नेपाल इजरायल डट कम – हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि नेपालका सभामुख देवराज घिमिरेले अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल-यमाहीलाई पत्र लेखेका छन्। शुक्रबार पठाइएको पत्रमा सभामुख घिमिरेले विपिनको सकुशल उद्दारका लागि विशेष पहल गर्न अनुरोध गरेका छन्।
सभामुख घिमिरेले पत्रमा नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीको शीघ्र रिहाइका लागि सहयोगको अपेक्षा गरेका छन्। उनले नेपाल सरकारले इजरायल-हमास युद्धविराम तथा बन्दी आदान–प्रदान सम्झौताका लागि लिएको सकारात्मक दृष्टिकोणलाई पनि पत्रमा उल्लेख गरेका छन्।
७ अक्टोबर २०२३ मा हमासद्वारा अपहरण गरिएका जोशीको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको छ। हालसम्म हमासले केही बन्धकहरूलाई रिहा गरे पनि विपिनको अवस्था अन्योलमै छ। नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुख घिमिरेसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कूटनीति समेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए।
सभामुख घिमिरेले नेपालले सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नेपाल र अरब लिगबीच थप सहकार्य आवश्यक रहेको बताएका छन्।
उनको यस अपिलसँगै विपिन जोशीको सकुशल उद्दारका लागि कूटनीतिक तहमा थप प्रयास हुने अपेक्षा गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com