नेपाल इजरायल डट कम, जेरुसलेम । यही सेप्टेम्बर ४ तारिख बुधवार इजरायलको राजधानी जेरुसलेममा रहेका नेपालीहरू भेला भई नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज कार्यक्रमलाई भव्य रूपले मनाए।
यस अघि नै इजरायलमा नेपालीहरूको उपस्थिति बाक्लो रहेको तेल अभिभ लगायत अन्य सहरहरूमा विभिन्न सङ्घ संस्थाहरूले तीजको अवसरमा रमाइला कार्यक्रमको आयोजना गरेका थिए तर जेरुसलेमको तीज कार्यक्रम भने कुनै पनि सङ्घ संस्था नभई स्व स्फूर्त रूपमा यहाँ कार्यरत दिदीबहिनी तथा दाजुभाइहरूले मिलेर आयोजना गरेका हुन् ।
जेरुसलेममा कार्यरत नेपालीहरूले ‘जेरुसलेम मेलमिलाप समूह‘ नामक एउटा समूह बनाएका छन् जहाँ जेरुसलेममा कार्यरत नेपालीहरू एक आपसमा सर सहयोग सुखदुख र आवश्यक जानकारीहरू आदानप्रदान गर्छन्, तीज कार्यक्रमको संयोजन यही समूह अन्तर्गत गरिएको थियो । अघिल्ला वर्षहरूमा पनि जेरुसलेममा भएका नेपालीहरूले यसरी नै कार्यक्रमहरू गर्दै आएका थिए ।
महिलाहरूको सङ्ख्या उल्लेख्य रूपमा रहेको इजरायलमा प्राय नेपालीहरू केयरगिभरको रूपमा कार्यरत छन् । इजरायल प्रवासको व्यस्तता र पारिवारिक वियोगको अवस्थालाई एकै छिन बिर्सिएर धेरै दिदीबहिनीहरु तीज मनाउन नाच्न गाउन र रमाउन उपस्थित भए । नेपालीपन र संस्कृतिक मोहलाई पछ्याउदै नेपाली भाषी या भारतीय नेपाली चेलीहरु समेत कार्यक्रममा सहभागी भएर उत्तिकै रमाएको देख्न सकिन्थ्यो ।
प्रवासमा पनि यसरी भेला भएर गाउँदा नाच्दा र नेपाली संस्कृतिका चाडपर्व मनाउँदा र नेपाली स्वादका परिकारहरू खाँदा हामी नेपालकै कुनै ठाउँमा छौँ जस्तो आभास हुँदो रहेछ, सहभागीहरूले सुनाए । यसले परदेशमा नेपाली नेपाली र नेपालीभाषी बिच आत्मीयता र सौहार्द्यता बढाएको अनुभव उनीहरूको थियो ।
युद्धको पीडा भुलेर हाँस्ने प्रयास
गत वर्ष हमासको अप्रत्याशित आक्रमणमा परी १० नेपाली विद्यार्थीहरू गुमाउनु परेको नमिठो पीडा हामी नेपालीहरूको छातीभित्र अझै विद्यमान छ । इजरायलमा रहेका नेपाली मात्र हैन सारा विश्वको लागि त्यो एउटा त्रासदीपूर्ण घटना नमेटिने घाउ बनेर बसेको छ ।
यद्यपि त्यो भयानक मृत्युको मुखबाट सकुशल बाँचेर फर्कन सफल भएका विद्यार्थीहरू जो जेरुसलेममा थिए उनीहरू पनि पीडा भुलेर तीजमा दिदीबहिनीहरू सँगै रमाउन आएका थिए ।
यो महान् चाड तीजले चेली र माइतीको सम्बन्ध र आत्मीयतालाई समेट्छ । परदेशमा पनि यसको अनुपम उदाहरण हामीले हिजो तीज कार्यक्रममा देख्न पायौँ ।
गोरखाका हिमाञ्चल कट्टेल र सल्यानका विधान सेजवाल उठेर हिँड्न र अलि अलि नाच्न पनि सक्ने भैसकेका रहेछन् । चेलीहरूको हौसला बढाउन उनीहरू नाचे पनि ।
दाङका प्रवीण डाँगीले अशक्त अवस्थामा अस्पतालमा रहँदा खाना बनाएर हातैले खुवाएको सम्झँदै दिदीहरू प्रभा घिमिरे र रिता छेत्रीलाई इङ्गित गर्दै भने उहाँहरू मेरो आमा दिदी जस्तै हुनुहुन्छ ।
थप उपचार अझै चलिरहेकै थियो, तथापि बिस्तारै हिडदै कार्यक्रम सहभागी भएर रमाएका र नाच्न उठेका ती भाइहरू देखेपछि चेलीहरू भाव विभोर भए ।
विश्वको जुनसुकै भूगोलमा पुगे पनि आफ्नो संस्कृति परम्परालाई सदैव मिलेर जोगाइ राख्नु पर्ने सन्देश कार्यक्रमले दिएको थियो । अधिकांश दिदी बहिनीहरू गर गहनासहित लेहेंगा, सारीजस्ता मौलिक पहिरनमा सजिएर आएका थिए ।
नेपाल भन्दा हजारौँ माइल टाढा आएर यती धेरै नेपालीहरूको भेटघाट र तीज मनाउन पाउँदा खुशी लागेको अनुभव दिदी बहिनीहरूको थियो । नेपाली कला संस्कृति र परम्पराहरूलाई जोगाई राख्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि यस प्रकारका कार्यक्रमको महत्त्वपूर्ण भूमिका हुन्छ ।
सबै उपस्थित दिदीबहिनी दाजुभाइहरूले एक आपसमा तीजको शुभकामना बाँड्दै तीजको ‘दर’ स्वरूप सहभागीबाट पकाएर ल्याएका विविध परिकारहरू मासु, पुलाउ अचार, मिठाई लगायत विभिन्न प्रकारका परिकार खाएर नाच गान गर्दै तीज मनाइएको थियो ।
कार्यक्रममा तीजका गीतहरूमा महिला दिदीबहिनीहरूलाई उत्साह र प्रेरणा दिनका लागि पुरुषहरूको पनि नृत्यमा उत्साहजनक सहभागिता जनाएका थिए ।
नाचगान दर भोज र सांस्कृतिक प्रस्तुतिहरूसहित तीज कार्यक्रम जेरुसलेमको गान साकार पार्कमा सम्पन्न भएको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com























































