जेरुसेलम, २०८२ साउन ३२ गते (१७ अगस्ट, २०२५) – गाजामा हमासको बन्धकमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि नेपालबाट आउनु भएकी उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आज इजरायलका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नुभएको छ । इजरायलका लागि नेपालका महामहिम राजदूत श्री धन प्रसाद पण्डितको साथमा उहाँहरूले इजरायलका महामहिम राष्ट्रपति आइज्याक हर्जोग र इजरायली संसदका अध्यक्ष एच.ई. मिस्टर अमिर ओहाना सँग शिष्टाचार भेटघाट गर्नुभएको हो ।
इजरायली राष्ट्रपति संगको भेटमा विपिनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति आइज्याक हर्जोगसँग प्रत्यक्ष भेट गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । आमा पदमाले आफ्नो छोरा विपिनको शीघ्र रिहाईका लागि पहल गरिदिन हार्दिक अनुरोध गर्नुभयो । बहिनी पुष्पाले दाजु विपिन एक विद्यार्थीको रूपमा इजरायल आएको र उनी निर्दोष हुनुभएकाले हरतरहबाट पहल गरी हमासको बन्धकबाट मुक्त गरिदिन राष्ट्रपति समक्ष अपिल गर्नुभयो । सोही वार्तामा महामहिम राजदूत पण्डितले पनि विभिन्न तवरबाट पहल गरी विपिन जोशीको स्थितिको बारेमा जानकारी गराई दिन विशेष अनुरोध गर्नुभयो ।
जवाफमा राष्ट्रपति हर्जोगले विपिन जोशी एक विद्यार्थीका रूपमा आएको र ०७ अक्टोबर २०२३ मा भएको हमासको अचानक आक्रमणमा परी गाजामा हमासले बन्धक बनाएको विषय अब नौलो नरहेको बताउनुभयो । उहाँले विपिनलाई एक असल मित्रवत सम्बन्ध भएको देशको नागरिक र आफ्नै नागरिक जस्तो लाग्ने बताउँदै विपिनको रिहाईका लागि आफू र आफ्नो सरकारबाट हरदम कोशिस भइरहेको जानकारी दिनुभयो । राष्ट्रपतिले इजरायली सरकार पक्षबाट भरमग्दुर प्रयास भइरहेको अवस्थामा नेपाली सरकार पक्षबाट पनि यस सम्बन्धमा सम्बन्धित अरब देशहरूसँग पुनः वार्ता हुन सके विपिनको रिहाईमा थप बल पुग्ने वा उनको अवस्थाको बारेमा यथार्थ पनि आउन सक्ने विचार व्यक्त गर्नुभयो ।
संसद अध्यक्षसँगको भेट र इजरायली चासो
जोशी परिवार र राजदूतले आजै इजरायली संसदका अध्यक्ष मिस्टर अमिर ओहानासँग समेत भेटघाट गरी विपिन जोशीको हमासबाट मुक्तिका लागि जोड गरिदिन आग्रह गर्नुभयो । अध्यक्ष अमिरले विपिन जोशीका बारेमा आफूहरूलाई निकै चासो रहेको र उनको खोजी कार्यमै रहेको बताउनुभयो । उहाँले नेपाल-इजरायल सम्बन्ध न्यानो र मित्रवत भएको धरातलमा विपिनको रिहाईको मामिलाले सम्बन्धलाई थप कसिलो बनाएको उल्लेख गर्नुभयो । उहाँले विपिन लगायत सबै बन्दीहरूको रिहाईका लागि इजरायलबाट जोडदार पहल भइरहेको जानकारी दिनुभयो । कुराकानीमा उहाँले हालै नेपालका समकक्षीसँगको जेनेभामा भएको भेटमा विपिनको बारेमा कुरा भएको र उनको रिहाईका सम्बन्धमा दुवै सरकार पक्षबाट अनवरत प्रयास भएको समेत स्मरण गराउनुभयो ।
हाल बन्धक विपिनका आमा र बहिनी महामहिम राजदूतका साथ इजरायलको राजधानी जेरुसेलममा विभिन्न सरकारी उच्च पदस्थ पदाधिकारीहरूसँगको भेटघाटको क्रममा हुनुहुन्छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com