कृष्णपक्ष थापा, इजरायल (रातोपाटीबाट)
ए तिमी कुन देशबाट आएको रे ??
म निकै आश्चर्य र कौतुहलतापूर्वक “बेबिलोनका दुष्टात्मा भगाउने प्राचीन मन्त्रपात्रहरु” नियालिरहेको थिएँ । अचानक हाम्रो समूहको नेतृत्व गर्दै आएकी मार्गदर्शकको प्रश्नले झस्किएँ र हठात् मैले भने – नेपाल ।
म त अघिदेखि सोचिरहेकी थिएँ – शायद तिमी भारतीय हौ । तिम्रो देश नेपालको बारेमा त थाहा भएन तर दक्षिण भारतको कोची सहरबाट ल्याइएका केही दुर्लभ चित्र र हस्तलिपीहरु यहाँ हामीसँग छन् । यसो भन्दै उसले शताब्दियौं पुराना पाण्डुलिपिहरू भएको हलतर्फ इशारा गरी ।
गहिरो आँखा, बाक्लो दाह्री, अग्लो शरीर र गहुँगोरो वर्णको मेरो हुलियाले पनि उनलाई म भारतीय भएको भान भएको हुनुपर्छ । इजरायलमा नेपालीलाई भारतीय जस्तो भनेर झुक्किनु कुनै नौलो कुरा पनि होइन । त्यसमाथि भारतसँग इजरायलको सामीप्यका कारण आउन जान सहज भएकोले हामीमध्ये कतिपय नेपाली भएरै पनि भारतीय राहदानी बोकेर यहाँ प्रवेश गर्न बाध्य भएका थियौँ, त्यो भिन्न र पीडादायी कथाको चर्चा अरू कुनै समय गरौँला ।
‘तिमीले भनेको देशको छिमेकी हुँ म , भारत र चीनको बिचमा छ नेपाल । तिमीले माउन्ट एभरेस्ट र गौतम बुद्धको नाम त सुनेकी छौ नि ??’
आफू र आफ्नो देशको परिचय दिन म किन पछि पर्थेँ र ? मौका पाउने बित्तिकै मैले नेपालको बारे बताएँ ।
हामीहरू लगभग ४० जनाको समूहमा थियौँ । प्रत्येक भिजिटरलाई अलग अलग हेडफोन र मोबाइल आकारका अडियो डिभाइस दिइएको थियो ताकी संवाद या श्रव्य सामाग्रीहरू स्पष्ट सुन्न सकियोस् ।
पुस्तकालयको ठ्याक्कै अगाडी इजरायलको संसद् भवन थियो । के थाहा यहाँभित्र अहिले भर्खरै पनि मध्यपूर्व उथल पुथल हुनेगरी युद्ध र आक्रमणका ठुला ठुला निर्णयहरू भइरहेका छन् कि ? या शान्ति प्रक्रिया, बन्दी रिहाइ र युद्ध विरामका सम्बन्धमा आशालाग्दा घनीभूत छलफलहरू … सम्भावना दुवै थिए ।
संसद् भवनतिर लम्किएका बाटोहरूमा एक वर्षदेखि राजनीतिक प्रयासको उपहास गर्दै “उनीहरूलाई घर फर्काऊ ( Bring them home)” लेखिएका दबाबमूलक पोस्टरहरू अझै टाँसिएका थिए । ती पोस्टरहरू पनि आम नागरिकका आवाजजस्तै मधुरा र थोत्रा भइसकेका थिए ।
शब्दहरूको खजाना
बाहिर झरी परिरहेको थियो, हामी जेरुसलेमको राष्ट्रिय पुस्तकालयभित्र “शब्दहरूको खजाना” शीर्षक दिइएको विशेष प्रदर्शनी कक्षमा थियौँ ।
प्राचीनकालमा अक्षरहरू ढुङ्गामा कुँदिएका हुन्थे । काठका फलेकहरू, माटोका प्लेटहरू या जङ्गली पातहरूमा पनि कोरिएका हुन्थे ।इशारा, सङ्केत या चित्रका माध्यमबाट अभिव्यक्त हुने मानवीय भावनाहरु क्रमशः मानव सभ्यताको विकाससँगै अक्षर, शब्द हुँदै पुस्तकको आकारमा छापिन थाले ।
पुस्तकालयको विशेष कक्षमा पुगेपछि हामीले यस्ता रहस्यमय माटोका प्लेटहरू देख्यौँ जसको मध्य भागमा राक्षसजस्तो आकृति र वरिपरि वृत्ताकार परिधिमा अक्षरहरू कोरिएका थिए । जसमा लेखिएका मन्त्रहरूले शैतानी शक्ति, भूतप्रेत या दुष्ट आत्माहरूलाई नियन्त्रण गर्न या बाँध्न सक्थे भनेर विश्वास गरिन्थ्यो ।
पहिलो शताब्दीदेखि दशौँ शताब्दीको बिचमा बेबिलोमा यस्ता दुष्टात्मा भगाउने भाँडाहरू बनाइन्थे । कुनै यहुदी पण्डित या जादुगरले यसमा मन्त्र लेख्थे । ती बेबिलोनका जनताका घरका ढोका र आँगनमा उल्टो पारेर गाडिन्थे ताकी ती जादुमय भाँडामा शैतानी शक्तिहरू कैद होउन्, तिनका नकारात्मक ऊर्जा बाँधियुन ।
यस स्थायी प्रदर्शनीमा हामीले ढुङ्गा, माटो, धातु वा कागजमा कोरिएका हस्तलिखित अनेकौँ पाण्डुलिपिहरू अवलोकन गर्यौँ । ती निकै सुन्दर, आकर्षक र चित्रात्मक थिए ।
अक्षरहरूमा जादु हुन्छ , तिनमा शक्ति हुन्छ । मार्गदर्शकले हामीलाई बारम्बार बताउँदै “शब्दहरूको खजाना” विचरण गराइरहेकी थिइन ।
यहाँ हस्तलिखित पान्डुलिपि र पत्रहरू प्रशस्त थिए । हरेक यहुदी मन्दिरहरूमा आजसम्म पनि पवित्र ग्रन्थ ‘तोराह’ अनिवार्य रूपमा हस्तलिखित नै राखिएका हुन्छन् । क्रिश्चियन धर्मग्रन्थ बाइबल, यहुदी धर्मग्रन्थ तोराह र इस्लाम धर्मावलम्बीहरूको पवित्र ग्रन्थ कुरानजस्ता पुस्तकका अनेक हस्तलिखित संस्करणहरू यहाँ सङ्ग्रह गरिएका थिए । इस्लाम धर्म र संस्कृतिको प्रभाव यस क्षेत्रमा कति धेरै रहेछ भन्ने तथ्य यहाँ भेटिएका कुरान, अरबी र फारसी साहित्यका दुर्लभ कृतिहरूले उजागर गरिरहेका थिए ।
हस्तलिखित सामाग्रीहरूकै सेरोफेरोमा मैले काश्मीर वाट आयातित एक अर्को मनमोहक चित्र कथा देखेँ जसमा कुरानका आयातहरू कोरिएका थिए ।र सँगै थियो मनमोहक चित्र, जहाँ इस्लाम धर्मका प्रवर्तक नबी मोहम्मद बुराक नामको एक वायुपंखी घोडामा सवार भई जेरुसलेमको आकाशबाट स्वर्गतर्फ उडिरहनु भएको देखिन्थ्यो । उनको वरपर ७ स्वर्गदूतहरूका चित्र कोरिएका थिए ।
भनिन्छ – वायुपंखी बुराक प्रकाशको गतिमा उड्न सक्थ्यो उसको प्रत्येक पाइला क्षितिजसम्म पुग्थ्यो। नबी मुहम्मद एक दिन मक्काबाट बुराक चढेर टाढाको मस्जिद जेरुसलेमको ‘अल अक्सा’सम्म आउनु भयो र यहीबाट स्वर्ग प्रस्थान गर्नु भयो । आज यही ‘अल अक्सा’को मस्जिदको विषयलाई लिएर निकै ठुलो विवाद बढेको थियो र युद्धको रूप नै लिइसकेको थियो ।
मैले सोचेँ – यी विविध धर्म र संस्कृतिका कृतिहरू र तिनका सन्देशहरू यसरी एकै छानो मुनी यति सुन्दरताका साथ सजिन सक्छन् भने तिनलाई अङ्गालेर हिँड्ने मानिसहरूमा चाहिँ किन यति बिघ्न विभेद र घृणा विद्यमान छ ? किन बढिरहेको छ धर्म, संस्कृति र परम्पराको नाउँमा जातीय युद्ध र नरसंहार ?
लैला र मजनुको कथा
हस्तलिपिहरुकै लहरमा पारसी साहित्यको महान ग्रन्थ लैला मजनुले मेरो ध्यान खिच्यो । पश्चिमा साहित्यको रोमियो जुलियट वा हाम्रो नेपालको मुनामदन भनेजस्तै पूर्वीय साहित्यका प्रेमकथाहरूमा यो लैला मजनुको चर्चा नसुन्ने को होला र ?
ल हेरौँ यहाँ प्रेमपत्रहरु , लभ स्टोरी या प्रेमग्रन्थहरु छन् । हस्तलिखित पाण्डुलिपिहरू हेर्दै जाँदा प्रदर्शनीको अर्को कक्षमा पुगेपछि उनले भनिन । यी यता हेर त यहाँ “होदु”(भारतलाई इजरायलमा होदु भनिन्छ ) का केतुबा पनि छन्। केतुबा भनेको हिन्दु घर्ममा वेहुला बेहुलीले सात फेरा लिएजस्तै सम्बन्धमा गाँसिएपछि यहुदी दुलाहा र दुलहीले अपनाउनुपर्ने नियमहरू लेखिएको “अनुबन्ध पत्र” रहेछ ।
यहाँ संसारभरबाट ल्याइएका निकै कलात्मक कृतिहरू र सुन्दर तोराहका पुस्तक, हागदाहरु थिए ।
धेरै वर्ष पहिले यहुदीहरू संसारभर छरिएर रहेका थिए । वास्तवमा प्रवासमा रहेका नेपालीहरूले बारम्बार लिने गरेको “डायस्पोरा” शब्द यिनै यहुदीको विस्तारलाई जनाउने शब्द हो । इतिहासको कुनै कालखण्डमा यहुदी डायस्पोरा भारतीय उपमहाद्वीपमा पनि फैलिएको तथ्य दक्षिण भारतको कोची सहरबाट आयातित यी हस्तलिपीहरुले दर्साइरहेका थिए ।
शब्दहरूको खजाना” शीर्षकको प्रदर्शनी कक्षमा पौराणिक हिब्रु साहित्यका महान् आख्यान र काव्यहरू मात्र होइन यहाँ अङ्ग्रेजी, उर्दु, अरबिक वा अन्य विभिन्न भाषामा लिपिबद्ध भएका दुर्लभ कृतिहरू पनि सङ्गृहीत थिए जसले सदियौँदेखि मानव सभ्यता , शब्दको शक्ति, प्रेम र साहित्यको महिमा उजागर गरिरहेका थिए ।
१२ औँ शताब्दीमा पर्सियन कवि निजामी द्वारा रचना गरिएको कृति लैला मजनुका ९ प्रकारका अनेक संस्करणहरू यहाँ राखिएका थिए तीमध्ये मुल्लाह मीर अल उस्तादीले कोरेका हस्तलिखित पाण्डुलिपि मलाई असाध्य मन परे ।
सो पाण्डुलिपिमा लैला मजनुका कविता र बिच बिचमा हातले कोरिएका सुन्दर चित्रहरू थिए । म फेरि एकपटक स्मृतिको घना जंगलमा हराएँ, जहाँ कमिक्स, मंगा या चित्र कथाहरूमा रमाइरहेको मेरो आफ्नै वाल्यकाल फर्किएको थियो ।
चित्रहरू केवल वाल मस्तिष्कका उपक्रम मात्र कहाँ रहेछन् र ? यी त महान् साहित्य प्रस्तुत गर्ने माध्यम पनि रहेछन् । सुन्दर आकृति र चित्रयुक्त ग्रन्थहरूको विशाल लहरले मलाई पुलकित बनायो । एउटा चित्रमा मजनु नीलो आँखा भएको एक हरिणलाई अँगालो हालिरहेका थिए, त्यो उनको अप्राप्त प्रेमिका लैलाको प्रतीक थियो ।
दियो बाल्ने पर्व – हानुक्का
११ तलाको उचाइमा रहेको यो भवन हेर्दा अपत्यारिलो देखिन्थ्यो तर भित्र प्रवेश गरेपछि यो निकै भव्य थियो । मलाई किन किन यसको संरचना पौराणिक कथाहरूमा वर्णित कुनै महलजस्तै रहस्यमय लागे । बाहिर देखिएको भागभन्दा धेरै जमिनमुनिको भूमिगत गुफाजस्तो संरचनामा यो विस्तारित भएको थियो । यसको छानो र झ्यालहरूको वास्तु यसरी डिजाइन गरिएको थियो जहाँबाट छिर्ने सूर्यको उज्यालो किरण भुईँ र भित्ताहरूमा ठोकिदा अक्षर बनेर झर्थे ।
यो पुस्तकालयमा करिब ४६हजार वर्ग मिटरको विशाल क्षेत्रफलमा ५० लाख पुस्तकहरू र पुरातात्त्विक महत्वका विविध वस्तुहरू गरेर ८० लाख सामाग्रीहरू सङ्गृहीत थिए । धर्म दर्शन खोज अनुसन्धान साहित्य लगायतका अनेकन् विषयका ज्ञानको खजाना बोकेको यो पुस्तकालय साँच्चै नै विराट, अनुपम र भव्य थियो।
पुस्तकहरूको अलग्गै संसार प्रतीत हुने जेरुसेलम राष्ट्रिय पुस्तकालय मलाई यति प्रिय लाग्छ कि जति पटक आउँदा पनि कहिल्यै धीत मर्दैन ।
काठमाडौँमा हुँदा नेपाल भारत पुस्तकालय या केशर पुस्तकालयमा मेरो सधैँजसो वास हुने गर्थ्यो वा भनौं म भेटिने अखडाहरू तिनै थिए ।
इजरायलमा गाडी कुर्ने बस स्टप, खेल मैदान तथा बगैँचा, मन्दिर कार्यालय जताततै पुस्तकालय थिए । रमाइलो कुरा त के भने सिसिटिभीको निगरानीबाहेक कुनै लाइब्रेरियन नभएका सडक र पार्कका ती पुस्तकालयहरूबाट मन परेका पुस्तकहरू जति पनि ल्याउन सकिने र चाहेको बेला फर्काउन सकिने ।
प्रविधि र श्रव्य दृष्यको अत्यन्तै सुन्दर संयोजन भएको यस जेरुसेलम राष्ट्रिय पुस्तकालय केवल पुस्तकालय मात्र नभई पुरातात्त्विक महत्वको कुनै म्युजियम जस्तो पनि प्रतीत भइरहेको थियो ।
झरी अझै रोकिएको थिएन । सिम सिम पानी परेपछि जेरुसेलममा पक्का हिउँद महसुस हुन्छ । लामो समय लगातार झरी परिरह्यो भने यहाँका सडक र गल्लीहरू कपासजस्तै सेताम्मे हिउँका थुप्राहरूले पुरिन्थे, तर त्यस्तो कठोर मौसम अझै आइसकेको थिएन ।
अङ्ग्रेजी नयाँ वर्षको आरम्भ हुँदै गर्दा इजरायलमा हानुक्का नामको ८ दिने चाड भर्खरै सकियो । जेरुसेलमको पवित्र स्थान पश्चिम पर्खाल र यहाँका हरेक घर मन्दिर तथा कार्यलयहरुमा झिलिमिली दीप प्रज्वलित भए , मैले घर सम्झिएँ , दीपावली र तिहार सम्झिएँ ।
हानुक्का दीपावली र उज्यालोको उत्सव हो, जब नेपालको कुनै गाउँघरमा तिहारमा देउसी भैलो भट्याएजस्तै मन्त्र र गीतहरू फलाक्दै गरेको प्रार्थनाको ध्वनि जेरुसलेमका घरहरूमा गुन्जिए, देउसी भैलो गाउँदै हिँडेको आफ्नै बाल्यकाल र किशोर वयका यादहरू ताजा भएर आए ।
भूत र रोबोट एकै ठाउँ
पुस्तकालयमा एकातिर दन्त्यकथामा वर्णित प्रेतात्मा र भूतका अनेक सामाग्री, किस्सा र सङ्ग्रहहरू थिए भने सोही ठाउँमा अर्कोतर्फ प्रविधिको उच्चतम प्रयोग गरेर तिनको व्यवस्थापन अझ सटिक र छरितोसँग गरिएको थियो ।
पुस्तकालयमा मैले यस्तो पुस्तक भेटेँ जसका पानाहरू सामान्य पुस्तकजस्तै छुन र पल्टाउन मिल्ने खालका थिए तर ती पानाहरू आफैमा इन्टर्याक्टिभ स्क्रिन थिए जसलाई टच स्क्रिन डिभाइसजस्तै छुन क्लिक गर्न र आदेश दिन सकिन्थ्यो भने किताबजस्तै पल्टाएर हरेक पेजहरू पढ्न पनि सकिन्थ्यो ।
नेपोलियन बोनापार्ट मध्यपूर्व विजय गर्ने क्रममा इजिप्ट हुँदै हाल इजरायलको जाफा देखि हाइफासम्म कसरी यात्रा गरेका थिए नक्सासहित यसको वृत्तान्त लेखिएको तस्बिर र स्लाइडहरु भएको एक पुस्तक प्रविधिको उत्कृष्ट नमुनाको रूपमा रहेको थियो ।
यस पुस्तकालयको अर्को आकर्षण भनेको रोबोट कर्मचारी हुन । निकै गहिरो भूमिगत संरचनामा रहेको पुस्तकहरूको रोबोटिक वेयरहाउसमा माग बमोजिम पुस्तक निकाल्न र फिर्ता आएका पुस्तक उचित स्थानमा राख्न चार वटा रोबोटहरू खटिइरहेका देखिए । यहाँ भएका लाखौँ किताबहरू ठ्याक्कै र सुरक्षित रूपमा राख्न ती रोबोटहरूको भूमिका थियो ।
अत्यन्त द्रुत गतिमा पुस्तकहरूको भण्डारण र निकासी गर्ने यी रोबोटहरूले पुस्तकालयको कार्य सम्पादन चुस्त बनाएका थिए । माइनस तेस्रो तलामा रहेका सिसाको झ्यालबाट रोबोटका गतिबिथिहरु नियाल्न सकिन्थ्यो ।
प्राचीन युरोपीय शैलीमा डिजाइन गरिएको पुस्तकालयको गोलाकार अध्ययन कक्ष पनि निकै भव्य र आकर्षक थियो जहाँ एकै पटक ६०० मानिसहरू बसेर अध्ययन गर्न सक्थे । एक पटक बसेपछि घन्टौँ घण्टा पढिरहूँ जस्तो लाग्ने शान्त र आनन्दमय वातावरण थियो ।
युद्धको अनन्त शृङ्खला
इजरायलको उत्तरी सिमानामा पर्ने लेबनानमा रहेका इस्लामिक प्रतिरोधी समूह हिजबोल्लाहसँग युद्ध विराम भएको थियो । अब यो प्रकरणको अन्त्य भइहाल्छ कि भन्ने झिनो आशा पलाएको थियो । कतै कतै दक्षिणमा गाजातर्फ हमाससँग पनि युद्ध विराम हुँदैछ भन्ने समाचार आइरहेका थिए ।
यस्ता समाचारहरूले अलिकति आशाको सञ्चार त गरेका थिए नै, तर युद्धरत दुवै पक्षले आ आफ्ना अहंका अडानहरू त्याग्न सकेका थिएनन् । जसले गर्दा सम्झौताहरूमा पटक पटक धोकाको पुनरावृत्ति भइरहेथ्यो र युद्ध अनन्त लम्बिइरहेको थियो । अब त हामीलाई साइरनका धुनहरू सामान्य लाग्न थालेका थिए । रकेट र विस्फोटनका आवाजहरूसँग हामी भयभीत हुन पनि छाडिसकेका थियौँ, युद्ध र आक्रमणका यी सबै घटनाहरूसँग हामी अभ्यस्त भइसकेका थियौँ ।
पुस्तकालयमा एक विशेष कक्ष थियो जहाँ भित्ताभरि २० मिटर फराकिलो विशाल स्क्रिनमा श्रव्य दृश्य सामाग्रीहरू प्रदर्शन गरिन्थे । अन्य विविध सिर्जनात्मक प्रस्तुतिसँगै हमास आक्रमणमा मारिएका र बन्दी बनाइएका अपहरितहरूको वृत्तचित्र र उनका सम्झनामा कोरिएका साहित्य क्रमशः भित्तामा पोखिन थाले । आतङ्कको अव्यक्त पीडाले आक्रान्त भएका सयौँ नागरिकहरूसँगै जब हमासको अपहरणमा परेका विपिन जोशीको तस्बिर स्क्रिनमा देखियो, अनि म एकाएक भावुक भएँ ।
समयको स्वभाव हो बदलिन्छ । भन्छन्, जतिसुकै गहिरा भए पनि एक दिन घाउहरू पुरिनेछन् । पछिल्ला वर्षहरूमा युद्धको कालो बादल अफगानिस्तानबाट हटेर युक्रेन र रसिया हुँदै मध्यपूर्व तिर मडारिन पुग्यो ।
यी वर्षहरू मध्यपूर्व युद्धको ठुलो भुमरीमा पर्यो, हजारौँले ज्यान गुमाए लाखौँ अङ्गभङ्ग भए । यहाँको जनजीवन कहालीलाग्दो युद्धले आक्रान्त भयो । प्यालेस्टाइनको हमास, इराकी मिलिसिया, साउदी अरब र यमनमा सक्रिय हुथी, लेबनानका हिजबोल्लाह सहित मध्यपूर्वको शक्ति इरान समेत इजरायलसँग प्रत्यक्ष रणभूमिमा उत्रिए । विश्व सञ्चारमा जस्तो छवि स्थापित भएतापनि अस्तित्वका लागि इजरायलले गरेको सङ्घर्ष शब्दमा अवर्णनीय रह्यो ।
विश्वमा धेरै विनाशकारी युद्धका शृङ्खलाहरू थपिए । सिरिया, म्यानमार, नाइजेरिया, मेक्सिको, ब्राजिल, सुडान, क्यामरुन तथा कोलम्बिया जस्ता देशहरूमा पनि विभिन्न स्वरूपका युद्ध र घातक सङ्घर्षहरू भए । अबका बर्षहरुमा भने त्यस्तो नहोस् र युद्ध रोकियोस् । मानवीय सभ्यता नै लज्जित हुने गरी हाम्रो समयको आकाशमा मडारिएका युद्धका काला बादलहरू क्रमशः हट्दै जाउन् … हामीसँग केवल कामना र प्रार्थनाहरू मात्र बाँकी थिए ।
अरु यस्तै लेखहरु ‘कृष्णपक्षको ब्लग’मा पनि पढ्न सक्नुहुन्छ ।
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन । उनको ब्लग krishnathapa.comउनका अरु लेखहरु पढ्न सकिन्छ ।