प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई बिहीबार सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनको सुरुमा उनले तीनपटक घोषणा गरे- हामी छोड्ने छैनौँ।
‘प्यालेस्टाइन हाम्रो देश हो, हाम्रा पुर्खाहरूको देश हो। प्यालेस्टाइन हाम्रो रहनेछ। जसले यो भूमि कब्जा गरेका छन्, उनीहरूले मात्र यो ठाउँ छाड्छन्।’
एक वर्षदेखि आफ्ना जनताले यस शताब्दीकै सबैभन्दा जघन्य अपराधको सामना गरिरहेको उनले बताए।
उनले भने, ‘इजरायलले गरिरहेको नरसंहारमा गाजामा मात्र ४० हजारभन्दा बढी मानिस मारिएका छन्।’
यी आक्रमणमा हजारौँ प्यालेस्टिनी परिवार ध्वस्त भएको उनले बताए।
उनले भने, ‘हजारौँ रोग र स्वास्थ्य सेवा अभावका कारण मरेका छन्। गाजामा २० लाख भन्दा बढी मानिस घर छाडेर भागेका छन्। इजरायलले अब यो युद्ध अन्त्य गर्न आवश्यक छ।’
अमेरिकालाई आग्रह गरे इजरायललाई हतियार नपठाउ
महमुद अब्बासले बिहीबार विशेषगरी अमेरिकालाई औँल्याउँदै अन्तर्राष्ट्रिय समुदायसमक्ष पश्चिम किनार र गाजामा रक्तपात रोक्न इजरायललाई हतियार पठाउन रोक्न आह्वान गर्नुभयो ।
गाजामा मृत्यु हुनेको सङ्ख्या बढिरहे पनि वासिङ्टनले इजरायललाई त्यहाँको युद्धका लागि कूटनीतिक समर्थन र हतियार प्रदान गरिरहेको अब्बासले बताउनुभयो । हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हाल गाजामा मृत्यु हुनेको सङ्ख्या ४१ हजार पाँच सय ३४ पुगेको छ ।
गाजा र पश्चिम किनारमा हाम्रा मानिसहरूमाथि भइरहेको कुराका लागि सम्पूर्ण विश्व जिम्मेबार छ, अब्बासले संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्दै भन्नुभयो ।
हमासको अक्टोबर ७ को इजरायलमाथिको आक्रमणबाट सुरु भएको युद्धका कारण घेराबन्दीमा परेको गाजा पट्टीका २४ लाख मानिसमध्ये अधिकांश कम्तीमा एक पटक युद्धबाट विस्थापित भएका छन् र धेरैले विद्यालय भवनहरूमा आश्रय लिएका छन् ।
“अमेरिकामात्र एक्लै खडा भएर भन्यो : ‘होइन, युद्ध जारी रहनेछ ।’ उसले भिटो प्रयोग गररे यसो भन्यो”, गाजामा इजरायलको कारवाहीको निन्दा गर्न राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा बारम्बार प्रयोग गरिएको भिटोलाई उल्लेख गर्दै प्यालेस्टिनी राष्ट्रपति अब्बासले भन्नुभयो, “अमेरिकाले उपलब्ध गराएको घातक हतियारहरू प्रयोग गरेर इजरायलले हजारौँ निर्दोष नागरिक, बालबालिका र महिलाहरूको हत्या गर्यो ।”
यसबाट इजरायललाई निरन्तर आक्रमणका लागि थप उत्साहित गरेको भन्दै उहाँले इजरायल संयुक्त राष्ट्रसङ्घमा रहन ‘योग्य छैन’ भन्नुभयो ।
वासिङ्टन इजरायलको सबैभन्दा निकट सहयोगी र समर्थक हो । अमेरिकाले इजरायललाई अर्बौं डलरको सहायता र सैन्य सामग्री आपूर्ति गर्दछ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com