इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीकी आमा र बहिनीले सँग भेट गरेका छन । जेरुसेलमस्थित प्रधानमन्त्री कार्यालयमा बन्धक मामिलासम्बन्धी सल्लाहकार गार्ल हार्थलगायतको टोलीसँग प्रधानमन्त्री नेतान्याहुले भेट गरेका हुन्। सन् २०२३ को अक्टोबर ७ मा हमास समूहले गाजामा बन्धक बनाएका कञ्चनपुरका बीपीन जोशीको अवस्था अझै अज्ञात छ । २२ महिनाको लामो पर्खाइपछि बल्ल साहस बटुलेर, आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायलको भूमीमा पाइला टेकेका हुन् । यो केवल एक देशबाट अर्को देशको यात्रा थिएन, यो त एउटा छोरा र भाइको खोजीमा निस्किएको आशा र प्रेमको अनवरत यात्रा थियो।
प्रधानमन्त्रीको कार्यालयमा एक मार्मिक भेट
सोमबार इजरायल पुगेका पद्मा र पुष्पाले मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग करिब आधा घण्टा (वा पौने एक घण्टा) भेटघाट गरेका छन् । जेरुसेलमस्थित प्रधानमन्त्री कार्यालयमा भएको यो भेटमा नेपाली राजदूत धनप्रसाद पण्डित पनि सँगै हुनुहुन्थ्यो । भेटघाट कक्षमा ‘नमस्ते’ भन्दै प्रवेश गरेका प्रधानमन्त्री नेतान्याहुले तीनै जनासँग हात मिलाएका थिए । जापानी राजदूतसमेत प्रतिक्षारत रहँदा पनि प्रधानमन्त्रीले बीपीनको परिवारलाई प्राथमिकता दिएको कुराले यस भेटको गम्भीरता र संवेदनशीलता प्रस्ट पार्छ ।
यो भेट केवल एक औपचारिक कुराकानी थिएन । पद्माको हातमा बीपीनको तस्बिर देखेपछि प्रधानमन्त्री नेतान्याहुले त्यो तस्बिर मागेर गहिरोसँग नियाले । अनि भने, “विपीन नभएको भए त्यसदिन हमासबाट त्यहाँ थप ८-१० जनाको ज्यान जान सक्थ्यो, तर विपिनले उनीहरूको ज्यान जोगाए। त्यसैले, विपिन साहसी र वास्तविक हिरो हुन्।” उनले बीपीनलाई इजरायलीहरूले ‘रोल मोडल’ का रूपमा चित्रण गरेको समेत बताए । यो शब्दले बीपीनको वीरतालाई मात्रै होइन, इजरायली जनताको मनमा उनको स्थानलाई पनि उजागर गर्छ।
पीडाको साझा पुल र नेतान्याहुको आश्वासन
प्रधानमन्त्री नेतान्याहुले पद्मा र पुष्पालाई बीपीनको खोजीका लागि हरसम्भव प्रयास भइरहेको आश्वासन दिए। उनले भने, “हमासले बन्धक बनाएका सबैजना इजरायलका लागि समान छन्। बन्धकहरूलाई रिहा गर्ने सवालमा हामीले स्वदेशी–विदेशी भनेर भेदभाव गरेका छैनौँ।” उनले हमासको कब्जामा अझै ५० जना बन्धक रहेको र तीमध्ये कतिपयको मृत्यु भइसकेको जानकारी भए पनि, बीपीनबारे त्यस्तो कुनै जानकारी नआएको बताए ।
यो भेटमा सबैभन्दा मार्मिक क्षण तब आयो, जब प्रधानमन्त्रीले आफ्नै पीडा पुष्पालाई सुनाए । पुष्पाले आफ्नो दाजु अपहरित भएपछि लामो समयसम्म केही सोच्नसक्ने अवस्थामा नरहेको बताउँदा, नेतान्याहुले आफ्नो दाजु जोनाथनको कथा सुनाएका थिए, जो १९७५ मा प्यालेस्टिनी अतिवादीबाट बन्धकहरूलाई छुटाउने क्रममा मारिएका थिए । “आफ्नो दाजुभाइ मारिँदा वा वेपत्ता हुँदाको पीडा कस्तो हुन्छ, त्यो मलाई थाहा छ,” नेतान्याहुले भने, “यस हिसाबले तपाइँका दाजु विपिन बेपत्ता हुँदा कस्तो पीडा भइरहेको छ, म सहजै बुझ्न सक्छु।” यसले दुई फरक देशका व्यक्तिहरूलाई एउटै मानवीय पीडाको धागोले जोडेको थियो।
आशाका लागि अन्तर्राष्ट्रिय सहकार्यको आह्वान
नेपाली राजदूत पण्डितका अनुसार, बीपीनको परिवारले राष्ट्रपति आइज्याक हर्जोग, सभामुख अमिर ओहाना, परराष्ट्रमन्त्री गिदोन सा’आर, प्रधानमन्त्रीका सल्लाहकारहरू र इजरायली रक्षा बलका प्रमुख जनरल रव अलुफ इयाल जमीरसँग पनि भेट गरेका थिए । सबैले बीपीनको रिहाईका लागि इजरायल र अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री नेतान्याहुले बीपीनको रिहाईका लागि इजरायल र नेपाल मात्र होइन, अन्य मुलुकको साथ पनि आवश्यक रहेको औँल्याएका छन् । उनले नेपालको सबै मुलुकसँगको सुमधुर सम्बन्धको उपयोग गर्दै, विशेषगरी हमाससँग सम्बन्ध भएका अरब मुलुकहरूसँग समन्वय गर्न सुझाव दिए । साथै, संयुक्त राष्ट्रसंघको मञ्च प्रयोग गर्न पनि सकिने उनको भनाइ थियो । यो आह्वानले बीपीनको रिहाईको मुद्दालाई विश्वव्यापी मानवीय सरोकार को रूपमा स्थापित गर्छ।
पद्माले प्रधानमन्त्री नेतान्याहुसँग “विपीनको कसैसँग शत्रुता थिएन, पढ्नका लागि भर्खर इजरायल आएको विद्यार्थीसँग शत्रुता हुने कुरा पनि थिएन” भन्दै उनको शीघ्र रिहाईका लागि वातावरण बनाइदिन आग्रह गरेकी थिइन् । यस यात्राले बीपीनको परिवारले आफ्नो छोरा र भाइलाई फर्काउनका लागि गरेको अथक प्रयासलाई मात्र होइन, मानवीय संवेदनशीलता र कूटनीतिको अदृश्य शक्ति लाई पनि देखाएको छ। यद्यपि बीपीनको अवस्था अझै अनिश्चित छ, तर यो भेटले परिवारमा एउटा सानो आशाको दियो बालेको छ, जुन दियोले अँध्यारोमा हराएका हरेक बीपीनको बाटो उज्यालो पार्ने प्रेरणा देओस्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com