दीप्स शाह
deepssanu@gmai।.com
काम भनेको सबै नै गारो हुन्छ । कुनै काममा मानसिक तनाव ज्यादा हुन्छ त कुनैमा शारीरिक कष्ट बढी तर हुन त सबैमा केही न केही गारो त हुन्छ नै । तर सबैलाई अप्ठ्यारा र समस्या आफ्ना जटिल लाग्छन् भने सुविधा र रमझम अर्कैको धेरै लाग्छ ।
विशेष पैसाकै निमित्त देश छोडेर टाढिएकाहरूको सवालमा र अझै न्यून कमाइमा कष्टकर शारीरिक श्रम विनिमय गर्ने अदक्ष या अर्धदक्ष कामदारको हकमा भन्ने हो भने काम काम मात्र नभएर सजाय जस्तो बन्न पुग्छ । जिन्दगीको लम्बाइमा भन्ने शब्द कसले निर्माण गर्यो होला भोगाइको शब्दकोशमा? यही साढे तिन अक्षरको बाध्यताले मान्छेलाई हुत्याउदै भूगोलको कुन कुन दिशामा लघार्छ र हामी उनिन्छौँ तिखो झिरमा विवश माछा उनिएझैँ अनेक कष्ट साध्य कामनामाको सुइरोमा ।
सामान्यतया काम भनेपछि कुनै निश्चित समयावधिको लागि तोकिएको स्थानमा कसैबाट निर्दिष्ट कर्तव्य पुरा गर्नु हो । चाहे त्यो सडकमा साबेल,पिक चलाउने होस्, डोकोमा इँट बोकेर बिल्डिङ नामको सगरमाथा चढ्नु होस्, ढोकामा उभिएर पहरा दिनु होस् या अशक्त बिरामी कुरेर उसको मृत्यु मंचन हेर्नु नै किन नहोस् । यस्ता तमाम काम मध्ये अधिकांश अझै भनूँ लगभग सबै काममा केवल काम र दामको सोझो साइनो हुन्छ । काम गर, पैसा थाप । तोकिएको समय कटाऊ र बिदा होऊ । त्यहाँ केवल श्रमको मूल्य तोकिएको हुन्छ ।
अधिकांश श्रम बेच्ने हामी श्रमिक हर्को सवालमा विशेष निकै पहिले देखि आउजाउ हुने ठाउँ ‘खाडी’ मुलुकमा जाने श्रमिक दाजुभाइहरूको हकमा यो देखिन्छ कि तोकिएको समयावधि मा जस्तोसुकै कष्ट साध्य काम किन नहोस् , पुरा गरेर आफ्नो पारिश्रमिक थापेर हाँसाहाँसी घर फिर्छन् । त्यहाँ उनीहरूको केवल तोकिएको काम सँग साइनो हुन्छ र त्यसैसँग सम्बद्ध श्रमको मूल्य तोकिएको हुन्छ चाहे त्यो श्रमको तुलनामा ज्यादै न्यून पारिश्रमिक दिएर चरम अन्याय गरिएको किन नहोस् । यही अवस्था केयरगिभर नामको काममा पनि हुन्छ । उसरी नै श्रमको मूल्य तोकिएको हुन्छ तर यहाँ उठाउन खोजिएको कुरो के हो भने दुनियाँमा श्रमको मूल्य भयझैँ मानवीय समवेदनाको कुनै मूल्य हुँदैन/ हुनै सक्दैन।
लामो बिछोडपछि, बर्षौको कहालीलाग्दो एकाङ्की रातहरू र निस्सार दिनहरू पछि सुटकेसमा मनचाही उपहार, खल्तीमा धेरथोर पैसो र हृदयमा उकुसमुकुस उल्लास अनि अनुहारमा आभायुक्त लालीगुराँस बोकेर आफ्नाहरूलाई भेट्न, आफ्नो माटो टेक्न फर्किँदै गर्दा पनि अधिकांश केयरगिभर नेपाली अनुहारहरू गहभरि आँसु र मनभरि नजानिँदो विषाद बोकेर फर्किन्छन् ,यो कस्तो विडम्बना!! जबकि एकाधबाहेक खास गरी इजरायलमा कार्यरत नेपालीहरूले काम दाम या सुरक्षाको नाममा कुनै पनि अनावश्यक अवस्थासँग सम्झौता गर्नु पर्दैन । उनीहरूले काम गरे अनुरूप पाउनुपर्ने सबै खाले सुविधा र पारिश्रमिक पाएकै हुन्छन् तर पनि फर्किँदा आँखामा आँसु हुन्छ किन?
घरदेखि हुत्तिएर टाढा निकै टाढा पुगे देखि कुनै एक रोगी वृद्ध/वृद्धा को को स्याहारमा चौबिसै घण्टा लागि पर्ने केयरगिभरहरु समय र अवस्था सँगै एक कामदार मात्र नरहेर एक नर्स, सिकारु डाक्टर, आपतकालीन सहयोगी यन्त्र, सामान्य सुसारे, एक अतीव प्रिय आफन्त र यदाकदा ‘भगवान्’ समेत बनिन्छन् ।
अत्याधुनिक युगको अति व्यस्त समयले आफ्नाहरूलाई हुत्त्याएर एक्लाइएका अशक्तहरूको एक सुसारे मात्र नभएर सबै थोक र सबसे नजिकको आफन्त साबित भइदिन्छ्न । र अधिकांश रोगीहरू तिनै केयरगिभरको हातको अन्तिम थोपा पानी पिएर उनैका काखमा इहलीला समाप्त गर्छन् । यसरी देख्दादेख्दैको परदेशी अन्नदाता हिँडदै, बोल्दै डुल्दै , हर रात एक छानामुनि रहँदा, हर छाक खाना एउटै टेबुलमा खाँदा कति बेला थाहै नपाइ हृदयको एक अभिन्न ‘आफ्नो’ बनिसकेको हुन्छ र हेर्दाहेर्दै आफ्नै काखमा असह्य पीडामा छटपटाउँदै सुटुक्क संसार छोडिदिन्छ । त्यस बेला आफूले पाउने हर सुविधा र पारिश्रमिकको साथ अतिरिक्त जेसुकै पाए पनि उसलाई बिदा गर्दा हृदयको अति संवेदनशील पाटो चर्किन्छ र आँखाबाट आँसु ओइरिदिन्छ किनकि त्यहाँ त्यस बेला सम्म थाहै नपाई जुन मानवीय समवेदना टुसाएर झाँगी सकेको हुन्छ त्यसको कुनै भरपाई, कुनै मूल्य हुँदै हुँदैन ।
जागिरको यही सबसे कठिन मोडमा उभ्याइदिएको छ क्रूर समयले आज मलाइ । लगातार चार वर्ष एकै छानामुनि रात बितायौँ चिपोरा र मैले । एकै टेबलमा खायौँ, सँगै बाहिरको बगैँचामा फूल रोप्यौँ र गफिँदै पर बेनगुरियनको छातीबाट चिप्लिँदै उडेका भीमकाय हवाईजहाज हेर्यौं । आफ्नो समयमा अति सुन्दर रूप परेकी चिपोरा इजरायलजस्तो शक्तिशाली विकसित देशको मन्त्रालयमा अन्वेषक जस्तो काम गरेकी, इजरायली बौद्धिक समूहमा आबद्ध रहेकी तीक्ष्ण दिमागी आधुनिक सफल महिलासँग लामो समय रहँदा धेरथोर पैसो त कमाएँ नै साथसाथै उनका अनुभव र भोगाइबाट निस्केका ती दृढ सोच, त्यो अमूल्य जीवनप्रतिको धारणा र स्वाभिमानका अनन्य गहना मैले हासिल गरेँ जसको मूल्य कुनै पनि जागिरबाट हात लाग्ने धनराशिमा तुलना हुनै सक्दैन । केवल एक सुसारेको महसुस हुन नै नदिने चिपोराले सेक्सपियरका कुरा झिक्दा म सिल्भिया प्लाथको प्रसङ्ग निकाल्थेँ । उनले रुसी क्रान्तिको कुरो गर्दा म डायस्पोराको उद्गम प्रसङ्ग उधिन्थेँ । उनले क्यानडाको हरियाली सम्झँदा म नेपालकै सगरमाथा गफिन्थेँ ।
यस्तो लाग्थ्यो हामी आमै नातिनी हौँ, हामी स्कुल कलेजका सहपाठी हौँ र कहिले लाग्थ्यो एकै अफिसका कर्मचारी जस्तो । हाम्रा कुरा गरेका विषय मिल्थे, स्तर मिल्थे र मिल्थ्यो हार्दिक सम्मान । उनैको साथमा मैले इजरायलको खेरमोंनको हिउँ खेलेँ । जेरुसलेमको पातलो जङ्गल नियालेँ र कोतेलको भित्तोमा प्रार्थना गरेँ । एलातको डल्फिनसँग पौडी खेलेँ अनि तिमना पार्कको सुन्दरता नियालेँ । उनैको पछि लागेर मिज्पे रमोनको विशाल क्राटर मरुभूमिको स्वतन्त्र छाती विचरण गरेँ र हाइफाको अद्भुतता दृष्यपान गरेँ । उनैको हात समातेर किन्नेरेतको पानीमा तैरिएँ अनि मृत सागरको कालीमाटीमा लटपटिएँ । उनीसँगै मुस्कुराउँदै इजरायलका तारे होटेलका आनन्द लिएँ र डुलेँ सांगोपांगो इजरायल । जीवनमा सधैँ आशावादी रहेर संसारलाई नियाल्ने यिनै अन्तरमुखी स्वाभिमानी सफल महिलासँग जीवन बुझ्दै र तलब थाप्दै चार वर्ष बिताउँदा मैले सोचेकै थिइन त्यस्तो अग्राखजस्तो शरीर यसरी खोक्रिँदै थलिन्छ भनेर । सोच्नै भ्याएको थिइन त्यस्तो चमचमाउँदो सूर्य जस्तो तेज यसरी क्रमशः मधुरो हुँदै जाला भनेर ।
भूमध्य सागरको पानीमा म लरबराउँदा मलाइ समात्ने हात आज केवल छालले मोरिएको हड्डी बनेर थर्थराइ रहेछन् मेरै सामु कति कमजोर बनेर ।
“why your eyes are teary?” भनेर मेरो हरेक उदासीमा नियाल्ने आँखाहरू मलाइ नै नाचिने जस्तरी अनौठो हेर्छन् भित्र कता कता खोपिल्टामा भासिएका गुच्चा जस्तो बनेर । त्यो बलियो सिङ्गो ज्यान केवल एक बोरा आलुजस्तो लडिरहेछ मेरै सामु र घरीघरी थर्थराउँदै मेरा हात समात्न आइपुग्छ ती हात र सुनिन्छ आवाज,”आत अल्यादी?(तिमी मेरो छेउमै छौ?)” । मलाइ थाहा छ म र चिपोरा दुवै मौन मौन मृत्यु कुरिरहेछौँ । तर म बेकारको भरोसाको पुल बाँध्न खोज्छु,” चिपोरा! हिए आकोल बेसेदर।” सबै ठिक हुन्छ” । तर यो त हामी दुवै जान्दछौँ कि केही पनि ठिक हुनेवाला छैन ।
मैले चिपोरलाई स्याहारे मुताबिक हरेक महिना तोकेबमोजिम तलब पाएको छु र उनले म बाट आवश्यक रेखदेख पाएको आफ्नो ठाउँमा छ । आफ्नोहरूबाट टाढा रहँदा मेरो राजाको अँगालोले दिने न्यानो र सुरक्षित आभास, मेरो आमाको मिठो ममत्व र मेरो सानुको बदमासीले दिने प्रफुल्लता र मिठो हैरानी अनि मेरो देशले दिने स्वामित्वको न्यानोपन त दुनियाँको कुनै विलासिता या उपलब्धिसँग तुलना हुनै सक्दैन । तर ती सारा अपूरोपनलाई निकै हदसम्म पूर्ति गर्ने चिपोराको आफ्नोपन र सामिप्यताले मलाई यति धेरै नजिक बनाइसकेको रहेछ , यति कमजोर बनाइसकेको रहेछ । मलाइ समातेर लम्किने मान्छेलाई विवश र लाचार देख्छु र व्हिल्चियरमा राखेर धकेल्छु , अनायासै मेरा आँखाहरू सुटुक्क रोइरहेका हुन्छन् यो आभासमा कि कुनै पनि बेला हामी अलग्गिँदै छौँ । र यिनको मृत्यु हेरेर म फर्किनेछु एक भग्न मन बोकेर ।
यो सारा अनुभूति, हृदयको न्यानो उष्म, यो समवेदनाको कुन बिन्दु हो म परिभाषा गर्न सक्दिन । यो अव्यक्त आफ्नोपन, यो समयले या नियतिले जोडिदिएको आत्मीयताको कुनै मूल्य हुन्छ र! “आज के लेख्यौ?” भनेर सिर्जनामा जति बेलै मलाइ उचाल्ने मेरो कुनै जन्मको साक्षात् र यस जन्मको अघोषित ‘आमा’ यस बेला यी पङ्क्ति लेखिरहेको बेला मुस्किलले श्वास तानिरहेको हेर्दै छु र अर्को पोइन्ट अक्सिजनको मात्रा थप्दै छु ।
……………….र सोची रहेछु काम, पैसा र जिम्मेवारी भन्दा परको यो मानवीय समवेदनाले यसरी आक्रान्त बनाउँछ र यसै कारण केयरगिभरको अरू सबै खाले काम भन्दा कठिन छ / हुन्छ ।
इजरायल प्रवासमा बिभिन्न संघ संस्थामा रहेर सामाजिक, साहित्यिक अनुभव संगालेकी दीप्स शाह कवि तथा साहित्यकार हुन् उनको पहिलो प्रकाशित कृति आगो कविता संग्रह हो ।