काठमाडौं – वैदेशिक रोजगारीका लागि इजरायल जान पहिलो समूहका १३ जना नेपाली कामदार मंगलबार (फागुन ६) प्रस्थान गर्दैछन्। इजरायलको ‘हेरचाह तथा स्याहार’ (केयरगिभर) क्षेत्रमा कार्यरत हुन एक हजार नेपाली श्रमिक पठाइने तय भएको छ। नेपालस्थित इजरायली दूतावासका अनुसार पहिलो १०० श्रमिकको भिसा प्रक्रिया पूरा भइसकेको छ भने बाँकीको प्रक्रिया पनि क्रमशः अघि बढिरहेको छ। इजरायलमा केयरगिभरहरू ज्येष्ठ नागरिक हेरचाह केन्द्र तथा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेछन्।

नेपाल र इजरायलबीच सन् २०२० मा भएको ‘जिटुजी’ (सरकारदेखि सरकार) सम्झौताअनुसार नेपाली श्रमिक पठाउने प्रक्रिया सुरु भएको हो। यस प्रक्रियामा निजी क्षेत्रको संलग्नता छैन, जसले गर्दा कामदार ठगी तथा अतिरिक्त शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ।वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार इजरायल सरकारले भिसा पठाएपछि पहिलो चरणका एक हजार नेपाली क्रमशः प्रस्थान गर्नेछन्। ‘इजरायलमा काम गर्ने श्रमिकहरू सुरक्षित छन्, पारिश्रमिक आकर्षक छ, र श्रमिकलाई उचित सेवा-सुविधा प्रदान गरिन्छ,’ सुवेदीले भने।
इजरायलमा कार्यरत नेपाली श्रमिकले मासिक करिब दुई लाख रुपैयाँ पारिश्रमिक पाउने गर्छन्। त्यहाँ श्रमिकहरूलाई सातामा ६ दिन, ४२ घण्टासम्म कार्य गर्ने नियम छ। अतिरिक्त समय काम गरेमा थप पारिश्रमिक दिने व्यवस्था गरिएको छ। इजरायलको श्रम कानुनअनुसार नेपाली श्रमिकले अन्य विदेशी कामदारसरह समान सेवा-सुविधा पाउने छन्।
पहिलो करार अवधि एक वर्षको हुने भए पनि उत्कृष्ट कार्यसम्पादन गर्ने श्रमिकले अधिकतम पाँच वर्षसम्म बस्न पाउने व्यवस्था छ। इजरायलले गत अगस्टमा लाइभ लटरी प्रक्रियामार्फत दुई हजार ११२ जना नेपाली श्रमिक छनोट गरेको थियो। तर, इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाहबीचको तनावका कारण रोजगारी प्रक्रिया रोकिएको थियो। युद्धविरामपछि नेपाल सरकारले परराष्ट्र मन्त्रालयको सहमतिमा प्रक्रिया पुनः अगाडि बढाएको हो।
नेपालले वर्षौंदेखि इजरायलमा केयरगिभरका रूपमा कामदार पठाउँदै आएको छ। हाल इजरायलले कृषि क्षेत्रमा भारत र श्रीलंकाबाट श्रमिक लिइरहे पनि केयरगिभरका लागि नेपालीलाई नै प्राथमिकता दिइरहेको छ।

नेपालबाट अधिकांश श्रमिक जोखिमयुक्त तथा न्यून पारिश्रमिक पाउने खाडी मुलुक तथा मलेसियामा जाने गरेका छन्। इजरायलजस्तो सुरक्षित, व्यवस्थित श्रम नीति रहेको, र उच्च पारिश्रमिक पाउने गन्तव्यमा अझ बढी नेपाली श्रमिक पठाउन नेपाल सरकारले थप पहल गर्नुपर्ने विज्ञहरूको सुझाव छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com