करिब ३ महिनादेखि जारी आक्रमणका क्रममा मंगलबार इजरायली सेनाले ठूलो क्षति भोग्नु परेको छ।
इजरायलको सेनाले मंगलबार जनाएअनुसार एकै ठाउँ भएको हमलामा २४ जना सैनिक मारिएका हुन्। अक्टोबर ७ पछि एकै पटक यति ठुलो क्षति बेहोर्नु परेको हो। हमासविरुद्ध आफ्नो अभियान चलाइरहेको इजरायली सेनाका लागि यो दिन सबैभन्दा भीषण सावित भएको छ।
इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता ड्यानियल हजारीका अनुसार गाजा क्षेत्रस्थित एक भवनमा सैनिक बसिरहेका बेला रकेट हमला भएको हो। उनका अनुसार इजरायली सुरक्षा बलले भवनलाई उडाउने उद्धेश्यसहित जुन विस्फोटक राखिएको थियो, त्यो समेत विस्फोट हुन पुगेको हो।
आईडीएफले अहिले यस घटनाको जाँच अनुसन्धान चलिरहेको जनाएको छ। इजरायलले गत ७ अक्टोबरमा भएको हमलापछि हमासविरुद्ध युद्धमा छ। गाजामा सैन्य कारबाही तीव्र भइरहँदा इजरायलले एकै ठाउँमा ठूलो धक्का ब्यहोरेको हो।
इजरायलले हमासलाई समाप्त नपारुन्जेल अभियान जारी रहने जनाएको छ। ७ अक्टोबरमा हमासको हमलाबाट १३ सय मानिस मारिएका थिए।त्यसपछि इजरायलले थालेको हमलाका कारण अहिलेसम्म गाजा क्षेत्रमा २५ हजार मानिस मारिइसकेका छन्।
इजरायलले राख्यो २ महिना युद्ध विरामको प्रस्ताव
गाजा ।इजरायलले युद्धविरामको प्रस्तावलाई अगाडि बढाएको छ । बन्धक रहेका आफ्ना सबै नागरिकलाई रिहा गरिदिने भए आफूहरू पनि २ महिनासम्मका लागि युद्ध विराम गर्न तयार रहेको भन्दै इजरायलले हमासका लडाकुहरूलाई प्रस्ताव पठाएको छ । यो प्रस्ताव स्वीकृत भयो भने २ महिनासम्म गाजामा मिसाइल र बम–बारुदको विस्फोटको गुञ्जन रोकिनेछ । इजरायल र हमासबीच सन् २०२३ को अक्टोबर ७ देखि युद्ध चलिरहेको छ ।
सबैभन्दा पहिलो हमासका लडाकुहरूले इजरायलभित्र घुसेर हमला गरेका थिए । यो घटनामा करिब १ हजार ४०० इजरायली नागरिक मारिए । २४० जनालाई अपहरण गरिएको थियो । यसको प्रतिकारमा इजरायलले पनि गाजामा हमला गर्यो । यसमा १५ हजार भन्दा धेरै मानिस मारिए । अहिलेपनि करिब १३७ इजरायली नागरिक हमासको नियन्त्रणमा छन् । यी नागरिकलाई छुटाउन इजरायलीहरूले सरकारमाथि दबाब दिइरहेका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सोमबार अमेरिकी समाचार आउटलेट एक्सियोसलाई उद्धृत गर्दै एउटा दाबी गरेको थियो । दाबीका अनुसार इजरायलले हमासलाई एउटा प्रस्ताव दिएको छ । यो प्रस्ताव मध्यस्थकर्ता कतार र मिश्रमार्फत पठाइएको हो । बहु चरणको यो सम्झौता अन्तर्गत गाजामा २ महिनासम्म युद्ध बिराम घोषित गर्न इजरायलले प्रस्ताव गरेको छ । तर यसको बदलामा सबै इजरायली बन्धकहरूलाई रिहा गर्नु पर्ने इजरायली अधिकारीहरूको माग छ ।
अहिलेसम्म इजरायल, कतार र मिश्र कसैले पनि यो दाबी पुष्टि भने गरेका छैनन् । हमासले यो प्रस्ताव मान्यो भने २ महिनासम्म गाजामा रक्तपात रोकिनेछ । यस अघि सन् २०२३ को नोभेम्बर २४ देखि ३० को बिचमा भएको युद्धबिराममा हमासले सय जना इजरायली बन्दीलाई रिहा गरेको थियो । यसको बदलामा इजरायलले पनि २४० फिलिस्तानी कैदीलाई रिहा गरेको थियो ।
This is an advertisement, click here to display your banner
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com