहकार्य गरे । यति मात्र होइन, मध्यपूर्वमा टर्की पछि इजरायललाई मान्यता दिने दोस्रो इस्लामिक देश थियो इरान । उसले सन् १९५० मा इजरायललाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएको थियो ।
इजरायलले “परिधि सिद्धान्त” अन्तर्गत गैर–अरब शक्तिहरूसँग सम्बन्ध बलियो बनाउने क्रममा इरानलाई प्रमुख साझेदार मानेको थियो।
यस अवधिमा सुरक्षा र गुप्तचर क्षेत्रमा उल्लेखनीय सहकार्य भयो । इजरायलले इरानी सुरक्षा संयन्त्रलाई तालिम र प्राविधिक सहयोग प्रदान गर्यो। साथै, सन् १९६७ को युद्धपछि अरब देशहरूले इजरायलमा तेल प्रतिबन्ध लगाएपछि इरान इजरायलका लागि महत्त्वपूर्ण तेल आपूर्तिकर्ता बन्यो। दुवै देशले संयुक्त रूपमा “इलात -आश्कोलन” तेल पाइपलाइन निर्माण गरे, प्रत्यक्ष हवाई सेवा सञ्चालन भए, र आर्थिक तथा प्राविधिक क्षेत्रमा सक्रिय आदानप्रदान चल्यो।
तर इस्लामिक क्रान्ति भएर राजतन्त्रको अन्त्यपछि इजरायललाई हेर्ने दृष्टिकोणमा नाटकीय परिवर्तन आयो। इजरायललाई “इस्लामको शत्रु” घोषणा गरियो । त्यसपछि सबै कूटनीतिक सम्बन्ध पूर्ण रूपमा तोडिए, तेहरानस्थित इजरायली दूतावास बन्द गरियो र सबै सहकार्यहरू पूर्णतः अन्त्य गरियो ।
अमेरिका र इजरायललाई साम्राज्यवादी शक्तिका रूपमा हेर्ने इरानले आफ्नो आणविक कार्यक्रमलाई आक्रामक रूपमा अगाडि बढायो, जसले गर्दा विश्वले इरानमाथि कठोर आर्थिक नाकाबन्दी लगायो । पचास वर्ष अगाडी इरान जुन समृद्धिको उचाइमा थियो त्यो क्रमशः खस्कँदै गयो । नियमहरू बदलिए, महिलाहरूलाई बुर्कामा राख्न थालियो र कट्टर धार्मिकता लादियो ।
२०२६ को जन विद्रोह—रगतले लेखिएको क्रान्ति
खमेनीको शासनविरुद्ध समय-समयमा आवाजहरू नउठेका होइनन्। २००९ को ‘ग्रिन मुभमेन्ट’ र २०२२ को ‘महसा अमिनी’ आन्दोलनले सत्ताको जग नै हल्लाएका थिए । बुर्का नलगाएको निहुँमा एक युवतीलाई प्रहरीले यातना दिएर हत्या गरेपछि ‘महासा अमिनी’ आन्दोलन छेडिएको थियो, तर सन् २०२५ को अन्त्य र २०२६ को सुरुवाती महिनामा भएको विद्रोह सबैभन्दा भयानक थियो ।
गत महिना (जनवरी-फेब्रुअरी २०२६) इरानका सडकहरू युद्ध मैदानमा परिणत भए। महँगी, बेरोजगारी र व्यक्तिगत स्वतन्त्रताको हननबाट आजित भएका जनताले “तानाशाहको मृत्यु होस्” (Death to the Dictator) भन्दै नारा लगाए । तर खमेनीले यसलाई “अमेरिकी षड्यन्त्र” को संज्ञा दिए र सुरक्षाकर्मीलाई “दङ्गाकारीहरूलाई ठेगान लगाउन” आदेश दिए ।
नतिजा निकै मर्मस्पर्शी रह्यो। देशभर इन्टरनेट काटियो र अन्धाधुन्ध गोली प्रहार गरियो । आधिकारिक रूपमा केही हजारको मृत्यु भएको स्वीकार गरिए पनि वास्तविकतामा त्यसभन्दा धेरै हजारौँको सङ्ख्यामा प्रदर्शनकारीहरू मारिएको अनुमान छ । जेलहरू प्रदर्शनकारीले भरिए र यातनाका कथाहरूले विश्वलाई स्तब्ध बनायो । खमेनी यतिसम्म डराएका थिए कि उनले जन विद्रोह बढ्दै गएमा मस्को (रुस) भाग्ने ‘प्लान बी’ समेत तयार गरेका थिए।
अपरेसन एपिक फ्युरी
२०२५ जुन महिनाको दोस्रो हप्ता इरानले इजरायलमाथि निकै शक्तिशाली र घातक हमला गर्यो । यो इजरायलले गाजामा हमास विरुद्ध गरिरहेको कारवाहीको विरोधमा भएको थियो । वास्तवमा हमासलाई सघाउन लेबनानबाट हिजबोल्लाह तथा यमन र साउदी अरबमा हुथिजस्ता कट्टर इस्लामिक सङ्गठनहरूले इजरायलमा प्रहार गरिरहेका थिए । यी सबै शक्तिहरू विरुद्ध इजरायलले गरेको कारवाहीको जवाफ स्वरूप इरानले इजरायलमा आक्रमण गरेको थियो । त्यो यति भयानक थियो कि उसले एकै रात एकै पटक सैयौंको सङ्ख्यामा मानवरहित विमान, क्रुज तथा ब्यालेस्टिक क्षेप्यास्त्रहरू (३०० भन्दा धेरै) प्रहार गरेको थियो ।
यसरी सुरु भएको इरान-इजरायल युद्धले चरम रूप लियो । इजरायलले जवाफी कारबाही स्वरूप इरानका आणविक अखडा र सैन्य कमान्डरहरूलाई निशाना बनायो । खमेनी ज्यान जोगाउन तेहरानको जमिनमुनि बनाइएको एउटा सुरक्षित बङ्करमा लुक्नुपर्यो । त्यस बेला सम्म इजरायलले इरानद्वारा सञ्चालित हुथि र हिजबोल्लाहजस्ता छद्म सैन्य सङ्गठनहरूमा निकै ठुलो क्षति गरिसकेको थियो ।
हिजबोल्लाहका नेता हसन नसरल्लाह , आइ आर जिसीका कमान्डर, हुथिका नेतृत्वको सरकारका प्रधानमन्त्री जस्ता प्रमुख नेताहरू युद्धमा मारिई सकेका थिए । यतिसम्म कि हमासका एक वरिष्ठ नेता इस्माइल हानिया इरानी राष्ट्रपतिको शपथ ग्रहणका लागि इरानमा पाहुना गएका बेलामै हत्या गरिएको थियो, यसले इजरायल र इरानको दुस्मनी अझ चरम रूपमा बढ्यो ।
अन्ततः, २८ फेब्रुअरी २०२६ मा अमेरिका र इजरायलले संयुक्त रूपमा ‘अपरेसन एपिक फ्युरी’ (Operation Epic Fury) सञ्चालन गरे । तेहरानस्थित खमेनीको कार्यालयमा भएको शक्तिशाली हवाई आक्रमणमा ८६ वर्षीय अलि खमेनीको मृत्यु भयो । उनीसँगै उनको परिवारका केही सदस्यहरू पनि मारिएको पुष्टि इरानी सञ्चारमाध्यमले गरे । जुन मानिसले साढे तीन दशकसम्म इरानलाई आफ्नो इसारामा नचाए, उनको अन्त्य एउटा बङ्कर भित्र भयो ।
अलि खमेनीको मृत्युपछि इरान अहिले इतिहासकै सबैभन्दा कठिन मोडमा छ । एकातिर उनका छोरा मोजताबा खमेनी र IRGC को सैन्य शक्ति छ भने अर्कोतिर सडकमा रगत बगाएर परिवर्तन खोजिरहेका जनताहरू। खमेनीले इरानलाई एउटा धार्मिक साम्राज्य त बनाए, तर यसको मूल्य जनताले गरिबी र दमनमार्फत चुकाउनुपर्यो ।
के खमेनीको अन्त्यसँगै इरानमा लोकतन्त्रको नयाँ सूर्य उदाउला? वा यो रिक्तताले इरानलाई अझ ठुलो गृहयुद्ध र सैन्य शासनतर्फ धकेल्ला? यो प्रश्नको उत्तर भविष्यकै गर्भमा छ। तपाईँलाई के लाग्छ? आयतोल्लाह अलि खमेनीको शासन इरानका लागि एउटा ऐतिहासिक गौरव थियो कि एउटा भयानक अभिशाप?
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन । उनको ब्लग krishnathapa.comउनका अरु लेखहरु पढ्न सकिन्छ ।
- कृष्णपक्ष थापा
- कृष्णपक्ष थापा
- कृष्णपक्ष थापा
- कृष्णपक्ष थापा
- कृष्णपक्ष थापा
- कृष्णपक्ष थापा
- कृष्णपक्ष थापा
- कृष्णपक्ष थापा
- कृष्णपक्ष थापा
- कृष्णपक्ष थापा
- कृष्णपक्ष थापा
- कृष्णपक्ष थापा
- कृष्णपक्ष थापा
- कृष्णपक्ष थापा








































