खेमराज जम्मर कट्टेल, इजरायल
नेपालमा निर्वाचन २०८४ ले अबको केही वर्षमा ढोका ढकढक्याउँदै छ। यो केवल एक राजनीति परिवर्तनको प्रक्रिया मात्र होइन, यो देशको भविष्य लेख्ने ऐतिहासिक अवसर पनि हो। अब हामी सबैले गहिरो आत्म मन्थन गर्नुपर्ने समय आएको छ हाम्रो एउटा भोटले कस्तो नेपाल निर्माण गर्नेछ ! हाम्रो निर्णयले कस्तो भविष्य सिर्जना गर्नेछ !
अब गर्ने बेला आई सक्यो ३६४ दिन आफ्ना लागि, १ दिन देशका लागि हामी वर्षको ३६४ दिन आफ्ना परिवार, पेशा र व्यक्तिगत सपना पूरा गर्न लागेका हुन्छौ । तर त्यो एउटा दिन निर्वाचनको दिन केवल हाम्रो लागि होइन, हाम्रो देश र भावी पुस्ताका लागि हो भन्ने अब बुझ्न जरुरी छ ।
त्यही एक दिनले हाम्रा सन्ततिले गर्व गर्ने नेपाल बनाउने कि हाम्रो पुस्ता जस्तै यसरी नै बिदेसिन बाध्य हुने नेपाल बनाउने निर्णय गर्नेछ । त्यसैले निर्वाचनलाई बिदा मात्र होइन, अब जिम्मेवारीको दिन मान्न जरुरी छ । सकेसम्म त्यो बेला देश बिदामा फर्कौँ, मतदानमा सहभागी बनौँ, सकेको योगदान गरौँ। भोलि पछुताउनु नपरोस्, आजैबाट बेलैमा तपाई हामीले ध्यान दिन जरुरी छ ।
पुराना दल र नेताहरूले ल्याएको अवस्था हामी सबैको अगाडि छर्लङ्ग छ। योगदानलाई अस्वीकार गर्न सकिँदैन, तर देशले र हामीले भोगेको असफलतालाई पनि लुकाउन सकिँदैन । बेरोजगारीले युवालाई पलायनतर्फ धकेलेको छ, भ्रष्टाचारले राष्ट्रको मेरुदण्ड दैनिक कमजोर बनाइरहेको छ, अवसरवाद र सत्ता मोहले आम नागरिकको भरोसा दैनिक भत्काइरहेको छ।
अब समय आएको छ पुरानो सोच र असफल संरचना भत्काएर नयाँ बाटो निर्माण गर्ने। त्यो बाटो नयाँ पुस्ताको सक्षम नेतृत्वले मात्रै बनाउन सक्छ। तर यहाँ एउटा कुरा स्पष्ट बुझ्न आवश्यक छ नयाँ पुस्ता भनेर मात्र सबै कुरा सही हुन्छ भन्ने पनि होइन। नेतृत्व युवा हुनुपर्छ तर सँगै सक्षम, पारदर्शी र इमानदार पनि हुनुपर्छ। युवा केवल उमेरले होइन, विचार र दृष्टिकोणले पनि नयाँ हुन जरुरी छ । पुरानाले गरेका गल्तीलाई अनुकरण गरेर नयाँ पुस्ताले अर्को निराशा सिर्जना गर्नु हुँदैन। त्यो छुट अब हामी कसैलाई छैन ।
हालैका घटनाक्रमहरूले अझै एउटा कुरा प्रस्ट पारेको छ । पुरानो संरचना अझै आफ्नो अस्तित्व जोगाउन सक्रिय छ। रास्वपाका सभापति रवि लामिछानेमाथि स्पष्ट देखिएको राजनीतिक प्रतिशोध, बालेन, हर्क लगायतका स्वतन्त्रका योद्धाहरू विरुद्ध गरिएको घेराबन्दी केवल एक वा दुई व्यक्तिहरूको मुद्दा मात्र होइन, नयाँ पुस्ताले भोग्नुपरेका चुनौतीको प्रतीक हो। नयाँ सोच, नयाँ सुधार र पुरानो संरचना बिचको सङ्घर्ष अझै समाप्त भएको छैन। यही कारणले अब अझ बलियो, अझ धेरै, सक्षम र सत्य नेतृत्व आवश्यक छ।
निर्वाचन केवल उम्मेदवारको जित हार होइन, हाम्रो भविष्यको रेखा कोर्ने दिशा पनि हो। आज हामीले सही निर्णय नगरे भोलि पछुताउनु बाहेक हामी सँग केही रहने वाला छैन । बेलैमा सचेत नभएर अर्को पाँच वर्ष गुमाउनु भन्दा बेलैमा ध्यान दिन जरुरी छ । प्रवासमा रहेका रहेका लाखौँ प्रवासी नेपालीहरूले बुझ्नुपर्छ देश केवल तपाई हाम्रो सोचले मात्र होइन, हाम्रो भोट र योगदानले बनिन्छ । मौन नबसौँ; सामाजिक सञ्जाल, सञ्चार, चेतना र विचारको माध्यमबाट आफ्नो भूमिका निर्वाह परदेशबाटै गरौँ ।
हामीले पुराना नेताहरूलाई दोष दिएर, गाली गरेर, सञ्जालहरूमा अनेक बहस गरेर दशकौँ बितायौँ। तर अब पुनः नयाँ पुस्तालाई पनि त्यो गल्ती दोहोर्याउने छुट छैन । परिवर्तनको नाममा भावनामा बगेर होइन, विवेकका आधारमा नेतृत्व चयनमा प्रत्यक्ष सहभागी भएर गरौँ। पुरानाले बनाएको असफल संरचना भत्काउन मात्र होइन, सही विकल्प निर्माण गर्न पनि योगदान पुर्याउँ ।
हाम्रो १ भोट केवल एउटा भोट मात्र होइन, हाम्रो आवाज हो, हाम्रो चित्कार हो, हाम्रो भविष्य हो । त्यो आवाजले पुरानो राजनीतिक संस्कृतिलाई चुनौती दिन सक्छौ । त्यो चित्कारले भविष्यको मार्गचित्र कोर्न सक्छ। यही कारणले यस पटकको निर्वाचनलाई गम्भीरतापूर्वक लिनुपर्छ। हामी कुन बाटो समाउँछौँ भन्ने निर्णय हाम्रो हातमा छ अब चुक्ने र लुक्ने समय छैन ।
त्यसैले आउँदो मेरो बिदा, मेरो देशका लागि। मेरो भोट, भविष्यका लागि। निर्वाचनको समयमा देश फर्कौँ, योगदान गरौँ। भोलि पछुताउनु नपरोस्, अहिलेबाटै बेलैमा सचेत बनौँ । नयाँ नेतृत्व, तर सही बाटोमा। पुरानो गल्तीहरूलाई अन्त्य गर्दै नयाँ नेपाल सक्षम युवाको हातमा पुर्याउन हातमा हात मिलाउँ ॥
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झापा दमक स्थायी घर भई विगत १० वर्षदेखि इजरायलमा रहेका खेमराज जम्मर कट्टेल , सामाजिक र बौद्धिक क्षेत्रमा सक्रिय छन्। नेपाली युवाको प्रवासी पीडा, बेरोजगारी र समसामयिक विषयमा लेखहरू प्रकाशित गर्दै आएका उनि इजरायलमा खेलकुद र सामाजिक एकतामा पनि सक्रिय छन्। समाधानमुखी, यथार्थवादी र देश प्रेमले भरिएको विचार शैलीले उनलाई परिवर्तनशील लेखक र सामाजिक अभियन्ताका रूपमा पनि चिनाउँछ।
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj