नेपाल इजरायल डट कम, इजरायल
कतारको राजधानी दोहामा इजरायल र हमासबीच गाजा युद्धविरामसम्बन्धी अप्रत्यक्ष वार्ता आइतबार पुनः सुरु भएको छ, जसले इजरायल गाजा युद्धमा शान्ति र आशाको झिनो किरण देखाएको छ। मानवीय संकटको चपेटामा परेका हजारौं मानिसहरूको जीवनलाई राहत दिने अपेक्षाका साथ यो वार्ता भइरहँदा, दुवै पक्षबीचका गम्भीर मतभेदहरू भने अझै कायम छन्।
इजरायलले शनिबार कतारमा हमाससँगको अप्रत्यक्ष वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको थियो। यो वार्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको अमेरिका प्रस्थानअघि प्रारम्भ भएको हो।प्रधानमन्त्री नेतान्याहूको कार्यालयले कतारको निमन्त्रणा स्वीकार गरेको पुष्टि गरे पनि, उनले हमासले मध्यस्थकर्ताहरू (कतार, अमेरिका र इजिप्ट) द्वारा प्रस्तुत योजनामा गरेका संशोधनहरूलाई ‘असंम्भव र अस्वीकार्य माग’ भएको टिप्पणी गरेका छन्।
प्रस्तावित सम्झौतामा ६० दिने युद्धविराम, १० जना जीवित इजरायली बन्धक र १८ वटा शवको चरणबद्ध रिहाइ, तथा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको रिहाइको प्रस्ताव छ।
हमासले यस योजनाप्रति सकारात्मक प्रतिक्रिया दिएको र वार्ताका लागि तयार रहेको बताएको थियो। यद्यपि, एक प्यालेस्टिनी अधिकारीका अनुसार, हमासले स्थायी युद्धविरामसम्बन्धी वार्ता असफल भएमा शत्रुता पुनः सुरु हुनबाट रोक्ने प्रावधानसहित केही परिवर्तनको माग गरेको छ। हमासले इजरायली सेनाको आंशिक फिर्ती, युद्धविराम अवधिमा पुनः संघर्ष नदोहरिने ग्यारेन्टी, र संयुक्त राष्ट्रसंघको खाद्यान्न वितरण प्रणाली पुनः लागू गर्नेजस्ता मागहरू पनि अघि सारेको छ। दोहामा सुरु भएको यस वार्ताले सम्भावित युद्धविरामका शर्त, बन्धक तथा बन्दीहरूको आदानप्रदान र गाजाको राफा नाका पुनः खोल्ने विषयमा केन्द्रित रहने बताइएको छ।
प्रस्तावित सम्झौतामा ६० दिने युद्धविराम, १० जना जीवित इजरायली बन्धक र १८ वटा शवको चरणबद्ध रिहाइ, तथा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको रिहाइको प्रस्ताव छ।
यता, युद्धग्रस्त गाजामा मानवीय अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। खाद्यान्नको चरम अभावले गर्दा स्थानीय नागरिकहरू जीवन धान्न संघर्ष गरिरहेका छन्। “हामी युद्धविरामको घोषणा होस् भन्ने आशामा छौं, मानिसहरू पीठोको लागि मर्नुपरेको छ,” भन्दै दक्षिण गाजाको खान युनिसबाट करिमा अल-रासले आफ्नो पीडा व्यक्त गरेकी छन्।
पेट्रोल अभावका कारण सार्वजनिक सेवाहरू पूर्ण रूपमा ठप्प हुने चेतावनी दिइएको छ। शनिबार मात्रै इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनी मारिएका छन्, जसमा खान युनिसको पश्चिममा विस्थापित परिवारहरू आश्रय लिएका टेन्टहरूलाई पनि इजरायली युद्धक विमानले निशाना बनाएको थियो। संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले खाद्यान्न वितरणका क्रममा ५०० भन्दा बढी नागरिकको मृत्यु भएको जानकारी दिएको छ। संयुक्त राष्ट्रसंघका अनुसार गाजामा हालसम्म ५७ हजार ४०० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, जबकि इजरायली पक्षमा अक्टोबर ७, २०२३ को हमलामा एक हजार २१९ नागरिकको मृत्यु भएको थियो।
दोहामा सुरु भएको यो वार्ताबाट दिगो युद्धविरामतर्फ प्रगति हुने आशा गरिएको छ। यद्यपि, दुवै पक्षबीचका गम्भीर मतभेदहरू अझै कायम रहेकोले चुनौतीपूर्ण देखिन्छ।
विश्लेषकहरूले यस वार्ताले दीर्घकालीन समाधानको मार्ग खोल्न सक्ने अपेक्षा गरेका छन्। इजरायल र हमासबीचको यो वार्ताले गाजाको उजाड भूमिमा शान्तिको बीज रोप्न सक्छ कि सक्दैन भन्ने कुरा आगामी दिनमा स्पष्ट हुनेछ।
हमासले बन्धक बनाएर गाजातर्फ लगेका बाँकी बन्धकहरुमा हाम्रा नेपाली नागरिक विपिन जोशी अझै रहेको विश्वास गरिएको छ । तय्सकारण पनि हाम्रा लागि शान्तिवार्ता हुनु धेरै महत्वपूर्ण छ । वार्ता र युद्धविरामका अनेकौ प्रयासहरु पहिलेपनि नभएका होइनन । आशा गरौं यसपटकको वार्ताले केही उपलब्धी हासिल गरोस ।
पीडा र अनिश्चितताका बीच पनि, वार्ताको टेबुलमा बस्नु आफैंमा एउटा आशाको सन्देश हो — जहाँ प्रत्येक जीवनको महत्त्व बुझियोस्, र युद्धको घाउमा मलम लगाउने प्रयास सफल होस्।दुवै पक्षले यो कुरा बुझुन र युद्ध विराम गरुन ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com