२०२५ अगष्ट १५, शुक्रबार, तेलअविवमा इजरायलमा रहेका प्रवासी नेपालीहरूको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग इजरायल गठन भएको छ । एक विशेष समारोहका बीच शुक्रबार साँझ प्रवास नेपाली सम्पर्क विभाग इजरायलको नया कार्यसमिति गठन गरिएको औपचारिक घोषणा भएको हो । इजरायलमा रहेका रास्वपाप्रति आस्था राख्ने नेपालीहरूको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रम गीत-संगीत र स्थानीय परिकारहरूको स्वादका साथ हर्षोल्लासपूर्वक सम्पन्न भएको थियो ।
इजरायल प्रवासमा आपसी भाइचारा सुदृढ पार्न र रास्वपाका नीति तथा कार्यक्रमको प्रचार प्रसारका लागि यस इजरायल २०२५/०२७ कार्यसमितिको सर्वसम्मत चयन गरिएको हो । तीन सदस्यीय निर्वाचन समितिले गत अगस्ट ७ मा प्रमुख, उप–प्रमुख र कोषाध्यक्ष पदमा एकभन्दा बढी उम्मेदवार मनोनयन दर्ता भएको जानकारी गराएको थियो । तर, लोकतान्त्रिक प्रक्रिया र आपसी समझदारीको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै, अगस्ट ११ र १२ मा उम्मेदवारहरू, सदस्य प्रतिनिधि तथा निर्वाचन समिति प्रतिनिधिहरूको रोहबरमा भएको सहमति र निर्णयअनुसार यो कार्यसमिति सर्वसम्मतिले चयन भएको हो । यो प्रक्रियाले प्रवासी नेपाली समुदायभित्र सौहार्दपूर्ण वातावरणमा नेतृत्व छनोट गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
इजरायलको तेल अभिभमा भएको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका अध्यक्ष गणेश गिरीले नव निर्वाचित कार्यसमितिका पदाध्हिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । निर्वाचन समितिका संयोजक खेमराज जम्मर कट्टेलले प्रवासमा रहेका नेपालीहरु पनि देशको भविष्य बोकेको राजनीति प्रति सचेत हुदै गएको बताउनु भयो । उहाँलेको सभ्य समाजमा हरेक नागरिकमा हुनुपर्ने सामाजिक चेतनाको अपरिहार्यता औंल्याउदै प्रवासमा रहेका अन्य राजनीतिक संस्थाहरुले पनि रास्वपाको प्रवास बिभागबाट मूल्य मान्यतायुक्त परिष्कृत र संयमित राजनीतिक संस्कार अनुसरण गर्ने गरी कार्य गर्ने बताउनु भयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दुर्गा चापागाईं लगायत अन्य पदाधिकारीहरुले आ आफ्नो धारणा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरु तथा देशमा भै रहेको विकृति र विसंगति बिरुद्ध रास्वपाले उठाएका अभियानहरुमा तन, मन र वचनले डटेर साथ दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू:
नयाँ जिम्मेवारीका साथ प्रवासी नेपालीहरूको सेवामा समर्पित हुन तयार रहेका नवनिर्वाचित पदाधिकारीहरूको विवरण यस प्रकार रहेको छ ।
• प्रमुख: दुर्गा प्रसाद चापागाईं
• उप-प्रमुख: लक्ष्मी अधिकारी तिम्सिना
• सचिव: जनक राज खड्का
• सह-सचिव: खुस्बु नेपाल
• कोषाध्यक्ष: नकुल लामिछाने
• सह-कोषाध्यक्ष: मन्जु सापकोटा
• सदस्यहरू:
◦ भैरव बहादुर कार्की
◦ दिपक भट्टराई
◦ केशव गौतम
◦ बिष्णु उप्रेती
◦ नम्रता पाठक
◦ गीता कार्की
◦ देवि खरेल पाण्डे
◦ बिन्दा खड्का बुढाथोकी
◦ बिनिता बराम
यस नवगठित कार्यसमितिले इजरायलमा रहेका नेपाली समुदायको हितका लागि सक्रिय रूपमा कार्य गर्दै रास्वपाका आदर्शहरूलाई अझ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com