तेल अभिव, किकार खातुफिम – बेला बेला सिर्जनात्मक प्रस्तुति र कला प्रदर्शन हुने राष्ट्रिय कला संग्रहालय अगाडीको यो चोकको नाम नै किकार खातुफिम भएको छ, युद्धमा हराइरहेका र बन्दी बनाइएका निर्दोष मानिसहरुको, विक्षिप्त परिवारको पीडा पोख्ने ठाउँ । सरकारलाई घच्च्याउने, धर्ना बस्ने, रुने, विलौना गर्ने र बन्धक फिर्ताको लागि रचनात्मक दबाव दिने ठाउँ । जसको शाव्दिक अर्थ हो – बन्धक चोक वा बन्दी आँगन ।
यही आँगनमा उभिएर दुई बर्ष देखि हराइरहेका विपिन जोशीको खोजीका लागि आमाको साथमा नेपाल देखि आएकी उनकी बहिनी पुष्पा जोशीले रुदै आफ्ना भावनाहरु अभिव्यक्त गरिन । इजरायली र अन्तर्राष्ट्रिय संचार माध्यमहरुका लागि अंग्रेजीमा अभिव्यक्त तिनै शव्दहरुको नेपाली भावानुवाद हामीले यहाँ प्रस्तुत गरेका छौं ।
यसअघि युद्धरत पक्षलाई दबाब दिनका लागि किकार खतुफिममा साँझ भेला भएका हजारौँ शान्तिप्रेमी मानिसहरूका अगाडी गहभरी आँसु टिलपिलाउँदै १७ वर्षकी सानी बहिनीले आफ्ना भावनाहरू यसरी पोखेकी थिइन ।
नमस्ते शलोम
नाम पुष्पा हो । म विपिन जोशीकी बहिनी हुँ जसलाई अक्टोबर ७ तारिख किबुच अलुमिमबाट अपहरण गरिएको थियो । हमासको बन्धकमा परेका मेरा दाजु एक विद्यार्थी हुन उनी कसैको पक्षमा पनि थिएनन् ।
उनलाई खोज्दै यति परसम्म आइपुग्ने साहस र सामर्थ्य जुटाउन हामीलाई २२ महिना लाग्यो । भाषा भूगोल र सांस्कृतिक भिन्नताहरू थिए र डर त्रास बाध्यताले घेरिएका थियौँ । यी दिनहरू हामीले नेपालमै बसेर हरेक दिन प्रार्थना गर्यौ तर प्रार्थनाहरुमात्रै पर्याप्त भइदिएनन् ।
बन्दी अवस्थामै रहेका रोम र एभटारका हृदय विदारक भिडियोहरू हामीले देख्यौँ । बन्धकका ती तस्बिरहरूले बुबा र आमालाई असाध्य विक्षिप्त बनायो । उहाहरुले छोरालाई धेरै सम्झनुभयो । मैले मेरो दाजुलाई धेरै मिस गरेँ । दादा मेरो आत्मा हो, साथी हो खुसी र प्रेरणा सबै थोक हो ।
उसको सपना थियो इजरायलमा कृषि अध्ययन गरेर उ एक दिन देश फर्कनेछ , केराखेति गर्नेछ अनि फलफूल कृषिजन्य हरियालीमा रमाउनेछ । हाँस्न, खेल्न र गीत गाउन रमाउने मेरो दाजु असाध्यै रमाइलो र सबैको प्यारो थियो ।
अपहरणमा परेको आज करिब दुई बर्ष हुन लागिसकेको छ , उसको जीवनको कुनै सङ्केत भेटिएको छैन । उ भोक भोकै पो छ कि ? सुरक्षित र सकुशल अवस्थामा छ कि छैन ? यी ६८० दिनहरू उ कसरी नारकीय अन्धकार र अज्ञात सुरुङमा बाँचिरहेको होला ?
प्लिज उसलाई घर फर्काइदेऊ ।
हामी अमेरिकी सरकार र राष्ट्रपति ट्रम्प समक्ष सम्पूर्ण बन्धकहरू एकैसाथ छुटाउन पहल गरिदिन आग्रह गर्दछौँ । हामी नेपाल सरकार र इजरायली सरकारलाई यो प्रयासमा सामेल हुन आग्रह गर्छौँ । मेरो दाजु विपिन जोशीको रिहाइको लागि लडिरहनु भएका तपाईँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद ।
कृपया सबै बन्धकहरू सुरक्षित घर नफर्कुन्जेलसम्म कुनै अवरोध नपुर्याइदिनुहोला । विगत एक महिनादेखि हामीलाई इजरायलमा ल्याइपुराउन र विश्वसामु आफ्ना कुराहरू राख्न अनवरत लागिपर्नु भएका नेपाली दूतावास इजरायलप्रति हामी आभारी छौँ ।
अन्त्यमा म मेरो दादालाई दुई शब्द मेरै भाषामा ।
प्यारो दादा ! आइ मिस यु । मैले तेरो न्यानो अँगालो .., तेरो आवाज .. सबै सबैलाई धेरै मिस गरेको छु । दादा ! म तँलाई धेरै धेरै माया गर्छु । “
हमासको अपहरणमा परेका विपिन जोशीकी बहिनी पुष्पाले यति भनिरहँदा भक्कानिएर उनका गला अवरुद्ध बने र आँसु टिलपिलाएर खसे । छोरा विपिन जोशीको प्लेकार्ड लिएर छेउमै उभिएकी आमा पद्मा जोशीले छोरीको गालामा खसेका आँसु पुछिदिइन । होस्टेज स्क्वायर पुरै चित्कारमा गुन्जियो – हाम्रो विपिनलाई घर फर्काइदेऊ ।

यो असाध्य भावुक र हृदय विदारक क्षण थियो । इजरायलका लोकप्रिय कलाकार शाही हालेवी ( Tsahi Halevi ) ले पुष्पाको काँधमा हात राख्दै भने “नानी नरोउ हामी सबै तिम्रो साथमा छौँ । “
कलाकार, गायक र निर्देशक शाही हालेभीले धेरै चलचित्रहरू इजरायल–प्यालेस्टाइन द्वन्द्वलाई केन्द्रमा राखेर प्रस्तुत गरेका छन् । इजरायली सेना, गुप्तचर संस्था मोसाद तथा प्यालेस्टिनी बम विस्फोटकहरूका विषयमा अत्यन्त गम्भीर र सन्तुलित भूमिकामा प्रस्तुत हुने हालेवी पर्दाका मात्र होइनन् वास्तविक जीवनका नायक हुन ।
बेथलेहम, इन्जिनियर, टेरर जस्ता सिनेमाहरूमा आतङ्कवादकै विषय उठाइएको छ। सैनिक सेवा कालमा उनले इजरायली रक्षा बल (IDF) का सामसन र दुवदेभान नामका विशेष अन्डरकभर युनिटमा सेवा गरेका थिए। हालेवी यहुदी हुन भने उनकी पत्नी लुसी आहरिश मुस्लिम धर्मावलम्बी हुन । उनी आफैमा धर्म र राजनीतिभन्दा पर मानवताको पक्षमा वकालत गर्ने युद्ध विरोधी सामाजिक अभियन्ता हुन ।
बन्धकहरु सुरक्षित रुपमा घर फिर्ता नभएसम्म इजरायलमा ‘होस्टेज एण्ड मिसिङ फ्यामिलिज फोरम’ र ‘अक्टोबर काउन्सिल‘ तथा स्वस्फुर्त रुपमा सहभागी भएका विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा २४ तारिख फेरी अर्कोपटक देशव्यापी विशाल दवावमुलक प्रदर्शनको आयोजना गरेका छन र बन्धक घर नफर्के सम्म यो क्रम निरन्तर हुने जनाएका छन ।
उनीहरूले युद्ध रोक्न र बन्धकहरूको जीवन रक्षाका लागि इजरायली सरकार र प्यालेस्टाइनको हमास दुवैलाई आग्रह र दबाब दिँदै आएका छन् ।
(विपिन जोशीको रिहाईका लागि ‘बन्धक र हराइरहेकाहरुको परिवार’द्वारा आयोजित दवावमुलक कार्यक्रममा उनकी बहिनी पुष्पा जोशीले राख्नु भएको प्रस्तुतिको नेपाली अंश कृष्णपक्ष थापाद्वारा भावानुवाद र सम्पादन गरिएको )
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायलhttps://nepalisrael.com/nepalisrael/author/niadmin
- नेपाल इजरायलhttps://nepalisrael.com/nepalisrael/author/niadmin
- नेपाल इजरायलhttps://nepalisrael.com/nepalisrael/author/niadmin
- नेपाल इजरायलhttps://nepalisrael.com/nepalisrael/author/niadmin