लोकेन्द्र जोशी /साभार – गोरखापत्र अनलाइन
दार्चुला, असोज २३ गते । ठुलो सपना बोकेर इजरायल गएको एक महिना नबित्दै दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामीसहित १० जना नेपाली विद्यार्थी नफर्किनेगरी अस्ताए । परिवारका सदस्यहरू शोकाकुल हुँदा छिमेकी समेत भावविह्वल बनेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयबाट पढ्दै–कमाउँदै (लर्न एण्ड अर्न) कार्यक्रम अन्तर्गत इजरायल गएका लेकम गाउँपालिका –५ रिठाचौपाता टकनाका दिपेश विष्ट र मालिकार्जुन गाउँपालिका –४ हुनैनाथका लोकेन्द्र धामी प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलामा परी मारिएपछि परिवारका सदस्य शोकाकुल बनेका हुन् ।
कृषि क्षेत्रमा विशेषज्ञता हासिल गरिरहेका कलिला युवा विद्यार्थीको निधनले परिवार मात्र हैन, समाजकै लागि ठुलो क्षति भएको स्थानीयको बुझाइ छ । आशाको दियो निभ्दा सिङ्गो गाउँ शोकमा डुबेको मृतक दिपेशकी दिदी ममता विष्टले बताउनुभयो ।
विद्यालय र परिवारका सदस्यका अनुसार निकै लगनशील, मिलनसार र पढाइमा अब्बल विष्टको निधनले परिवारमा सन्नटा छाएको छ । दिपेश विष्टका बुवा अशोकराज विष्टको दुई दशक पहिले निधन भएको थियो । आमा पार्वती विष्टले पतिवियोगको बज्रपातलाई सहेर छोराहरूको पालन पोषणगरी हुर्काउनुभएको थियो । कठोर दुःखका दिनहरू पार लाउँदै छोराहरूको खुसी हेर्ने समय सुरु हुनलाग्दा छोराको मृत्युको खबर सुनेपछि दिपेशकी आमा पार्वती बेहोस हुनुभएको छ । दिपेशको परिवारमा हजुरवुवा, हजुरआमा, आमा, र एक भाइ छन् ।
अकल्पनीय मृत्युको खबरले सिङ्गो परिवार शोकमा डुबेको छ । मृतक दिपेशकी दिदी ममता विष्टले बङ्करबाट उद्धार गरिएका विद्यार्थीको नामावली सेयर गर्दै सामाजिक सञ्जालमा लेख्नुभएकोछ, “कठै भगवान् ! मेरो भाइ किन अटाएन यो सूचीमा ? बाबु यो यथार्थ स्विकार्नै पर्ने हो र ? मेरो मनले अझै तिम्रो सुखद खबरको लागि फेसबुक वाल स्क्रोल गरिरहेछ, कसरी पत्याउन् यो खबर ।”
चाडपर्वको बेला परिवारले छोरा गुमाउनुपर्दा मालिकार्जुन–४ हुनैनाथका लोकेन्द्र धामीको परिवारमा पनि सन्नाटा छाएको छ । धामीको घरमा हजुरआमा, आमाबुवा, श्रीमती, चार वर्षको छोरी र डेढ वर्षको छोरा छन् । २०५७ सालमा जन्मिएका धामीले लेकम गाउँपालिकामै रहेको लटिनाथ नमुना मावि चौपाताबाट आइएससी एजी पढेर विएससी एजी पढ्न सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पस टिकापुरमा अध्ययनरत हुनुहुन्थ्यो ।
सोमबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरीको नम्बर ४४ गणका गणपति तथा एसपी डम्बरबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी शिवबहादुर सिंह र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख डिएसपी भगिन्द्रबहादुर चन्दसहितको टोलीले मृतकको परिवारसँग भेटघाट गरेर सान्त्वना दिएका छन् ।
पीडित परिवारले जतिसक्दो चाँडो शव नेपाल ल्याइदिन सीडीओसहितको टोलीसँग आग्रह गरेको छ । पीडित परिवारलाई सान्त्वना दिँदै उहाँहरूले आफूहरूका तर्फबाट गर्न सकिने जति पहल गर्ने भन्दै जतिसक्दो चाँडो अब नेपाल ल्याउन सहयोग गर्ने बताएका छन् ।
दार्चुलाका यी दुई जनासँगै कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, कैलालीकै आशिष् चौधरी, धनुषाका आनन्द साह, सुनसरीका राजेश कुमार स्वर्णकार, डोटीका राजन फुलारा र पदम थापा, सल्यानका प्रवेश भण्डारीको मृत्यु भएको पुष्टि भइसकेको छ ।
नेपाल सरकारले समेत इजरायलमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै आज राष्ट्रिय शोक घोषणा गरेको छ । केन्द्र सरकारले मृतकका प्रतिपरिवार १० लाख र सुदूरपश्चिम प्रदेश सरकारले २ लाख राहत दिने घोषणा गरेको छ । मृतकका परिवारले छिटो उद्धार गरी शव नेपाल ल्याइदिन अनुरोध गरिरहेका छन् ।
यसरी मारिएका थिए विद्यार्थी
घटनाका प्रत्यक्षदर्शी प्रमोद केसीले सञ्चारकर्मीलाई दिएको बयानअनुसार शनिबार विद्यार्थी बसेको ठाउँमाथि आकाशमा चरा उडेजसरी मिसाइल उडिरहेको थियो । सबैजना आकाशतिर उडिरहेका मिसाइल हेर्न बाहिर निस्केका थिए । आकाशमा धेरै मिसाइल विस्फोट हुन थालेपछि उनीहरू सुरक्षित हुन बङ्करतिर गए ।
१७ जना विद्यार्थी एउटै बङ्करमा बसिरहेका थिए । जयपृथ्वी –६, बझाङका गणेशकुमार नेपाली नजिकै रहेको शौचालय जान बङ्करबाट बाहिर निस्किनुभएको थियो । शौचालयबाट फर्किरहेका बेला गणेशमाथि दुई गोली प्रहार भयो । उहाँ त्यही ढल्नुभयो ।
बङ्करको ढोकाको भाग खुल्ला रहेकाले विद्यार्थीले गणेश मारिएको ढोकाबाट देखे । ढोकाको छेउमै रहेका लेकम –५ दार्चुलाका दीपेशराज विष्ट ‘बि आर नेपाली, बि आर नेपाली’ भन्दै हात उठाउँदै बाहिर निस्किनुभयो । उहाँलाई पनि गोली हानेर मारिदिए ।
त्यतिबेरसम्म बङ्करभित्र रुवाबासी चलिसकेको थियो । हमास लडाकुहरूले दुईवटा ग्रिनेड एकसाथ बङ्करभित्र फालिदिए । एउटा ग्रिनेडलाई भीमदत्त –३ कञ्चनपुरका विपिन जोशीले बाहिर फाले । अर्को भित्रै पड्कियो । सबै साथीहरू एकै ठाउँमा हामफाले । त्यतिखेर ग्रिनेड विस्फोट हुँदा सात जना विद्यार्थी घाइते भए । धेरैजसोको घुँडामुनि लाग्यो । कसैको पिँडुला फुट्यो । कसैको पैतला नै झ¥यो ।
विद्यार्थीले वरिपरिका साथीहरूलाई एम्बुलेन्स पठाइदिन अनुनयविनय गरिरहे । १५–२० मिनेटको अन्तरालमा तीन जनाको टोली एम्बुलेन्स लिएर आयो । सख्त घाइतेलाई हामी लिएर जान्छौँ भन्दै उनीहरूलाई अर्को बङ्करमा जान भनियो । घोडाघोडी –४ का नारायणप्रसाद न्यौपाने, सपही –६ धनुषाका आनन्द साह र टीकापुर –९ कैलालीका धनबहादुर चौधरी सख्त घाइते थिए ।
एम्बुलेन्समा आएका प्रहरीको जिम्मामा उनीहरूलाई छाडेर बाँकी रहेकाहरू नजिकको अर्को बङ्करमा गए । त्यहाँबाट धनबहादुरलाई मात्र अस्पताल लगिएको रहेछ । उपचार नपाएर नारायण र आनन्दको बङ्करमै ज्यान गयो ।
त्यतिबेलासम्म अर्को बङ्करमा जोशीपुर–५ कैलालीका आशिष् चौधरी, मधुवन –१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली –३ डोटीका राजन फुलारा, लमिखल–८ डोटीका पदम थापा, शारदा –३ सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन –४ दार्चुलाका लोकेन्द्रसिंह धामी, शारदा –२ सल्यानका विधान सेजवाल, दंगीशरण–३ दाङका प्रविन डाँगी, गोरखा–८ गोरखाका हिमाचल कट्टेल, भीमदत्त –३ कञ्चनपुरका विपिन जोशी, त्रिवेणी –१ सल्यानका प्रमोद केसी, त्रिशक्ति –४ कैलालीका वीरेन्द्र चौधरी र प्रमोद केशीगरी १३ जना विद्यार्थी सकुशल थिए ।
त्यो बङ्कर पहिलाको बंकरबाट एक मिनेटको मात्रै दूरीमा थियो । त्यसमा नेपालीसँगै काम गर्ने २० जना थाइल्यान्डका नागरिक पनि थिए । त्यो बङ्करमा किचनको सुविधा पनि थियो । प्रमोद किचनको वेसनमुनिको भागमा गएर बसे । वीरेन्द्र चामलको बोरा पछाडि गएर बसे । बाँकी विद्यार्थी थाइल्यान्डका नागरिकको छेउमा गएर भुईँमै बसिरहे ।
थाइल्यान्डका नागरिकहरूले उनीहरूकै भाषामा आफूहरू थाइल्यान्डका नागरिक हौँ भन्दै गुहार मागे । ७ जना थाईलाई त्यहाँबाट बाहिर लिएर गए । त्यो क्रममा विपिन पनि परे । बाँकीलाई त्यहीँ राखेर अन्धाधुन्ध गोली बर्साए ।
भित्र भएकाले प्रमोद र वीरेन्द्रलाई गोली लागेन । आशिष्, राजेशकुमार, राजन, पदम, प्रवेश र लोकेन्द्रसिंह धामीको त्यहीँ मृत्युभयो । विधान, प्रवीण र हिमाचल घाइते भएका थिए । उनीहरूले पानी पानी भनिरहे । किचनमा रहेको पानीको पाइप फुटाएर त्यहाँबाट अलि अलि पानी निकालेर प्रमोदले उनीहरूलाई दिए ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
Our online portal serves as the heartbeat of the Nepali community in Israel. We don’t just deliver news—we share the stories of lives lived far from home, celebrate contributions, and spotlight the experiences and activities that make our community vibrant and strong..