रुकुमपश्चिम, हाल इजरायल । शनिबार बिदा भएकाले विद्यार्थीहरू ढिला उठ्ने योजनामा सुतेका थियौं। बिहानको साढे ६ बजे सबैजना विस्तारामै थियौं। एक्कासि पड्किएको ठूलो आवाज आयो। आत्तिएर ओछ्यानबाट जुरुक्क उठेर बाहिर निस्कँदा आकाशमा आगोको मुस्लोसहितको रकेट उडेको थियो।
हरेक सेकेन्डमा उडेका यस्ता रकेट ठूलो आवाजमा पड्किएका थिए। हाम्रा गाउँमा तिहारमा आकाशमा पटका पट्काएको जस्तो देखिन्थ्यो। पड्किँदा आएको आवाजले हाम्रो कानमा असर गरेको झै लाग्यो। रकेट सहरतर्फ ताकेर उडेका थिए। यसपछि त हामीलाई के गर्ने कसो गर्ने भयो। हामी झन् अत्तालियौं।
प्यालेस्टिनी लडाकू समूह हमासले सहरी क्षेत्रमा लगातार प्रहार गरिरहेका थिए। हामी ज्यान जोगाउनतिर लाग्यौं। एउटा बंकरमा लुक्यौ। तर, पनि हामीले सुरिक्षत महसुस गरेनौं। बंकरमा ढोका थिएन। बाहिरको आवाजले कानमा असर गरिरहेको थियो। हमासको टोली इजरायलमा कोही प्यारासुट, कोही समुद्रबाट त कोही जमिनबाटै छिरेका थिए। सुरुमा गाडी रोकेरै सुट गरेका थिए। कोही घरभित्रै छिरेर बालबालिकादेखि ठूलो उमेरका कसैलाई पनि नछोडी गोली हानेको सुन्यौं। हाम्रो बंकरमा ढोका थिएन। बंकरमा आउन सक्ने कुराले मानसिक त्रासमा पुग्यौं। ढोका खुला भएको कारण जतिखेर पनि भित्र पस्ने खतरा थियो। त्यसपछि हामी थप सुरक्षा खोज्दै गर्यौ।
माथिको रकेट प्रहारको खतरा हामीमा कम थियो। किनभने हामी कृषिकर्म गर्ने कारण गाउँमा थियौं। रकेट प्रहार हामी बसेको भन्दा करिब ३० किलोमिटर परको सहरी क्षेत्रमा थियो। ढोका भएको बंकर पाएपछि हामी अहिले यही लुकेर बसेका छौं। हामी भएको ठाउँको नजिकै हमासका लडाकु आएका थिए। इजरायली सेनाले प्रतिकार गरेर जोगाए। आइतबार दिउँसोदेखि आवाज आउन छोडेको छ। सेनाले कडा सुरक्षा दिएको छ। हामी बंकरमै ८ जना नेपाली विद्यार्थी छांै। तर, यो कति लम्बिन्छ भन्ने टुंगो छैन। दुई÷चार दिनका लागि त खाद्यान्न र पानी छ। धेरै लम्बियो भने खानेकुराको पनि अभाव हुने देखिन्छ। बाहिर निस्कन सक्ने अवस्था छैन। पसल बन्द छन्। खानाको जोहो कसरी गर्ने भन्ने चिन्ता छ।
हामी सामाजिक सञ्जालबाट पनि टाढा छौं। हामीले चलाउने सिमको नेटवर्क चलेको छैन। अलि शान्त भएको बेला एक मिनेटको दूरीमा रहेको कोठामा जान्छौ। त्यहाँ वाईफाई छ। हामीले सुदूरपश्चिम विश्वविद्यालयका साथीहरू मारिएको दुःखद् खबर सुन्यौं। त्यहाँको अवस्था दर्दनाक छ। हामीले सम्पर्क खोज्दा सम्पर्क भएको छैन। विकल्प नभएपछि मनोबल गिरेको छ। अहिले नै बाहिर झ्याप्पै निस्कन सक्ने अवस्था छैन। एयरपोर्ट बन्द छ। सरकारले के गरेको छ भन्ने पनि खबर थाहा पाएका छैनौं। घरमा उत्तिकै डराइरहेका छन्। सकुशल उद्धार हुनुपर्यो भन्ने माग छ। भोलि के होला भन्न सकिन्न। बढी क्षति भएको ठाउँ बोर्डरबाट ३० किलोमिटरको दूरीमा छ। बंकरमा लुकेर ज्यानजो गाएका छौं।
सामाजिक सञ्जालमा जथाभावी भिडियो पोस्ट भइरहेको छ। कतिपय पुराना भिडियो हालिदिँदा घरपरिवार झन् त्रसित बनेका छन्। सुरक्षित ठाउँमा लैजान अनुरोध गरेका छौं। हामी त जोगिएका छौं। तर, हामी जस्तै गएका केही साथीहरू मारिएको घटनाले हामी मर्माहित भएका छौं। शारीरिक रूपमा ठीक छांै, तर मानसिक रूपमा त्रसित छौं। घर परिवारमा नआत्तिन भनेका छौं। सहज भएपछि आफ्नै देश फर्किने हो।
(अन्नपूर्णकर्मी अनिल ढकालसँग रविन चन्दले गरेको कुराकानीमा आधारित)
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com