कञ्चनपुरका विपिन जोशी, जसको सुरक्षित रिहाइको प्रतीक्षामा सिङ्गो देश दुई वर्षदेखि बसेको थियो, उनी अन्ततः घर त फर्किए, तर बाकसमा निस्प्राण बनेर। परिवार र राष्ट्रले आशा गरेको स्वागतको लहर यसपटक शोकको गहिराइमा परिणत भयो। हमासले बन्धक बनाएको अवधिमै गाजामा मारिएका कृषि विज्ञानका विद्यार्थी विपिन जोशीको मंगलबार महाकाली नदीस्थित भुजेलाघाटमा अन्त्येष्टि गरियो।
कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका क्रममा विपिन नेपाली विद्यार्थीको टोलीसहित इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणसँगै उनलाई अपहरण गरी बन्धक बनाइएको थियो। विपिनको खोजी र रिहाइका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ठूलो दबाब बढेको थियो। हमाससँग निकट मानिएका कतार, साउदी, इजिप्टजस्ता देशहरूसँग समेत कूटनीतिक पहल गरिए पनि सफल हुन सकेन।
गत असोजको अन्तिम साता मात्रै हमासले विपिन जीवित नरहेको खबर सार्वजनिक गर्यो। इजरायलले उल्लेख गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार, इजरायल–हमास युद्धका क्रममा हमासले बन्धक बनाएर उनको टाउकोमा गोली हानी हत्या गरेको जनाइएको छ। तिहारको मध्य समय, लक्ष्मीपूजाको उज्यालो रातमा, विपिनको घर अश्रुपूरित अन्धकारमा डुबेको थियो।
विभिन्न कानुनी प्रक्रियाहरू पूरा गरेर सोमबार दिउँसो काठमाडौँ ल्याइएको विपिनको पार्थिव शरीर साँझ अबेरमा महेन्द्रनगरस्थित घरमा पुर्याइएको थियो। भुजेलाघाटमा भएको अन्त्येष्टिमा विपिनलाई राष्ट्रिय सम्मान अर्पण गरियो।
- कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो।
- सशस्त्र प्रहरी बलको एक टुकुडीले सलामी अर्पण गर्यो।
शवयात्रा र अन्त्येष्टिमा जनप्रतिनिधि, इष्टमित्र, आफन्तजन र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो। नेपालका लागि इजरायली राजदूत समुलिक एरी बास भुजेलाघाटमै पुग्नुभयो। राजदूत नेतृत्वको टोली काठमाडौँबाटै शवसँगै अन्त्येष्टिसम्म सहभागी भएको थियो।
- राजदूत बासले इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै विपिनको शवमा इजरायली झण्डा ओढाए।
- सन्देशमा भनिएको थियो, ‘विपिनले इजरायलमा देखाएको साहस र समर्पणका लागि हामी सधैं ऋणी रहनेछौं’।
- अन्त्येष्टि समारोहपछि इजरायली अधिकारीले महाकाली किनारबाट एउटा ढुंगा उठाए, जुन विपिनको सम्झनामा इजरायलमा राखिनेछ।
अन्तिम संस्कारका क्रममा बुवा महानन्द जोशी र ठुलोबुवा रामदत्त जोशी ले दागबत्ती दिनुभयो। परिवारजनका अनुसार, विपिनको काजक्रिया ठुलाबुवा रामदत्त जोशीले गरिरहनुभएको छ।
महाकालीको तटमा विपिनको भौतिक शरीर त बिदा भयो, तर उनका व्यक्तिगत सामानहरू—जस्तै लुगा, डायरी, औषधि, दैनिक रुटिन, झोला, र उनको प्रिय गिटार—पनि परिवार र आफन्तहरूले ‘मरेको मान्छेको कुरा उसैलाई फर्काउनुपर्छ’ भन्ने मान्यताअनुसार महाकालीमै विसर्जन गरे।
शवयात्रामा सहभागी केही युवाहरूले हातमा ‘विपिन, हामीलाई माफ गर’ लेखिएका प्लाकार्ड बोकेका थिए। यो प्लाकार्डले परदेशमा ज्यान गुमाउने नेपाली युवाहरूको नियतिप्रति देशले महसुस गरेको विवशतालाई दर्शाएको थियो।
महाकालीको पानीमा आज विपिनका सपना र देशका युवा मनका पीडाहरू पनि बगिरहेका छन्। ‘जाँदा आकाशमा, फर्किंदा बाकसमा’—यो नियतिमाथि प्रश्न गर्दै उनको कथाले हामी सबैलाई सोच्न बाध्य पारेको छ: किन हाम्रा सक्षम युवाहरू आफ्नै देशमा सपना देख्न सक्दैनन्?।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com







































