भगवति बस्नेत
इजरायल भूमध्य सागरको पूर्वी किनारमा अवस्थित देश हो । यसको उत्तरमा लेबनान, पूर्वमा सिरिया र जोर्डन तथा दक्षिण पश्चिममा मिश्र पर्दछ । इजरायल चारैतिर अरबी राष्ट्रहरूले घेरिएको संसारको एक मात्र यहुदी राष्ट्र हो । १४ मे १९४८ मा स्थापना भएको इजरायल एक सार्वभौम गणतन्त्र भएको देश हो ।
यस देशले आफ्नो स्थापनाको ६८ बर्ष मात्र पार गरेको छ । इजरायलको जनसंख्या ९० लाखको हाराहारीमा मात्र छ । इजरायलको कुल क्षेत्रफल २०,७०० वर्ग किलोमिटर छ । इजरायल संसारको त्यस्तो नवौँ देशभित्र पर्छ जसको आफ्नै स्याटलाइट सिस्टम छ । जसको प्रयोगले ड्रोन चलाइन्छ । इजरायलले आफ्नो स्याटलाइट सिस्टम कसैसँग पनि शेयर गर्दैन । इजरायलले आफ्नो देशलाई आवश्यक पर्ने ९३ प्रतिशत खाद्य पदार्थ आफै उत्पादन गर्ने गर्छन् । इजरायल खाद्यान्नमा लगभग आत्मनिर्भर छन् । इजरायलको मुख्य भाषा हिब्रु हो ।
यहाँको मुद्रालाई न्यु सेकल भनिन्छ । इजरायली बैङ्कद्वारा जारी गरेको नोट दृष्टिहीनहरूले पनि पहिचान गर्न सक्छन् किनभने यसमा ब्रेल लिपिको प्रयोग गरिएको हुन्छ । इजरायलका केटा वा केटीहरू हाई स्कूलको पढाई पूरा गरेपछि अनिवार्य रूपमा सैनिक सेवामा जानुपर्छ । केटाले ३ बर्षसम्म सैनिक सेवा दिनुपर्छ भने केटीले २ बर्ष सेवा दिनुपर्छ । इजरायलको वायुसेना संसारमा चौथो नम्बरको वायुसेना भित्र पर्छ । यहाँका सेनाहरू कुनै पनि हमला हुँदा त्यसको जवाफ दिने मात्र होइन । कुनै पनि दुश्मनलाई क्षणभरमा तहस नहस पार्ने क्षमता राख्छन् । अमेरिका, रुस र चीन मात्र यो देशभन्दा अगाडि छन् ।
इजरायल संसारको एक त्यस्तो देश हो, जसले आफ्ना देशको विभिन्न ठाउँमा शत्रुहरूले हानेका मिसाइल र विभिन्न क्षेप्यास्त्रहरूलाई आकाशमा नै नष्ट पार्ने मिसाइल आइरन डोम रक्षा प्रणालीसँग सुसज्जित छ ।
इजरायलले कहिले पनि कुनै पनि देश या सङ्गठनलाई मेरो देशमा आतङ्कवादी घटना या हमला नगर भन्ने गर्दैन तर इजरायलले यो भन्ने गर्छ ‘यदि कोहीले मेरो देशको एक नागरिक मर्र्यो भने तिम्रो देशमा पसेर एक हजार नागरिक मारिदिन्छु ।’
एक दशक भन्दा बढी इजरायलमा बिताउँदा धेरै अनुभव अनुभूति बटुलियो । मैले इजरायलमा आएर सिकेको सबैभन्दा राम्रो कुरा कामको सम्मान हो गर्न हो । जस्तोसुकै काम होस् कामको सम्मान गरिनुपर्छ । इजरायलमा वैदेशिक रोजगारमा आउने नेपालीहरूले गर्ने काम भनेको कृषि र केयरगिभरको क्षेत्रमा हो । अहिले मैले यहाँ गरिरहेको काम केयरगिभर हो । केयरगिभर पनि लिभ इन र लिभ आउट दुई प्रकारको काम हुन्छ । लिभ आउट केयर गिभर गर्नेहरूले बिहान काममा गएर बेलुका आफ्नो अपार्टमेन्टमा फर्किन सक्छन् । लिभिङ केयरगिभरहरुले आफ्नो तोकिएको काम सकेर कोठामा फर्कन पाइँदैन । जुन घरमा काम छ त्यही घरमा खाने, बस्ने, सुत्ने व्यवस्था हुन्छ । केयर गिभरको काम एक प्रकारले अस्पतालका नर्सहरूको जस्तै हो । घरको सरसफाइ गर्ने, खाना बनाउने, आफूले हेरविचार गरिरहेका व्यक्तिहरूलाई बिहान–बेलुका घर बाहिर घुमाउन लाने यी सामान्य कुरा केयर गिभरले गर्नुपर्ने काम हुन् ।
इजरायलमा रहँदा बस्दा धेरै अनुभवहरू बटुलियो । इजरायल नेपालभन्दा धेरै सानो राष्ट्र त्यसमा पनि चारैतिरबाट दुश्मन देशहरूले घेरिएको छ । यस्तो अवस्थामा पनि यस देशले आफूलाई सुरक्षित राखी विकास र प्रविधिमा उत्कृष्टता देखाएको पाइन्छ । त्यस्तै देशभक्तिको पाठ पनि सिकियो । यहाँका जनताले आफ्नै मेहनत र परिश्रमले मरुभूमिलाई हरियाली बनाएका छन् । हाम्रो देश नेपाल जहाँको उर्वर भूमिमा मेहनत र परिश्रम रोप्ने हो भने सुन फल्छ भन्ने कुरा इजरायलको कृषि क्षेत्रको घुमघामबाट मैले अनुभव गरे । इजरायलीहरू आपसमा लडाइँ–झगडा गर्दैनन् र कानुनको अक्षरशः पालना गर्छन् । परेको बेलामा देशका लागि एकजुट हुन्छन् ।
आफ्नो देशबाट बाहिर आएपछि आफ्नो देशको भाषा, संस्कृति, कला, साहित्यप्रति अझ बढी जागरूक भएर लागियो । संसार बुझ्नलाई एकपल्ट सबैले आफ्नो देश छोड्न पर्ने रैछ भन्ने लाग्यो । इजरायल महिलाहरूका लागि सुरक्षित र आकर्षक गन्तव्य हो । आम्दानीको हिसाबले पनि यहाँको कमाइ राम्रो छ । इजरायल महिलाहरूको लागि सुरक्षित छ । र, यहाँ महिलाहरू हिंसा अनि शोषणमा पर्ने गरेका छैनन् ।कामदारहरूलाई राम्रो तलब, बोनस अनि बिदाका सुविधाहरू छन् । वर्षमा १२ दिन बिदा पाइन्छ, नेपाली चाडको ९ दिन बिदा पाइन्छ । बिदामा ननिस्किँदा बिदाको सट्टा पैसा पाइन्छ । समग्रमा इजरायलको रोजगारी राम्रो छ । इजरायलमा खास गरी अहिले पनि थुप्रै नेपाली कृषि प्रशिक्षार्थी कामदारका रूपमा विभिन्न किसिमका कृषि तालिम लिइरहेका छन् । इजरायलमा विशेष गरेर कृषि विषय पढ्न आउन चाहनेहरूका लागि राम्रो छ ।
इजरायलीहरू बेला–बेलामा भन्ने गर्छन् ‘इजरायलसँग पहिले केही थिएन, न खानी थियो न पानी । हामीले धेरै दुःख कष्ट झेल्यौँ । हामीसँग केही थियो केही मेहनती मानिस थिए । आजको इजरायल कुनै स्रोतसाधनले बनाएको होइन, मानिसले बनाएको हो ।’ साँच्चै नै यही इजरायलको भूमिमा उभिएर आजको इजरायललाई हेर्दा, पानीसम्म नभएको देश इजरायलमा कृषिप्रधान मुलुकका विज्ञहरू आधुनिक कृषि प्रणाली सिक्न आइरहेका छन् ।
इजरायलको सामर्थ्य यति माथि पुगिसकेको छ जहाँ आज नेपाली युवा युवतीहरू इजरायलीका वृद्धबृद्धा, बालबालिका स्याहार सुसार गर्न कृषि काम गर्न ‘वैदेशिक रोजगारी’ मा लागिरहेका छौँ । यदि हामीसँग पनि यो देशका मानिसको जस्तो मेहनत लगन, देश बनाउने देशभक्ति, राम्रो नियम कानुन भएको भए, आफ्नै देशमा रोजगार पाएको भए आज हाम्रा देशका युवा शक्ति दिन दिनै घर खेत बन्दकी राखेर ऋण खोजेर विदेश लाग्नु पर्दैन ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
Our online portal serves as the heartbeat of the Nepali community in Israel. We don’t just deliver news—we share the stories of lives lived far from home, celebrate contributions, and spotlight the experiences and activities that make OUR COMMUNITY vibrant and strong..
Write us your story
info@nepalisrael.com
- नेपाल इजरायल डट कम (www.nepalisrael.com) मा उहाँको यो पहिलो लेख हो, यसबाहेक उहाँका अरु लेख रचना समाचार सम्प्रेषण भएको भेटिएन , नेपाल इजरायल डट कम भिजिट गर्दै गर्नुहोला । धन्यवाद !