शनिबार मध्यपूर्वको आकाश अचानक मिसाइल र ड्रोनको गर्जनले थर्कियो। वर्षौंदेखि बल्झिरहेको इरान र इजरायल-अमेरिकाबीचको टकरावले एउटा यस्तो मोड लिएको छ, जसले सम्पूर्ण क्षेत्रलाई नै अकल्पनीय तनावको भुमरीमा धकेलिदिएको छ । इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै भीषण प्रतिआक्रमण सुरु गरेपछि अहिले विश्वकै ध्यान यस क्षेत्रतर्फ मोडिएको छ।
यो आक्रमण अचानक भएको होइन। इरानका अनुसार, यो अमेरिका र इजरायलले आफ्नो भूभाग र नेतृत्व संरचनामाथि गरेको हमलाको सिधा जवाफ हो । इजरायलले ‘रोइङ लायन’ नामक संयुक्त सैन्य अपरेशनमार्फत इरानको सैन्य संरचना र सर्वोच्च नेताको कार्यालय आसपासका क्षेत्रमा आक्रमण गरेपछि इरानले ‘क्रूर प्रतिक्रिया’ दिने चेतावनी दिएको थियो । त्यही चेतावनीको स्वरूप शनिबार इरानले इजरायलतर्फ बलिस्टिक मिसाइल र ड्रोनमार्फत प्रत्याक्रमण सुरु गर्यो ।
इरानले प्रत्यक्ष रुपमा इजरायल र विशेष गरी कतार, बहराइन, कुवेत र यूएईमा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई निशाना बनाएको छ। यी देशहरूमा अमेरिकी वायुसेना र नौसैनिक अड्डाहरू रहेका छन्। स्थानीय सञ्चाल माध्यमहरूका अनुसार, कतिपय ठाउँमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् भने कतै हवाई सुरक्षा प्रणाली सक्रिय पारिएको छ ।
दुर्भाग्यवश, यो सैन्य टकरावको मार सर्वसाधारणमा पनि पर्न थालेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा एक नागरिकको मृत्यु भएको पुष्टि भइसकेको छ । अहिले इजरायल, इरान र इराकले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेका छन् भने कयौँ अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् ।
जोखिममा लाखौँ नेपालीको भविष्य
यो युद्धको रापले नेपाललाई पनि नराम्ररी पोल्ने देखिएको छ। खाडी क्षेत्रका विभिन्न देशहरूमा अहिले लाखौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू कार्यरत छन्। इरानले अमेरिकी अखडाहरूलाई निशाना बनाउँदा दुबई, कतार र बहराइनमा रहेका नेपालीहरू सबैभन्दा बढी जोखिममा परेका छन्।
नेपाल सरकार र सम्बन्धित निकायहरूले आफ्ना नागरिकलाई अनावश्यक आवागमन नगर्न र सुरक्षा सतर्कता अपनाउन आग्रह गरिरहेका छन् । यस्तो संकटको समयमा घरभित्रै रहनु र स्थानीय प्रशासनको निर्देशन पालना गर्नु नै बुद्धिमानी हुने देखिन्छ।
सैन्य शक्तिका हिसाबले अमेरिका र इजरायल इरानभन्दा निकै अगाडि देखिए पनि युद्धको मैदानमा विजय प्राप्त गर्नु त्यति सजिलो भने छैन । विज्ञहरूका अनुसार इरानसँग पनि ठूलो क्षति पुर्याउन सक्ने क्षमता छ र उसले रूस तथा चीनको सहयोगमा आफ्नो हवाई प्रतिरक्षा प्रणाली मजबुत बनाएको छ ।
अमेरिकी राजनीतिमा डोनान्ड ट्रम्पको प्रशासनका लागि पनि यो द्वन्द्व एउटा ठूलो चुनौती बनेको छ। इरानमा सत्ता परिवर्तन गर्ने वा उसलाई नयाँ परमाणु सम्झौतामा ल्याउने भन्नेमा स्पष्ट रणनीतिको अभाव देखिएको विश्लेषकहरूको भनाइ छ ।
युद्धले कहिल्यै कसैको हित गर्दैन। अहिले मध्यपूर्वमा जुन प्रकारको अनिश्चितता छाएको छ, यसले केवल भौतिक विनाश मात्र होइन, मानवीय संकट पनि निम्त्याइरहेको छ। खाडीमा पसिना बगाइरहेका लाखौँ नेपालीहरूको सुरक्षा अहिले सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ। हामी सबैले यो कामना गरौँ कि चाँडै शान्तिको वातावरण बनोस् र त्यहाँ रहेका हाम्रा नेपाली दाजुभाइहरू सुरक्षित घर फर्कन सकून्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com























