तेल अभिभ, इजरायल, २८ जुन २०२६ — गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) इजरायलले गत १६ जुन २०२६ मा आयोजना गरिएको डेड सी भ्रमण (Dead Sea Visit) को आय–व्यय विवरण सार्वजनिक गरेको छ। परिषद्ले भ्रमणबाट प्राप्त आम्दानी, भएको खर्च तथा बचत रकमबारे जानकारी गराउँदै पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
सार्वजनिक गरिएको विवरणअनुसार भ्रमणमा सहभागी ११४ जनाबाट प्रतिव्यक्ति २०० सेकेलका दरले २२,८०० सेकेल संकलन गरिएको थियो । यसबाहेक विभिन्न व्यक्तिहरूबाट १,६८० सेकेल स्वेच्छिक सहयोग प्राप्त भएको थियो। यसरी कुल २४,४८० सेकेल आम्दानी भएको जनाएको छ ।
खर्चतर्फ दुईवटा बसको भाडा वापत ७,५०० सेकेल, खाद्यान्न सामग्रीमा ४,०२९ सेकेल, चिसो पेय पदार्थमा २,२१९ सेकेल, चम्चा, प्लेट तथा अन्य खुद्रा सामग्रीमा १,१५० सेकेल, तथा ग्यास र अपार्टसम्बन्धी व्यवस्थापनमा ९२० सेकेल खर्च भएको उल्लेख गरिएको छ। यसरी कुल १५,८१८ सेकेल खर्च भएको परिषद्ले जनाएको छ।
आम्दानी र खर्चको हिसाबपछि भ्रमणबाट ८,६६२ सेकेल बचत भएको विवरणमा उल्लेख छ।
परिषद्ले जारी गरेको सूचनामा NRNA NCC इजरायल नेपाली समुदायको साझा सामाजिक तथा नेतृत्वदायी संस्था भएको उल्लेख गर्दै नेपाली कामदारहरूको हकहित, समस्या समाधान, भौतिक तथा अनलाइन कार्यक्रम सञ्चालन तथा सामाजिक सेवामूलक कार्यमा विगतदेखि सक्रिय रूपमा सहयोग गर्दै आएको जनाएको छ। भविष्यमा पनि वास्तविक समस्यामा परेका नेपालीहरूको पहिचान गरी कार्यसमितिको निर्णयअनुसार सहयोग परिचालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
भ्रमण कार्यक्रममा सहभागी भई सहयोग तथा सकारात्मक भूमिका निर्वाह गर्ने सम्पूर्ण नेपाली समुदायप्रति परिषद्ले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। कार्यक्रम संयोजक निर्मला बुढाथोकी, धर्मेन्द्र पुन (कोषाध्यक्ष) तथा सबिता बास्तोला (सह–कोषाध्यक्ष) लाई उद्घृत गर्दै NRNA NCC इजरायलले यो विवरण सार्वजनिक गरेको हो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com























