गत अक्टुबर ७ मा शुरू भएको इजरायल हमास युद्ध रोक्न इजिप्टले गरेको प्रस्तावलाई दुवै पक्षले खासै वास्ता गरेनन् । तर, लामो समयसम्म एक अर्काको कट्टर दुश्मन रहेका उनीहरूले थप रक्तपात रोक्ने नयाँ कूटनीतिक बाटो अपनाउन सकिने विषयलाई पनि नकारिरहेका छैनन् ।
इजिप्टले सोमवार दुई चरणमा युद्धविराम गर्न सुझाएको थियो । पहिलो चरणमा बन्धक छुटाउने र दोस्रो चरणमा गाजा क्षेत्रमा प्यालेस्टाइनी सरकार गठन गर्ने गरी प्रस्ताव पठाएको थियो । एसोसियटेड प्रेस (एपी)ले इजिप्टका एक उच्च अधिकारीलाई उधृत गर्दै उक्त प्रस्तावबारे समाचार प्रकाशित गरेको छ ।
आफ्नो नाम प्रकाशित नगर्ने शर्तमा ती अधिकारीले उक्त प्रस्ताव कतार, इजरायल, हमास, अमेरिका र युरोपियन सरकारहरूलाई बुझाएको बताएको एपीले दाबी गरेको छ ।
पछिल्लो समय इजिप्ट र कतार दुवैले इजरायल-हमास युद्धमा मध्यस्थता गरिरहेका छन् । यद्यपि अमेरिका भने इजरायलको पक्षमा देखिन्छ र युद्धका लागि इजरायली सरकारलाई सहयोग गरिरहेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने उक्त प्रस्तावबारे औपचारिक रूपमा केही बोलेका छैनन् । तर आफू नेतृत्वको लिकुड पार्टीका नेताहरूलाई भने उनले युद्ध अझै अघि बढ्न सक्ने बताएका छन् । गत ७ अक्टुबरमा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेर १२ सय भन्दा बढी इजरायली नागरिकको ज्यान लिएको थियो भने २ सय ४० जनालाई बन्धक बनाएको थियो ।
‘हामीले आउने दिनमा युद्धलाई अझै परिष्कृत बनाउँदै जानेछौं र लामो समयसम्म लड्ने छौं । युद्ध अहिल्यै समाप्त हुँदैन,’ प्रधानमन्त्री नेतान्याहूको भनाइ उदृत गर्दै एपीले लेखेको छ ।
उता हमासले पनि आक्रमणलाई तीव्र बनाएको छ । सोमवार अबेरसम्म पनि हमासले इजरायली भूमिमा रकेटहरू प्रहार गरिरहेको छ । इजरायलको दक्षिणी शहर एस्केलोनमा रातभरी साइरन बजिरहेको थियो । यद्यपि कुनै हताहती रिपोर्ट आएको छैन ।
हमासलाई निमिट्यान्न बनाउने उद्देश्य राखेर अघि बढेका बेला इजिप्टले गरेको प्रस्तावलाई नेतान्याहूले प्राथमिकतामा राखेका छैनन् । युद्ध सकिएपछि गाजा क्षेत्रमा सैन्य उपस्थिति बढाउने इजरायलको उद्देश्यलाई पनि इजिप्टको उक्त प्रस्तावले कुनै सहयोग गर्न सक्ने अवस्था नरहँदा इजरायलले युद्ध कायमै राख्ने देखिन्छ ।
तर प्रधानमन्त्री नेतान्याहूमाथि अहिले पनि हमासको नियन्त्रणमा रहेका १०० जना भन्दा बढी इजरायलीलाई छुटाउन तीव्र घरेलु दबाब छ । हमाससँग कुनै न कुनै डील गरेर ती बन्धकलाई छुटाउन इजरायली जनताले नै उनलाई दबाब दिइरहेका छन् ।
युद्ध अझै अगाडि बढ्छ भन्दै नेतान्याहूले संसदमा भाषण गरिरहँदा हमासले बन्धक बनाएकाहरूको आफन्तले विरोध गर्दै तत्काल बन्धक फिर्ता गर्नुपर्ने भन्दै ‘अहिल्यै रिहा गर !’ जस्ता नारा लगाइरहेका थिए ।
गाजाको जमिनमा सैन्य कारबाही गरिरहेको इजरायली सेनामा पनि हताहती बढिरहेको छ । सेनाले सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार सोमवारसम्म १ सय ५६ इजरायली सेनाले ज्यान गुमाइसकेका छन् ।
नेतान्याहूलाई आफ्नो सेनामा भएको क्षतिप्रति उदासीन रहेको आरोप लाग्ने गरेको छ ।
नेतान्याहूले आफ्नो ‘वार क्याबिनेट’को बैठक सोमवार अबेर बोलाएका थिए । त्यहाँ इजिप्टको प्रस्तावमाथि छलफल भएको हुन सक्ने मिडिया रिपोर्ट सार्वजनिक भएपनि आधिकारिक रूपमा सरकारको कुनै धारणा आएको छैन ।
यता हमासले पनि इजिप्टको प्रस्तावमा कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपि विगत १६ वर्षदेखि गाजा क्षेत्रलाई आफ्नो नियन्त्रणमा राखेको हमासले वेस्ट ब्यांकमा मात्र सीमित रहेको प्यालेस्टाइनको सरकार गाजामा पनि बिस्तार गर्न सहमत हुन सक्ने तत्काल कुनै सम्भावना देखिन्न ।
कतारमा रहेको मानिने हमासका एक वरिष्ठ अधिकारी इज्जत रिश्कले ‘आक्रमणको पूर्ण अन्त्य’ नगरी वार्ता नगर्ने समूहको अडान दोहोर्याउँदै एक विज्ञप्ति जारी गरेका छन् । उक्त विज्ञप्तिमा हमास ‘छोटो समयका लागि अस्थायी वा आंशिक युद्धविराम’मा सहमत नरहेको उल्लेख गरिएको छ ।
सोमवार माघाजी शरणार्थी शिविरमा उद्धारकर्मीहरूले अघिल्लो रातको आक्रमणबाट बनेको भग्नावशेषबाट शवहरू निकालिरहेका थिए । एसोसिएटेड प्रेसद्वारा देखाइएको नजिकैको अल-अक्सा अस्पतालमा १ सय व्यक्तिको मृत्यु भएको उल्लेख गरिएको छ भने यसलाई इजरायलको हवाई हमलाको सबैभन्दा घातक हमलाहरूमध्ये एक मानिएको छ ।
सोमवार उक्त अस्पतालको भ्रमण गरेका संयुक्त राष्ट्र संघको विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने ट्वीटरमा गरेको पोस्टमा भनिएको छ, ‘अस्पतालमा शय्या क्षमता र कर्मचारीले सम्हाल्न सक्नेभन्दा धेरै बिरामी आइरहेका छन् । धेरै बिरामी पर्खन सक्ने अवस्थामा छैनन् ।’
युद्धले गाजाको ठूलो भागलाई ध्वस्त पारेको छ भने २० हजार ६ सय भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ । लगभग २३ लाख मान्छेहरू यस युद्धका कारण विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रका अधिकारीहरूले इजरायलको घेराबन्दीका कारण गाजाका एक चौथाई जनसंख्या भोकभोकै रहेको भन्दै इजरायललाई आपूर्ति बढाउन चेतावनी दिइरहेका छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com