जेरुसलेम, इजरायल सरकारको औपचारिक निमन्त्रणामा भ्रमणमा रहनुभएका नेकपा (एमाले) नेता तथा प्रतिनिधि सभा सदस्य माननीय तारा लामा तामाङ ज्युको जेरुसलेम भ्रमण ऐतिहासिक र अत्यन्त सफल रह्यो।
उहाँले विदेश मन्त्रालय (Ministry of Foreign Affairs) मा उच्चस्तरीय ब्रिफिङ प्राप्त गर्दै नेपाल–इजरायल सम्बन्धका विविध पक्षहरूबारे छलफल गर्नुभयो। छलफलमा इजरायलमा कार्यरत नेपाली श्रमिकहरूको अधिकार र सुरक्षाबारे, दुवै देशबिच श्रम सहकार्य सुदृढ गर्ने विषयमा, साथै हाल हमासको कब्जामा रहेका नेपाली युवक विपिन जोशीको जीवन रक्षाका लागि गर्ने पहल सम्बन्धमा समेत गम्भीर संवाद भएको बताइएको छ।
त्यसपछि उहाँले सुप्रीम कोर्ट अफ जस्टिस (Supreme Court of Justice) को भ्रमण गर्दै इजरायलको न्याय प्रणालीबारे प्रत्यक्ष अवलोकन गर्नुभयो। साथै, याद भाशेम होलोकॉस्ट सङ्ग्रहालय (Yad Vashem Holocaust Museum) भ्रमण गरी द्वितीय विश्वयुद्धका ऐतिहासिक घटनाहरू र मानवअधिकारको महत्वबारे गहन अध्ययन गर्नुभयो ।
शाल्वा (Shalva) संस्थामा पुगेर उहाँले अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना तथा क्षमता विकास कार्यक्रमबारे विस्तृत जानकारी लिनुभयो। त्यसै गरी, जेरुसलेमको प्रतिष्ठित Hutzot Hayotzer Festival मा सहभागी भई अन्तर्राष्ट्रिय कला, सांस्कृतिक प्रदर्शनी, विश्वव्यापी खानाका परिकार र लाइभ सङ्गीत प्रस्तुतिको आनन्द लिनुभयो।
यस ऐतिहासिक भ्रमणले नेपाल–इजरायल सम्बन्धलाई मात्र होइन, सांस्कृतिक, सामाजिक र कूटनीतिक क्षेत्रमा समेत नयाँ उचाइमा पुर्याएको विश्वास व्यक्त गरिएको छ।
हाल उहाँ उत्तर इजरायलको भ्रमणमा रहनु भएको छ र आउँदो शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ।
शिवराज खड्का,
(निवर्तमान उपाध्यक्ष )
प्रवासी नेपाली मञ्च इजरायल
विभिन्न संस्थामा आवद्ध रही सामजिक कार्यमा रुची राख्ने शिवराज खड्का हाल इजरायलको जेरुसलेममा केयरगिभरको रुपमा कार्यरत छन ।