हमासले आज गाजामा ज्यान गुमाएका बन्धकहरूको शव इजरायललाई फिर्ता गर्ने भएको छ। इजरायली अखबार टाइम्स अफ इजरायल का अनुसार, बिहीबार साँझसम्म हमासले चार बन्धकका अवशेषहरू फिर्ता गर्न लागेको हो।
ती बन्धकहरूको नाम हमासले बुधबार नै इजरायललाई पठाइसकेको थियो।
३३ वर्षीया शिरी बिबस, उनकी नाजुक मुस्कान भएका पाँच वर्षीय एरियल, झन्डै दुई वर्षका (अपहरणमा पर्दा उनी ९ महिनाका मात्र थिए ) निश्चल आँखा भएका छोरा केफिर, र ८४ वर्षका जीवनका असंख्य अनुभव बटुलेका पाका वृद्ध ओडेड लिफसिथ गाजामा हमासको अपहरणमा रहेकै बेला उनीहरु मारिए, यी सबै अब कहिल्यै घर फर्कन सक्ने छैनन् ।
सबैभन्दा कम उमेरका बन्धक केफिर, जो जबरजस्ती बन्धक बनाएर गाजामा लगिँदा मात्र नौ महिनाका थिए, उनको कथा संसारकै लागि एउटा गहिरो पीडाको प्रतिबिम्ब बनेको थियो ।
हमासले उनको शव फिर्ता गर्ने खबरसँगै गुलाबी रंगको खेलौना हात्ती अँगाल्दै, दाँत नभएको मुस्कान सहित क्यामेरामा सिधै हेरिरहेको उनको तस्बिर फेरि नेटिजनहरु माझ फैलिएको छ । त्यो निर्दोष मुस्कान, जुन कहिल्यै फिर्ता आउने छैन…

इजरायलले गत अक्टोबरदेखि पक्राउ परेका १९ वर्षमुनिका सबै महिला र प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने भएको छ। त्यस्तै, इजिप्टले गाजाको भग्नावशेष हटाउन आवश्यक मेसिनहरू लैजान अनुमति दिनेछ, जहाँ युद्धले अनगिन्ती सपनाहरूलाई चकनाचुर बनाइसकेको छ।
केफिरलाई जब हमासले बन्धक बनायो, उनी केवल ९ महिनाका थिए—निर्दोष मुस्कानसहित आमाको अँगालो खोजिरहेका शिशु । हमासले नोभेम्बर २०२३ मा उनकी आमा शिरी र दुवै सन्तान इजरायली बम विस्फोटमा मारिएको दाबी गर्यो। तर इजरायलले यो कहिल्यै स्वीकार गरेन। सत्य के हो भन्ने अझै अनुत्तरित छ, तर दुई अहमहरुको युद्धमा हजारौं परिवार तहस नहस भैसकेका छन र लाखौँ विस्थापित ।
जनवरी १९ मा इजरायल र हमासबीच बन्धकहरूको रिहाइका लागि युद्धविराम सम्झौता भएको थियो। सम्झौताअनुसार, ११०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा १९ जना इजरायली बन्धकहरूलाई मुक्त गरिएको छ। तर, बाँकी १४ मध्ये आठ जनाको मृत्यु भइसकेको इजरायलले पुष्टि गरिसकेको छ।
युद्धविरामले केहीलाई घर फर्काएको छ, तर अझै धेरैको भविष्य अनिश्चितताको गर्तमा छ। कतिपयका लागि आशाको दियो निभ्न नदिने मात्र विकल्प बाँकी छ… ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com