
तेल अविव । नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा तामाङ समुदाय तथा बौद्ध धर्मावलम्बीहरूको महान नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार (मञ्जुश्री संवत २८६२, ता–ल्हो/घोडा वर्ग) भव्य रूपमा मनाइने भएको छ।
आगामी सन् २०२६ फेब्रुअरी १३, शुक्रबार, सोनाम ल्होछारको पावन अवसरमा विशेष सांगीतिक साँझ आयोजना गरिँदैछ। “धर्म, भाषा, भेषभूषा, लिपि, कला, साहित्य, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धन” भन्ने मूल नारासहित हुने यस कार्यक्रममा नेपाली सांगीतिक आकाशका बहुचर्चित गायक छेवाङ लामा आफ्नै ब्यान्डसहित प्रस्तुत हुँदैछन्। गायक छेवाङ लामा पहिलोपटक इजरायलमा आफ्नो सांगीतिक प्रस्तुति दिन आउन लागेका हुन्, जसले कार्यक्रमलाई झन् ऐतिहासिक र स्मरणीय बनाउने अपेक्षा गरिएको छ।
यस सांगीतिक कार्यक्रममा इजरायलमा बसोबास गर्दै आएका विभिन्न राजनीतिक, सामाजिक तथा धार्मिक संघ–संस्थाका प्रतिनिधि, साथै इजरायलमा कार्यरत तामाङ समुदायका सदस्यहरू र गैर–तामाङ नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले व्यक्त गरेको छ। सबैलाई एकै थलोमा भेला भई सोनाम ल्होछारको सांगीतिक उत्सवमा सहभागी हुन आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ।
“ताम्सालिङ घ्लेठीम बाबरि जम्बुलिङ्ला मोक्कोन तामाङ घिक ताअी” भन्ने मूल नारासहित सन् २०१० मा स्थापना भएको नेपाल तामाङ घेदुङ इजरायलले इजरायलमा तामाङ समुदायको पहिचान, एकता र संस्कृतिको दीप जलाउँदै निरन्तर सक्रिय भूमिका खेल्दै आइरहेको छ। सोनाम ल्होछार २८६२ को यो सांगीतिक साँझ पनि त्यही यात्राको अर्को उज्यालो पाटो बन्ने अपेक्षा गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























