काठमाडाैं। अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिंकेनले नेपालका सामाजिक अभियन्ता उर्मिला चौधरीलाई सोमबार वाशिङ्गटन डिसीस्थित ‘स्टेट डिपार्टमेन्ट’ मा ‘ग्लोवल एन्टि रेसिजम च्याम्पियनशीप’ अवार्डबाट सम्मानित गरेको छ ।
छ वर्षको उमेरमा कमलरीको रुपमा मालिकको घरमा पुगेकी चौधरी १७ वर्षको उमेरमा पढाई सुरु गर्दै अहिले मानवअधिकारको क्षेत्रमा क्रियाशील छिन् ।
हरेक वर्ष ६ जनालाई दिइने उक्त अवार्ड यस वर्ष नेपालकी चौधरीले पनि पाएकी हुन्।
उनले नेपालमा सीमान्तकृत जात र जातीय समुदायको मानव अधिकार प्रवर्द्धनमा काम गर्दै आएकी छन्।
जातीय विभेद, भेदभाव, जातिवादविरूद्ध उनले गरेको उल्लेखनीय रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
‘प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरूद्ध उहाँले गर्नुभएको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय र आर्थिक विकासको पक्षमा उहाँको अथक योगदान वास्तवमै प्रेरणादायी छ,’ दूतावासले लेखेको छ।
स्टेट डिपार्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी ६ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुग्नुभएको थियो । उहाँलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानून पढेर अभियानमा लाग्ने प्रण गर्दै आउनुभएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गर्दै आउनुभएको छ ।
चौधरीलाई यो अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायका लागि विभेद र शोषणका लागि काम गर्दै आउनुभएकी सशक्त अभियन्ता तथा मानव अधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com