काठमाडौँ — इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर) मा पहिलो चरणमा छानिएका २ पुरुष र ११ महिला गरी १३ जना केयरगिभर इजरायल आइपुगेका छन । जिटुजि मार्फत एक हजार जना केयरगिभरलाई इजरायल पठाउन सुरु गरिएको हो । उनीहरुलाई इजरायलस्थित नेपाली राजदूत प्रा. धन प्रसाद पण्डितले विमानास्थलमा स्वागत गर्नु भएको थियो ।
राजदूत पण्डितले छनोटमा परेर इजरायल आउन सफल भएका केयरगिभरहरुलाई शुभकामना दिँदै इजरायलमा कार्यरत रहँदा सुरक्षित, अनुशासित र इमानदार रूपमा जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ।
प्यालेस्टिनी समूह हमाससँग इजरायको द्वन्द्व सुरु भएपछि रोकिएको केयरगिभर जानेक्रम फेरि सुरु भएको हो । इजरायलका लागि योग्यता पुगेर छानिएका ३ हजार ४ सय ६१ जनाको सूचीबाट लक्की ड्रका आधारमा २ हजार १ सय १२ जना छानिएका थिए । त्यसमध्ये पहिलो चरणमा एक हजार जनालाई पठाउन सुरु गरिएको हो ।
बुधबार बिहान शान्ति कार्की, दीपा रिजाल, वेनिमा प्रसाईं, मनीषा थेबे, कुमार राई, प्रेमबहादुर मगर, सपना अधिकारी, सिर्जना खड्का, प्रर्लिना ओली रावत, निशा भुजेल, अनु बरुवल, प्रतीक्षा घिमिरे र सिर्जना सापकोटा इजरायलको तेल अभिभस्थित बेन गुरियन विमनास्थल अवतरण गरेका छन् ।
बाँकेकी सपना अधिकारीले इजरायल जाने प्रक्रिया सुरु गरेको सात महिनापछि उड्न पाएको बताइन् । ‘हामीले साउनदेखि नै प्रक्रिया अगाडि बढाएका थियौं । यो हाम्रा लागि सुनौलो मौका हो,’ अधिकारीले भनिन् ।
नेपाली कामदारलाई त्रिभुवन विमानस्थलमा इजरायली राजदूत श्मुलिक आरी बासले बिदाइ गरेका थिए । उनले इजरायलमा नेपाली कामदारलाई सम्मानजनक व्यवहार गरिने बताए।
“यो भर्ना प्रक्रियालाई सफल बनाउन नेपाल र इजरायलले धेरै मिहिनेत गरेका छन्। साहसी नेपालीलाई इजरायलले स्वागत गर्नेछ,” उनले भने, “निर्भीक भएर काम गर्न सकिने वातावरण हुनेछ।”
उनीहरुले भने “हामीलाई कुनै दलाल खोज्नु परेन, “निम्न वर्गका लागि यो राम्रो प्रक्रिया हो। लगानी नगरी क्षमता अनुसार रोजगारी पायौं।” उनीहरुले इजरायल जान हवाई टिकटसहित १ लाख ७० हजार खर्च भएको बताए। त्यसमध्ये हवाई टिकटमा १ लाख ४८ हजार ९ सय रुपैयाँ खर्च भयो भने मेडिकल, ब्रिटिस काउन्सिल परीक्षा, श्रम स्वीकृति, बिमा र सामाजिक सुरक्षा कोषका लागि करीब २० हजार मात्र खर्च भयो ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा हाल १,३४५ नेपाली काम गरिरहेका छन्। उनीहरूले आफूहरू सुरक्षित रहेको बताएका छन्। केयरगिभरको न्यूनतम मासिक तलब ५,८८० इजरायली मुद्रा (करिब २ लाख २० हजार रुपैयाँ) तोकिएको छ। करार अवधि सुरुमा एक वर्षको हुन्छ, जसलाई अधिकतम पाँच वर्षसम्म लम्ब्याउन सकिन्छ।
इजरायलमा करिब १४ हजार दीर्घकालीन स्याहार केन्द्र छन्। गत भदौमा इजरायलले भारतबाट ५ हजार केयरगिभरसहित १५ हजार श्रमिक ल्याउने प्रक्रिया सुरु गरेको थियो।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com