हालै इजरायलमा नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलको अगुवाइमा ३१औँ विश्व आदिवासी दिवस कार्यक्रम २०२५ भव्यताका साथ सम्पन्न भएको छ। यो महत्त्वपूर्ण दिवस नेपाल संवत् ११४५ गुंलागा सप्तमी, बि.सं. २०८१ श्रावण ३० गते, तदनुसार ई. स. १५ अगस्ट २०२५, शुक्रवार साँझ सफलताका साथ मनाइएको हो। विश्वभर आदिवासी जनजातिहरूको अधिकार, संस्कृति र पहिचानको सम्मानमा मनाइने यो दिवस इजरायलमा रहेका नेपाली आदिवासी समुदायका लागि पनि एक ऐतिहासिक तथा अर्थपूर्ण अवसर बनेको थियो। कार्यक्रमको मूल नारा थियो – “प्राकृतिक श्रोत, जल, जमिन र जङ्गल माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर ।
UNDRIP र ILO169 सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर”। यस नाराले आदिवासी समुदायको सामूहिक आवाज र मागलाई स्पष्ट रूपमा प्रस्तुत गरेको थियो, जसले उनीहरूको परम्परागत भूभाग र प्राकृतिक स्रोतहरूमाथि पुस्तौँदेखिको अधिकारलाई सुनिश्चित गर्नका साथै आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र (UNDRIP) र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि १६९ (ILO169) जस्ता अन्तर्राष्ट्रिय कानुनहरूको नेपालमा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश मार्फत पूर्ण कार्यान्वयनको आवश्यकतामाथि कार्यक्रममार्फत जोड दिएको छ।
नेपाल आदिवासी जनजाति महासङ्घ इजरायल (नेफिन इजरायल) द्वारा आयोजित यस कार्यक्रमको सभापतित्व नेफिन इजरायलका अध्यक्ष सूर्य ब. राना मगर ज्यूले गर्नुभएको थियो, उहाँले कार्यक्रमको शानदार व्यवस्थापन र सफल सञ्चालनमा अतुलनीय योगदान पुर्याउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलका महामहिम राजदूत प्रा. धन प्रसाद पण्डित ज्यू हुनुहुन्थ्यो, उहाँको उपस्थिति र सक्रिय सहभागिताले कार्यक्रमको गरिमालाई अझ उच्च बनाएको थियो। महासङ्घमा आबद्ध विभिन्न आदिवासी राष्ट्रिय समुदाय संस्थाहरूको सक्रिय सह-आयोजना यस दिवसको अर्को महत्त्वपूर्ण पक्ष थियो, जसले इजरायलमा बसोबास गर्ने नेपाली आदिवासीहरूको एकता र सामूहिक शक्तिको प्रदर्शन गरेको थियो।
राजदूत पण्डित ज्यूले आफ्नो व्यस्त समयका बाबजुद पनि नेफिन इजरायलको निमन्त्रणालाई सहर्ष स्वीकार गरी कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुभएको थियो. उहाँको साथमा नेपाली राजदूतावासबाट उपनियोग प्रमुख कुमार बहादुर श्रेष्ठ ज्यू र तृतीय सचिव सञ्जय साह ज्यूको उपस्थिति पनि कार्यक्रमको विशेष आकर्षण बनेको थियो।
कार्यक्रममा उपस्थित अन्य विशिष्ट अतिथिहरूमा नेफिन इजरायलका संरक्षक परिषद् सदस्य ज्यूहरू र प्रमुख सल्लाहकार मयजु मनु श्रेष्ठ ज्यू हुनुहुन्थ्यो, जसले महासङ्घलाई निरन्तर मार्ग निर्देशन प्रदान गर्दै आउनुभएको छ। विशेष अतिथिको रूपमा जनसम्पर्क समिति इजरायलका सङ्गठन विभाग प्रमुख नारद बोगटी ज्यू, प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष रमेश जोशी ज्यू, र प्रवासी नेपाली एकता समाज (पानस) इजरायलका अध्यक्ष अर्जुन बस्नेत ज्यू लगायतका प्रमुख व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमको महत्वलाई थप बढाएको थियो।
यसका अतिरिक्त, नेफिन इजरायलका सल्लाहकार ज्यूहरू, विभिन्न आदिवासी राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष ज्यूहरू, इजरायलमा स्थापित विभिन्न सामाजिक, धार्मिक, कला, साहित्य सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरू, कार्यक्रमको सन्देशलाई समुदायमाझ पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरू लगायत शुभचिन्तकहरूको उपस्थिति रहेको थियो । यसका साथ साथै दुई बर्ष अघि हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीमा इजरायल आउनु भएका उहाँका आमा पदमा जोशी र बहिनी पुष्पा जोशी को हार्दिक उपस्थितिले कार्यक्रमलाई अझ पारिवारिक र आत्मीय बनाएको थियो।
संस्थाकी महासचिव विमला श्रेष्ठद्वारा हस्ताक्षरित एक विज्ञप्तिमार्फत प्राप्त विवरण अनुसार कार्यक्रमलाई सफल आकर्षक र सफल बनाउन धेरै व्यक्तिहरूको अहोरात्र मिहिनेत र समर्पण रहेको थियो। कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष सर्किनी जाबा ह्योल्मो ज्यूले कार्यक्रमको हरेक पक्षलाई अत्यन्तै कुशलतापूर्वक संयोजन गर्नुभएको थियो। उहाँको नेतृत्वमा रहेका विभिन्न विधाका उप-संयोजक ज्यूहरूले आ-आफ्नो जिम्मेवारी पूर्ण इमानदारीका साथ निर्वाह गरेका थिए।
३१ औं विश्व आदिवासी दिवस २०२५ नेफिन इजरायल -भिडियो झलक -video by Gurung Indrajung 🙏
Posted by Nefin Israel on Tuesday 19 August 2025
ती उप-संयोजकहरू र उनीहरूका महत्त्वपूर्ण भूमिका यस प्रकार थिए:
झाँकी तथा सांस्कृतिक संयोजक उपाध्यक्ष बिन्दु तमुस्यो – उहाँले कार्यक्रममा मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरूको व्यवस्थापन गर्नुभयो, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो।
खाना व्यवस्थापन संयोजक उपाध्यक्ष लाक्पा लामा शेर्पा – कार्यक्रममा सहभागी ठुलो सङ्ख्याका पाहुना तथा आगन्तुकहरूका लागि स्वच्छ र स्वादिष्ट खानाको उचित प्रबन्ध मिलाउन उहाँको महत्त्वपूर्ण भूमिका थियो।
स्वयंसेवक संयोजक उपाध्यक्ष अशोक थोकर तामाङ– कार्यक्रमको सुव्यवस्था कायम राख्न र उपस्थित सबैलाई सहज वातावरण प्रदान गर्न स्वयंसेवकहरूको परिचालन र व्यवस्थापनमा उहाँको भूमिका अतुलनीय थियो।
अतिथि सत्कार संयोजक उपाध्यक्ष इन्दु लावती – कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूको न्यानो स्वागत र सत्कारको जिम्मेवारी उहाँले कुशलतापूर्वक निभाउनुभयो, जसले सबैलाई सहज महसुस गरायो।
यी संयोजकहरूसँगै नेफिन इजरायलका संरक्षक परिषद् सदस्यहरू, प्रमुख सल्लाहकार तथा अन्य सल्लाहकार ज्यूहरूले पनि कार्यक्रमलाई सफल बनाउन निरन्तर मार्ग निर्देशन र सहयोग प्रदान गरेका थिए। कार्यक्रममा सहभागी सदस्य संस्थाहरूका अध्यक्ष ज्यूहरूले आफ्ना मौलिक खानाका परिकारहरू सहित झाँकी र मौलिक नृत्य लिएर उपस्थित भई कार्यक्रमलाई थप आकर्षक र रमाइलो बनाएका थिए। इजरायलमा रहेका नेपाली समुदायको सांस्कृतिक विविधता र समृद्ध परम्पराको झल्को दिने यी प्रस्तुतिहरू अत्यन्तै मनमोहक थिए। आकर्षक नृत्यहरू प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिदिनुहुने कलाकार ज्यूहरूको बेजोड प्रस्तुतिले दर्शकहरूलाई आनन्द र उत्साह प्रदान गर्यो।
यस कार्यक्रमलाई सफल पार्नका लागि आर्थिक सहयोग प्रदान गरिदिनुहुने सहयोगी मनका धनिहरू, नेफिन इजरायलका कार्यसमितिका सम्पूर्ण पदाधिकारी ज्यूहरू, र कार्यक्रमको हरेक पक्षमा अथक परिश्रम गर्ने स्वयंसेवक ज्यूहरूप्रति नेपाल आदिवासी जनजाति महासङ्घ इजरायल परिवारले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक, नैतिक सहयोग प्रदान गर्ने तथा सामाजिक सञ्जालमा प्रत्यक्ष लाइभहरू हेरेर साथ दिनुहुने सम्पूर्ण महानुभावहरूको सहयोग र साथ कार्यक्रमको सफलताको प्रमुख आधार रहेको थियो।
यस ३१औं विश्व आदिवासी दिवस कार्यक्रमले इजरायलमा रहेका नेपाली आदिवासी जनजातिहरूलाई एकजुट भई आफ्नो पहिचान, संस्कृति, र अधिकारको लागि आवाज उठाउन प्रेरित गरेको छ। यो कार्यक्रम भविष्यमा पनि आदिवासी हकहितका लागि गरिने हरेक सङ्घर्षमा एक बलियो आधार बन्ने विश्वास नेफिन इजरायलले लिएको छ। “जय आदिवासी! जय जनजाति!” को उद्घोषका साथ समाप्त भएको यो कार्यक्रम वास्तवमै इजरायलमा रहेका नेपाली समुदायका लागि एक प्रेरणादायी र सफल कोशे ढुङ्गा बनेको छ।
(तस्बिरहरु – आदिवासी जनजाति महासंघ इजरायलको सामाजिक संजालबाट )
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com