कृष्णपक्ष थापा
जेरुसलेम, इजरायल
मध्यपूर्वको आकाशमा मिसाइलको गर्जन थामिएको छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम घोषणाले तात्कालिक युद्धको ज्वारभाटालाई त पक्कै पनि मत्थर पारेको छ। तर के यो युद्धले दीर्घकालिन शान्तिको प्रत्याभुति दिन सकेको छ त ?
मलाई लाग्छ – इजरायल र इरानको यो कारवाही पश्चात इरानी जनतामा परमाणु बमको झन ठूलो भोक जगाएको छ, पहिलेभन्दा धेरै । जसरी इरानका तीन परमाणु केन्द्रहरुबाट रातारात ४०० केजी भन्दा धेरै प्रशोधित युरेनियम गायब भए यसले इरान परमाणु शक्ति प्राप्तिका खातिर कति व्यग्रताका साथ लगिपरेको छ भन्ने पनि दर्शाएको छ ।
आउनुस्, एकछिन चर्चा गरौँ — युरेनियमको
केही समय अघि काठमान्डौको बौद्धमा युरेनियमको अवैध कारोबार गरिएको आशंकामा चार नेपाली नारायण सिंह तामाङ, जानुका तामाङ, प्रकाश चौहान र मनोज न्यौपाने पक्राउ परे । उनीहरुको साथबाट युरेनियम २३८ पनि फेला पर्यो , अनुसन्धान गर्दै जाँदा धेरै बर्ष पहिले जानुकाको ससुराले भारतको खानीबाट अप्रशोधित युरेनियम ल्याएका रहेछन र त्यसलाई उनीहरुले १.५ अर्ब रुपैंयामा बेच्ने योजनासहित ग्राहक खोज्दै गर्दा पक्राउ परेका थिए, तर युरेनियमलाई प्रशोधन र समृद्ध (Enrich) गरेपछि मात्र अरबौंमा पुग्ने हो । उनीहरुको साथमा भेटिएको अप्रशोधित युरेनियमको मुल्य रु. ४ लाख पनि नपर्ने पत्ता लाग्यो ।
नेपालमा “रेडियोधर्मी पदार्थ प्रयोग तथा नियमन ऐन ” अनुसार नेपालभित्रका सबै युरेनियम नेपाल सरकारको सम्पत्ति हो ।
यतिबेला दैलेखमा प्राकृतिक रुपमा भेटिएको मिथेन ग्यासलाई व्यवसायिक रुपमा उत्पादन गर्नेबारेमा नेपालमा छलफल चलिरहेको छ । यसैगरी बेला बेला नेपालको हिमाली भेगमा भएको यरेनियमको पनि चर्चा हुने गर्छ ।
नेपालको मुस्ताङमा युरेनियमको खानी रहेको विश्वास गरिन्छ । उपल्लो मुस्ताङको लोमानथाङको नजिकै युरेनियमको प्राकृतिक भन्डार (१० किमी लम्बाई र ३ किमि चौडाईको ‘मध्यम स्तरको’ ) रहेको पुष्टि अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (IAEA) ले पनि गरेको छ ।
यो पनि पढनुहोस – स्टक्सनेट – इरानको आणविक केन्द्रमा घुसेको एक रहस्यमय भाइरस
यो क्षेत्र भू-राजनीतिक रूपमा पनि अत्यन्त संवेदनशील छ, चीनको सिमाना नजिकै अवस्थित भएकाले विश्वका शक्ति राष्ट्रहरूको ध्यान तानिरहेको छ । नेपाल आर्मीले सन् २०१६ देखि नै यस क्षेत्रका भण्डारहरूको सुरक्षाका लागि आधार शिविर स्थापना नै गरेर संरक्षण गर्दै आएको छ ।
युरेनियमजस्तो बहुमूल्य र रणनीतिक महत्वको खनिजको भन्डार भएपनि यसको उत्खनन, प्रयोग र विक्रिसम्बन्धी नेपालको स्पष्ट नीति र कानून भने बनिसकेको छैन ।
जब आइन्स्टाइनले द्रव्यमान र ऊर्जा सम्बन्धी सिद्धान्त (E=mc²) प्रस्तुत गरे, संसारले पहिलोपटक महसुस गर्यो — द्रव्यमान स्वयं ऊर्जा हो। यदि कुनै तरिकाले पदार्थको आणविक संरचना टुक्र्याइयो भने, त्यसबाट अपार इनर्जी निस्कन सक्छ।
युरेनियम यस्तो धातु हो जसको एक प्रकार — युरेनियम-२३५ (U-235) — आफै विस्तारै टुक्रिन सक्छ। यस प्रक्रियामा ऊर्जाको उत्सर्जन हुन्छ, त्यसैले यसलाई रेडियोधर्मी तत्व भनिन्छ। तर प्रकृतिले यो प्रक्रिया अत्यन्तै ढिलो बनाइदिएको छ — U-235 को हाफ लाइफ (आयु) झन्डै ७०४ मिलियन वर्ष हुन्छ।
यही युरेनियम-२३५लाई ओपनहाइमर र उनका वैज्ञानिक टोलीले गहिराइमा अध्ययन गरे। जब U-235 मा एक न्युट्रोन ठोक्काइन्छ, यसले फिसनको प्रक्रिया सुरू गर्छ — जहाँ आणविक टुक्रा छुट्टिन्छन्, नयाँ न्युट्रोनहरू निस्कन्छन्, र ती नयाँ न्युट्रोनहरूले फेरि अन्य U-235 मा ठोक्किन्छन्। यसरी सुरु हुन्छ एक श्रृंखलाबद्ध प्रतिक्रिया — चेन रियाक्सन, जसले असीमित ऊर्जा विस्फोटमा रूपान्तरित हुन सक्छ।
यही सिद्धान्तबाट ओपनहाइमरले ‘Little Boy’ परमाणु बम बनाए— जसले जापानको हिरोसिमा सहरमा इतिहासकै पहिलो आणविक विस्फोट गरायो।
इजरायल इरानको युद्ध परमाणु बमको सम्भावित खतरा र त्रासमा आधारित युद्ध हो । हालका लागि युद्ध विराम र शान्ति त भएको देखिएको छ तर यो शान्तिको पर्दा पछाडि एउटा रहस्यको अदृश्य भूत अझै विचरण गरिरहेको छ – इरानको बेपत्ता युरेनियम। युद्धविरामले क्षेप्यास्त्रको आदानप्रदान रोक्न सके पनि, युद्धको सबैभन्दा ठूलो रहस्य भने अझै अनुत्तरित छ: तेहरानको बम-ग्रेड नजिकको युरेनियम कहाँ गयो ?
कल्पना गरौं त, ४०९ किलोग्राम (९०२ पाउन्ड) युरेनियम, जुन १० वटा परमाणु हतियार बनाउन पर्याप्त छ। यो कुनै साधारण धातु होइन, यो मध्यपूर्वको त्रास र भय हो । द्वन्द्व सुरु भएको पाँच दिनमै, अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) का निरीक्षकहरूले यसको ट्र्याक गुमाएका थिए। जुन १३ मा इजरायली हमलाहरू सुरु भएलगत्तै इरानले यो सामग्रीलाई अज्ञात, अप्रकाशित स्थानमा सार्यो। र, त्यही क्षणदेखि, यो ‘गुमनाम शक्ति’ एउटा अदृश्य रहस्य बनेको छ।
इरानले यो युरेनियम लुकाउनु कुनै ठूलो चुनौती पनि छैन। नियामकहरूका अनुसार, यो १६ वटा ३६ इन्च अग्ला सिलिन्डरहरूमा सजिलै भण्डारण गर्न सकिन्छ – जुन ठूला ‘स्कुबा डाइभिङ’ ट्याङ्कीजस्तै हुन्। प्रत्येक सिलिन्डरको तौल २५ किलो हुने अनुमान गरौं, जुन मान्छेले पैदलै बोकेर वा सानो गाडीमा राखेर पनि गोप्य स्थानमा पुर्याउन पर्याप्त छ।
यसको अर्थ इरानले गोप्य स्थानमा लुकाएको युरेनियमबाट गोप्य तवरले नै अझ द्रूत गतिमा आणविक कार्यक्रम अगाडी बढाउनेछ । यो रहस्य सुल्झिएन भने, यो युद्धविराम मात्र एउटा छोटो विश्राम साबित हुन सक्छ र अर्को आँधीको पर्खाईमा मध्यपूर्व ।
इजरायल र अमेरिकाले इरानको संवर्द्धन पूर्वाधारलाई ध्वस्त पारेको दाबी गरे पनि (यद्यपि प्रमाण अझै स्पष्ट छैन), खतरा के छ भने, यो करिब-हतियार-ग्रेड युरेनियम न त नस्ट नै भएको छ न पहिले जसरी IAEA को अनुगमनमा नै छ ।
विश्वासको डोरी र आशंका
यसअघि, IAEA का निरीक्षकहरूले इरानको घोषित युरेनियम भण्डारको विस्तृत रूपमा निगरानी गर्थे, सामग्रीको हिसाबकिताब राख्न र हतियारमा प्रयोग नहोस् भनी सुनिश्चित गर्न दिनमा एकभन्दा बढी साइटको निरीक्षण गर्थे। तर, जुन १३ को इजरायलको हमलाले सबै समीकरण बदल्यो । IAEA माथि इरानले अविश्वास मात्र गरेको छैन इजरायलको पक्षपोषण गरेको आरोप समेत लगाएको छ ।
तर युद्धविराम पछि इरानको आणविक कार्यक्रममा वार्ता पुनः सुरु गर्न र निरीक्षकहरू फर्कने बाटो खोल्ने आशा IAEA ले गरेको छ, तर इरानले IAEA टोलीलाई पूर्ववत साइटहरूमा प्रवेश गर्न र स्थितिको मूल्याङ्कन गर्न दिने बाटो अब सहज छैन । विश्वासको डोरी चुँडिएको छ।
इरानी नेताहरूले IAEA लाई परमाणु अप्रसार सन्धि (NPT) अन्तर्गतका आफ्ना अधिकारहरूको पक्षमा उभिन नसकेको भन्दै आलोचना गरेका छन्। इजरायल र अमेरिकाको इरानी आणविक साइटहरूमा बमबारी गर्ने निर्णयले सन्धिको अखण्डतामा ‘अपरणीय क्षति’ पुर्याएको उनीहरुले बताएका छन्।
इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगले एउटा विधेयकको रूपरेखा नै पारित गरेको छ जसले सरकारलाई IAEA सँगको सहयोग निलम्बन गर्नुपर्ने व्यवस्था गर्छ। यसको अर्थ हो, आणविक निगरानी निकायसँगको सबै सम्बन्धमा रोक लाग्नेछ।
युद्धविराम भए पनि, आणविक साइटहरूमा भएका आक्रमणले अनुगमनलाई झनै कठिन बनाएको छ। फोर्डो, इस्फाहान र नतान्ज साइटहरू – जुन विगत १२ दिनदेखि इजरायली र अमेरिकी बमवर्षकहरूद्वारा निरन्तर निशाना बनाइएका थिए – बाट उच्च संवर्द्धित युरेनियमको भण्डार आफैले बेपत्ता बनाइसकेको इरानले नै बताएको छ।
यसको अर्थ इरानले गोप्य स्थानमा लुकाएको युरेनियमबाट गोप्य तवरले नै अझ द्रूत गतिमा आणविक कार्यक्रम अगाडी बढाउनेछ । यो रहस्य सुल्झिएन भने, यो युद्धविराम मात्र एउटा छोटो विश्राम साबित हुन सक्छ र अर्को आँधीको पर्खाईमा मध्यपूर्व ।
युद्धविरामले मिसाइल र विस्फोटनको आवाजलाई चुप गराउन सक्छ, तर इरानको बेपत्ता युरेनियमको रहस्यले मध्यपूर्वको आकाशमा एउटा अँध्यारो त्रासको छायाँ अझै फैलाइरहेको छ। यो ‘गुमनाम शक्ति’ कहाँ छ भन्ने प्रश्नले, शान्तिको घोषणा भए पनि, भविष्यको सुरक्षा र स्थिरतामा एउटा ठूलो प्रश्नचिह्न खडा गरेको छ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन । उनको ब्लग krishnathapa.comउनका अरु लेखहरु पढ्न सकिन्छ ।
- कृष्णपक्ष थापाhttps://nepalisrael.com/nepalisrael/author/nepalisrael-com
- कृष्णपक्ष थापाhttps://nepalisrael.com/nepalisrael/author/nepalisrael-com
- कृष्णपक्ष थापाhttps://nepalisrael.com/nepalisrael/author/nepalisrael-com
- कृष्णपक्ष थापाhttps://nepalisrael.com/nepalisrael/author/nepalisrael-com