स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट ह्याकरको कब्जामा परेको छ। बिहीबार आफूलाई ‘क्याप्टेन स्मोकर३आर’ बताउने ह्याकर समूहले साइट ह्याक गरेको हो।
ह्याकपछि वेबसाइटमा ‘Hacked by Captain Smoker3R’ सन्देश देखाइएको थियो। साथै, स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित केही कर्मचारीहरूको नामसमेत परिवर्तन गरिएको थियो। हाल वेबसाइट पूर्ण रूपमा डाउन छ।
मन्त्रालयको डेटामा कति क्षति पुगेको छ भन्ने अझै स्पष्ट भइसकेको छैन। प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, वेबसाइट पुनः प्राप्त गर्न प्रयास भइरहेको छ। “हिजो (बिहीबार) ह्याक भएको थाहा पाएपछि मैले आईटी विभागलाई तत्काल समाधान गर्न निर्देशन दिएको थिएँ। सूचना प्रविधि मन्त्रालयबाट बनाउनुपर्ने भएकाले केही समय लागेको हो,” उहाँले टेकपानासँग भन्नुभयो।
क्याप्टेन स्मोकर३आर ह्याकर समूह विशेष रूपमा सरकारी वेबसाइटहरू तथा उच्च-प्रोफाइल संस्थाहरूलाई लक्षित गरी साइबर आक्रमण गर्दै आएको छ। यस समूहले ह्याक गरेका साइटहरूमा आफ्नो नाम, लोगो, र टेलिग्राम लिङ्क राख्ने गर्दछ। अनुसन्धानकर्ताहरूका अनुसार, यो बङ्गलादेशी ह्याकर समूह ‘थन्डर साइबर टिम’ अन्तर्गत रहेको विश्वास गरिन्छ।
नेपालका सरकारी वेबसाइटहरू पछिल्लो समय निरन्तर साइबर आक्रमणको निशानामा छन्। केही दिनअघि मकवानपुरको थाहा नगरपालिका को वेबसाइट ह्याक भएको थियो। त्यस्तै, कोशी प्रदेश सरकारको मुख्य डोमेन अन्तर्गतका २१ भन्दा बढी सबडोमेन ह्याकरको नियन्त्रणमा रहेको पाइएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com