खेमराज जम्मर कट्टेल
तेल अभिव, इजरायल
आशाको एउटा उदाउँदै गरेको घाम बोकेर हिँडेका प्रवासीहरू । माटो गन्हाउने खेतहरू, साथीहरूसँग खेलिएको गिट्टी-पिङ, बिताएका पल, गाउँका मेला महोत्सवमा पहिलो पटक लगाएको लुगा, आत्मीयता, माया, मामा घर परिवार सबै छोडेर। आखिर केका लागि ? केही पैसा कमाउने आशामा र त्यही पैसाले सायद आफ्नो र परिवारको जीवन बदलिन्छ भन्ने ठुलो सपना र विश्वासमा।
अन्ततः त्यही सपना र विश्वासले जवानी च्यातिदियो । देशमा कामको अवसर थिएन। पढाइ सकिएपछि बेरोजगारीको पीडाले थिच्दै लग्यो। स्वरोजगारको विकल्प त कागजका भाषणमै मात्र सीमित थिए । अनि लाग्यौ विदेश यात्रामा, जहाँ जीवन सुरु हुने भन्दा पनि श्रम सुरु भयो । सस्तो पसिना र महँगो सपना लिएर हामी परिश्रम गर्न थाल्यौँ।
पहिलो केही महिना बिरानोपन, केही महिना छटपटी, अनि त्यसपछि लुगा, जुत्ता, अनुहार र बानी सबै त्यही देशको जस्तै तर भित्रभित्रै हामी नेपाली नै थियौँ माटोको त्यो गन्ध महसुस गर्दै, गाउँ परिवार, सन्तान र बा आमाको मुख सम्झिँदै ।
हामीले त केवल पैसा कमाएका छौ तर जवानी गुमाएका छौँ। २०-२५ को उमेरमा देशका लागि सपना देख्नु पर्ने, समाज परिवर्तनको नेतृत्व सम्हाल्नु पर्ने, पुस्ता निर्माणको आधार तयार गर्नु पर्ने हामीहरू, विदेशका खुल्ला आकाशमा आफूलाई बिर्सँदै गयौ, सपनाहरू एक एक पैसामा किन्दै गयौ ।
तर आशा अझै बाँकी छ देशका लागि, नयाँ पुस्ताका लागि र भविष्यका युवाहरूका लागि जसले सायद हाम्रो जस्तो यात्रा कहिल्यै गर्नु नपरोस्।
त्यो उमेर जुन प्रेम गर्न हुन्थ्यो, त्यो समय जुन बुबाको काँधमा परिवारको जिम्मेवारी सँगै कर्तव्य पनि सिक्नु पर्थ्यो, त्यो फुर्सद जहाँ साथीहरूसँग सुत्दासुत्दै बिहान हुने गर्थ्यो, त्यो सबै प्रदेशी भूमिले खायो। हामी बाँकी रह्यौ केवल मसिनजस्तै काम गर्ने श्रमिकको रूपमा।
देशले हामीलाई के दियो ? न अवसर, न सम्मान। अनि हामीले देशलाई के दिन सक्यौँ? रेमिटेन्स ! जसलाई उनीहरू आँकडाको भाषामा मात्र सम्झन्छन्। तर त्यो रेमिटेन्स भित्रको हाम्रो निन्द्राहीन रात, घाममा जलेको छाला, मजदुरी र च्यातिएर चिच्याई रहेको हाम्रो आत्मा आखिर कसले देख्छ र सुन्छ !
हाम्रो देश यतिखेर राजनीतिक रूपमा असाध्यै धनी छ, भाषणले टिलपिल भरिएको र आश्वासनले देशनै भिजेको छ तर युवाहरूको लागि गरिने काम, प्रवासी युवाको पीडा, तिनीहरूको गुमेको जवानी र चुँडिएको आत्मबल अझै पनि नेताहरूको कोठाको दराजमा बन्द गरी थनक्याईएर राखिएको छ ।
आज हामी कयौँ प्रवासी ४० वसन्त पार गरिसक्यौँ। देश फर्कन मन लाग्छ। तर कहिले फर्किने सबैको मनमा यही एउटा कुराले जरा गाडेर बसेको छ । जहाँ हाम्रो पुस्तालाई सम्बोधन गर्ने कुनै योजना नै छैन देश सँग । हामीले जवानी त गुमायौँ नै, अब सायद बुढेसकाल पनि परदेशकै छायामा बित्नेछ। तर आशा अझै बाँकी छ देशका लागि, नयाँ पुस्ताका लागि र भविष्यका युवाहरूका लागि जसले सायद हाम्रो जस्तो यात्रा कहिल्यै गर्नु नपरोस्।
केही वर्ष काम गर्छु अनि फर्कन्छु भन्ने सपना बोकेर आएका हामी अहिलेसम्म फर्कन सकेका छैनौँ। उत्तर नपाएको एउटै प्रश्नले बार बार आफैलाई सोध्छ । आखिर कहिले फर्किने ? कहिलेसम्म हामी परदेशमा आफ्ना सुनौलो वर्षहरू बेचिरहने? कहिले आफ्नै माटोमा खुलेर जीवन जिउन पाउने ?
प्रश्नै प्रश्नका बिच पनि मन बुझाउँछौ ! हामी प्रवासी हौँ, हारेका होइनौँ। हामी जवानी लुटिएकाहरू हौँ, तर भविष्य निर्माण गर्ने साहस हामीसँग अझै बाँकी छ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झापा दमक स्थायी घर भई विगत १० वर्षदेखि इजरायलमा रहेका खेमराज जम्मर कट्टेल , सामाजिक र बौद्धिक क्षेत्रमा सक्रिय छन्। नेपाली युवाको प्रवासी पीडा, बेरोजगारी र समसामयिक विषयमा लेखहरू प्रकाशित गर्दै आएका उनि इजरायलमा खेलकुद र सामाजिक एकतामा पनि सक्रिय छन्। समाधानमुखी, यथार्थवादी र देश प्रेमले भरिएको विचार शैलीले उनलाई परिवर्तनशील लेखक र सामाजिक अभियन्ताका रूपमा पनि चिनाउँछ।
- This author does not have any more posts.