इजरायलको हवाई कारबाहीमा हमासको शाती बटालियनका कमाण्डर मारिएका छन् । इजरायली रक्षा बल आईडीएफले आइतबार आफ्नो हवाई आक्रमणमा हमासको शाती बटालियनका कमाण्डर हैथम खुवाजारी मारिएको जानकारी दिएको हो ।
आईडीएफका प्रवक्ता ड्यानियल ह्यागारीका अनुसार खुवाजारी ती व्यक्ति हुन् जसले इजरायली भूमिमा प्रवेश गरेर आक्रमण गर्ने हमासको शाती बटालियनका कमाण्ड सम्हालेका थिए ।
हमासले गत अक्टोबर ७ मा इजरायलतर्फ हजारौँ रकेटहरू मात्र आक्रमण गरेको थिएन, त्यसबेला हमासका लडाकुहरू मोटर प्यारासुट हुँदै इजरायलमै घुसेका थिए । त्यसपछि नै हमासको नियन्त्रण रहेको गाजास्ट्रिममा इजरायलले कारबाही थालेको छ ।
हाल मारिएका शाती बटालियनका कमाण्डर खुवाजारीकै योजनामा हमासका लडाकुहरू आकाशबाट प्यारासुट हुँदै इजरायल प्रवेश गरेका थिए । उनीहरूले एउटा म्युजिक फेस्टिबलमा पुगेर अन्धाधुन्ध गोली वर्षाउँदा एकै स्थानमा ३ सयभन्दा बढीको ज्यान गएको थियो ।
इजरायली सेनाले गाजा क्षेत्रमा पछिल्लोपटक हवाई आक्रमण गरेको भिडियो सार्वजनिक गर्दै आफ्नो सोही हवाई हमलामा खुवाजारी मारिएको बताएको छ । देशका गुप्तचर निकायहरूको खुफिया जानकारीका आधारमा इजरायली हवाई सेनाहरू युद्धक विमानसहित गाजा पुगेका थिए, उनीहरूले खुवाजारी बसेको स्थानलाई पत्ता लगाएर बम वर्षाएपछि सो क्षेत्र ध्वस्त भएको थियो ।
खुवाजारीलाई जस्तै हमासका अन्य बटालियनका कमाण्डरहरूलाई पनि खोजीखोजी दण्ड दिइने इजरायलको भनाइ छ । इजरायलले यतिबेला गाजामा थल आक्रमणलाई व्यापक बनाएको छ । थल सेनालाई सहयोग गर्न आकाशबाट युद्धक विमानहरुले बमहरू वर्षाउने गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार हमासलाई समाप्त नगरिन्जेल गाजामा आक्रमण रोकिने छैन । मध्यपूर्वको यस भीषण द्वन्द्वमा इजरायली सेनाको आक्रमणमा परी प्यालेस्टाइनतर्फ १४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने लाखौँ विस्थापित भएका छन् । उता इजरायलतर्फ हमासको आक्रमणमा १२ सयले ज्यान गुमाएका छन् । सीएनएनको सहयोगमा