काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले सोमबार नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बाससँग शिष्टाचार भेट गरिन्। भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको थियो।
भेटमा राजदूत बासले प्रधानमन्त्री कार्कीलाई नेपालको प्रथम महिला प्रधानमन्त्री तथा पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इतिहास रचेकोमा बधाइ दिएका थिए र आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरे।
प्रधानमन्त्री कार्कीले धन्यवाद व्यक्त गर्दै नेपाल–इजरायलबीचको ६५ वर्षे मित्रवत् सम्बन्धको उत्सव मनाएको खुशी व्यक्त गरिन्। साथै, दुई मुलुकबीचको सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्याउन दुवै पक्षबाट निरन्तर प्रयास जारी राख्नुपर्नेमा जोड दिइन्।
राजदूत बासले नेपाल र इजरायलबीचको सम्बन्ध सुमधुर रहेको बताएर यसलाई अझ प्रगाढ बनाउन आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले हालै मात्र दुई मुलुकबीच श्रम आप्रवासनसम्बन्धी सम्झौता र त्यसको कार्यान्वयनसम्बन्धी ‘प्रोटोकल’ पारित भएकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गरे। यसले नेपाली कामदारलाई इजरायलमा कानुनी रोजगारीको अवसर उपलब्ध गराउने बताए।
प्रधानमन्त्री कार्कीले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकोमा इजरायल सरकारको सराहना गर्दै वर्तमान सरकारको मुख्य प्राथमिकता प्रतिनिधिसभा निर्वाचन रहेको जानकारी गराइन्। उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरिन्।
भेटको अवसरमा दुवै पक्षले नेपाल–इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वर्षगाँठको अवसरमा थप महत्वपूर्ण पहलहरू सुरु गर्ने विषयमा छलफल गरेका थिए।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com

























