राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय प्रवास नेपाली सम्पर्क विभागले इजरायलमा रहेका प्रवासी नेपालीहरूको प्रतिनिधित्व गर्दै एउटा नयाँ र सशक्त कार्यसमिति गठन गरेको छ ।प्रवास नेपाली सम्पर्क विभाग इजरायलको औपचारिक घोषणा आज, अर्थात् २०२५ अगष्ट १५, शुक्रबार, तेलअविवमा एक विशेष समारोहका साथ हुदैछ । यो केवल एउटा समितिको घोषणा मात्र नभई, प्रवासी नेपाली समुदायको एकताको उत्सवका रूपमा मनाइने महामिलनको घडी हो ।
प्रवासको माटोमा आफ्ना आवाजलाई बुलन्द पार्न र आपसी भाइचारा सुदृढ पार्नका लागि यस इजरायल २०२५/०२७ कार्यसमितिको सर्वसम्मत चयन गरिएको छ । निर्वाचन समितिले गत अगस्ट ७ मा प्रमुख, उप–प्रमुख र कोषाध्यक्ष पदमा एकभन्दा बढी उम्मेदवार मनोनयन दर्ता भएको जानकारी गराएको थियो । तर, लोकतान्त्रिक प्रक्रिया र आपसी समझदारीको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै, अगस्ट ११ र १२ मा उम्मेदवारहरू, सदस्य प्रतिनिधि तथा निर्वाचन समिति प्रतिनिधिहरूको रोहबरमा भएको सहमति र निर्णयअनुसार यो शक्तिशाली कार्यसमिति सर्वसम्मतिले चयन भएको हो । यो प्रक्रियाले प्रवासी नेपाली समुदायभित्र सौहार्दपूर्ण वातावरणमा नेतृत्व छनोट गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

नयाँ जिम्मेवारीसहित प्रवासी नेपालीको सेवामा जुट्नका लागि तयार रहेका नव–निर्वाचित पदाधिकारीहरूमा प्रमुखका रूपमा दुर्गा प्रसाद चापागाई, उप–प्रमुखमा लक्ष्मी अधिकारी तिम्सिना चयन हुनुभएको छ । त्यसैगरी, संगठनको मेरुदण्डका रूपमा सचिवमा जनक राज खड्का, उहाँलाई साथ दिन सह–सचिवमा खुस्बु नेपाल हुनुहुन्छ । आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि कोषाध्यक्षमा नकुल लामिछाने र सह–कोषाध्यक्षमा मन्जु सापकोटा ले जिम्मेवारी सम्हाल्नुभएको छ । यी प्रमुख पदका साथै, समितिमा विभिन्न क्षेत्रबाट अनुभवी र सक्रिय व्यक्तित्वहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ । भैरव बहादुर कार्की, दिपक भट्टराई, केशव गौतम, बिष्णु उप्रेती, नम्रता पाठक, गीता कार्की, देवि खरेल पाण्डे, बिन्दा खड्का बुढाथोकी र बिनिता बराम जस्ता नामहरूले समितिलाई अझ बलियो बनाएका छन् ।
आजको विशेष कार्यक्रममा, निर्वाचन समितिले यस नव–निर्वाचित समितिलाई प्रमाणपत्र प्रदान गर्दै विभागको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । यो क्षण प्रवासी नेपालीका लागि एउटा गर्वको विषय बन्नेछ, जहाँ उनीहरूको संगठित शक्तिको प्रदर्शन हुनेछ । इजरायलमा रहेका नेपाली समुदायको एकताको यो उत्सवले आगामी दिनमा प्रवासी नेपालीका हकहित र कल्याणका लागि नयाँ दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ । आशा छ, यो समितिले प्रवासमा नेपाली पहिचानलाई अझ उँचो बनाउँदै, सबै नेपाली मनहरूलाई एक सूत्रमा बाँध्न सफल हुनेछ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com