नेपाल इजरायल डट कम ।
युद्धविराम सम्झौताअनुसार गाजाबाट हमासले आज पहिलो चरणमा सातजना इजरायली बन्धकलाई रेडक्रसका अधिकारीहरूलाई हस्तान्तरण गरेको छ। इजरायली सेनाले यसको पुष्टि गर्दै भनेको छ, “सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गरिएको छ, रेडक्रस उनीहरूलाई गाजाबाट ल्याइएको छ।”
हमासले समाचार एजेन्सी रोयटर्सलाई पुष्टि गर्दै भनेको छ कि ती सातजना बन्धक रेडक्रसको जिम्मामा दिइएका हुन्। रेडक्रसका अधिकारीहरू गाजाको उत्तरी भागबाट बन्धकहरूलाई सुरक्षित रूपमा इजरायलतर्फ लैजाने क्रममा रहेका छन्।
इजरायली मिडियाका अनुसार फिर्ता गरिएका ती सात बन्धकमा माटन आङ्ग्रेस्ट, उनका भाइहरू गाली र जिभ बर्मन, एलोन ओहेल, इटान मोर, ओम्री मिरान र गाय गिल्बोआ-दलाल छन्।
रेडक्रसले ती बन्धकहरूलाई गाजाभित्र रहेका इजरायली रक्षा फौज (IDF) को जिम्मामा लगायो, जसपछि उनीहरूलाई दक्षिणी इजरायलको रेइम नजिकै रहेको सैन्य सुविधामा स्थानान्तरण गरिनेछ। त्यहाँ उनीहरूको प्रारम्भिक स्वास्थ्य र मानसिक अवस्थाको परीक्षण गरिनेछ र पछि उनीहरूलाई परिवारसँग भेट गराइने द टाइम्स अफ इजरायलले जनाएको छ।
हमासले यसअघि आज रिहा गरिने २० जीवित बन्धकको सूची सार्वजनिक गरेको थियो, तर तीमध्ये दुर्भाग्यवश नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश गरिएको छैन। विपिनलाई अक्टोबर ७, २०२३ मा हमासले इजरायलको किब्बुज आलुमिमबाट अपहरण गरेको थियो, र हालसम्म उनको अवस्थाबारे ठोस जानकारी प्राप्त भएको छैन।
बन्धकहरूको फिर्ता प्रक्रिया अन्तर्गत रेडक्रसले उनीहरूलाई इजरायल ल्याएपछि प्रत्येकलाई विशेष ‘वेलकम किट’ दिइनेछ, जसमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनकी श्रीमती सारा नेतान्याहूले लेखेको सन्देश, ल्यापटप, मोबाइल, ट्याब्लेट र आवश्यक लुगाफाटा समावेश हुने बताइएको छ।
यो फिर्ता प्रक्रिया युद्धविराम सम्झौताअनुसारको पहिलो चरण हो। बाँकी बन्धकहरूको रिहाइका लागि आगामी दिनहरूमा थप चरणमा सम्झौता कार्यान्वयन गरिने अपेक्षा गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com







































