नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्ध शुरू भएको १० दिन भइसक्दा पनि रोकिने कुनै संकेत देखिएको छैन। यहीबीच अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल जान लागेका छन्।
बाइडेन बुधबार इजरायल जान लागेका बीबीसीले जनाएको छ। त्यहाँ इजरायलले हमासमाथि आक्रमणका योजनाबारे उनलाई ‘बिफ्रिङ’ गरिने बताइएको छ। इजरायलले गाजाको उत्तरी क्षेत्रमा जमिनबाट आक्रमण गरिरहेका बेला मानवीय क्षति कम गर्न के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने यूएस सचिवालयले जनाएको छ। तर बाइडेनले इजरायलले गरिरहेको आक्रमणलाई जारी राख्न जोड दिने अमेरिकी विदेश सचिव ब्लिंकनले बताएका छन्। उनले भनेका छन्, “जसरी हुन्छ, हमासबाट आफ्ना नागरिकलाई बचाउनु इजरायलको अधिकार र कर्तव्य दुवै हो।”
इजरायली सेनाका अनुसार हमासले १५५ देखि १९९ को संख्यामा इजरायल लगायत विभिन्न देशका नागरिकलाई बन्धक बनाएको छ। यसरी बन्धक बनाइएकाहरूलाई गाजा क्षेत्रमा रहेका सुरुङमा राखिएको हुनसक्ने बताइएको छ। उक्त सुरुङ ५०० किलोमिटर लामो रहेको अनुमान गरिएको छ। बन्धक बनाएकाहरूलाई छुटाउनको लागि र गाजाबाट हमासलाई सखाप पार्नको लागि इजरायलले अहिले जमिनबाटै आक्रमणको तयारी गरिरहेको हो। त्यसको लागि गाजाको उत्तरी सीमानामा इजरायली सेनाका हजारौँ ट्यांकहरू तयारी अवस्थामा रहेका छन्।
हमास पनि पछि हट्ने पक्षमा छैन। उसले पनि इजरायलको तेल अविव र जेरुसेलममा रकेट आक्रमण गरेको छ। सोमबार रकेट आक्रमण हुँदा तेलअविवमा सांसदहरू ‘बम सेल्टर’मा गएका थिए।
गएको शुक्रबार इजरायली सेनाले उत्तरी गाजा क्षेत्र खाली गर्न भनेपछि अहिलेसम्म १० लाख जति प्यालेस्टिनी दक्षिणी क्षेत्रमा गइसकेका छन्। त्यहाँबाट पनि उनीहरू सुरक्षित ठाउँको खोजीमा इजिप्ट प्रवेश गर्न खोजिरहेका छन्। तर गाजा इजिप्टको सीमानामा रहेको रफा बोर्डर खुला नहुँदा हजारौँको संख्यामा त्यहाँ मानिसहरूको भिड लागिरहेको छ। साेमबार राति त्यही रफा बाेर्डरमा इजरायली सेनाको आक्रमणबाट २५ जना प्यालेस्टिनीकाे मृत्यु भएको प्यालेस्टिनी समाचार संस्था ‘वफा’ले जनाएको छ।
के हो रफा क्रसिङ
रफा क्रसिङ गाजाको दक्षिणी क्षेत्रमा अवस्थित एक बोर्डर हो। यो गाजाबाट इजिप्टको सिनाइ मरुभूमिसँग जोडिन्छ। योसँगै गाजा र इजरायलबीच दुई अन्य बोर्डर छन्, केरम सोलम र इरेज क्रसिङ। केरम सोलम दक्षिणी क्षेत्रमा छ। यहाँबाट इजरायल र गाजाबीच व्यापारिक गतिविधि हुन्छ। यस्तै इरेज क्रसिङ उत्तरी क्षेत्रमा अवस्थित छ। अक्टोबर ७ को हमलामा हमासले इरेज क्रसिङलाई ध्वस्त पारेको थियो।
त्यही क्षेत्रमा हमला गर्दा इजरायलका १३०० जनाको निधन भएको थियो। त्यसपछि इजरायलले अर्को सूचना जारी नभएसम्मको लागि यी दुवै क्रसिङ बन्द हुने घोषणा गरेको थियो। रफा क्रसिङ दोहोरो नागरिकता भएकाहरूलाई गाजाबाट बाहिर निस्किनको साथसाथै गाजामा मद्दत सामग्री पुर्याउन खोलिन्छ। यो क्रसिङलाई खोल्ने अधिकार इजिप्टसँग छ।
तर इजरायलले गत अक्टोबर ९/१० मा यस क्षेत्रमा बमबारी गरेपछि यो बोर्डर बन्द छ। त्यो बोर्डर बन्द भएसँगै इजिप्टबाट गाजाको लागि जाने खाद्यान्न पनि रोकिएको छ। इजिप्टले सुरक्षा ग्यारेन्टी नभएसम्म बोर्डर खोल्न नसक्ने बताएको छ।
इजरायल हमासकाे युद्धका कारण गाजा क्षेत्रमा अहिलेसम्म दुई हजार ८०८ प्यालेस्टिनीको मृत्यु भइसकेको छ। यस्तै ११ हजार जति घाइते भएका छन्। हमासको हमलामा परी इजरायलमा १४ सय जनाको मृत्य भएको छ। तीन हजार ४०० घाइते छन्।
अक्टोबार १४ सम्म गाजा क्षेत्रमा ६४ हजार २८३ आवासीय भवन ध्वस्त भएका छन्। ९० शैक्षिक संस्था, १९ स्वास्थ्य संस्था र १८ धार्मिक भवन ध्वस्त भएका अलजजिराले जनाएको छ।
केही भन्नु छ भने 💬