नेपाल इजरायल डट कम, इजरायल । हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको रिहाइको माग गर्दै इजरायलमा रहेका नेपाली समुदायले निरन्तर बिरोध प्रदर्शन गरिरहेका छन् । तेलअभिभस्थित लेविनिस्की पार्क लगायत अन्य क्षेत्रमा आयोजित यी प्रदर्शनहरूमा नेपालीहरूले इजरायली बन्धक परिवारका सदस्यहरूसँग ऐक्यबद्धता जनाउँदै आफ्नो आवाज बुलन्द गरेका हुन्। यो आन्दोलन केवल एक व्यक्तिको स्वतन्त्रताको आह्वान मात्र नभई, परदेशी भूमिमा नेपालीहरूको अस्तित्व, सम्मान र सुरक्षाप्रतिको सामुहिक चिन्ता र दृढ प्रतिबद्धताको एक जीवन्त अभिव्यक्ति हो ।
बिपिन जोशीको नियति र समुदायको चिन्ता
सुदूरपश्चिम नेपालको कञ्चनपुरका एक नेपाली युवा विपिन जोशी, इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत श्रम र शिक्षाको खोजीमा पुगेका इजरायल आइपुगेका थिए। गत अक्टोबर ७, २०२३ मा हमासले गरेको अमानवीय आक्रमणका क्रममा १० नेपाली युवाले ज्यान गुमाएका थिए भने हमासले विपिनलाई बन्धक बनाएर अज्ञात स्थलमा लगेको थियो। आजसम्म उनको अवस्था अज्ञात छ । केही समय अगाडी मात्र ‘टाइम्स अफ इजरायल’ ले समेत उनको जीवनको कुनै संकेत नभेटिएको उल्लेख गरेको थियो। यस त्रासदीपूर्ण अवस्थाले इजरायलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई गहिरो चिन्तामा पारेको छ।
ऐक्यबद्धता र आक्रोशको स्वर
इजरायलमा रहेका नेपालीहरूले इजरायली बन्धकका परिवारसँगै प्रदर्शनमा सहभागी भई विपिन जोशीसहित हमासद्वारा बन्धक बनाइएका अन्य सबैको शीघ्र र सुरक्षित रिहाइको माग गरेका छन्। “हाम्रो विपिनलाइ छिटो घर फर्काउ!” जस्ता मार्मिक नारासहित ब्यानर र प्लेकार्ड बोकेर शान्तिपूर्ण रूपमा उनीहरूले आफ्नो आवाज प्रस्तुत गर्दै आएका छन । यो प्रदर्शन केवल सडकको कोलाहल मात्र होइन, बरु परदेशी भूमिमा रहेको एक समुदायको सामुहिक वेदना र अदम्य एकताको प्रतीक बनेको छ। उनीहरू नेपाल सरकारले बन्धक समस्या समाधान गर्न चाँडो, स्पष्ट र परिणाममुखी कदम चाल्नुपर्ने धारणा राख्छन्।
इजरायली बन्धकका परिवारसँगै नेपाली समुदायको प्रदर्शन, विपिन जोशीको रिहाइको माग
विपिन जोशीबारे टाइम्स अफ इजरायलले लेख्यो – जीवनको संकेत अझै भेटिएन
नेपाल सरकारप्रतिको गुनासो र अपेक्षा
नेपाली समुदायले नेपाल सरकारको मौनता र निष्क्रियताप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार, विपिन जोशी हमासको कब्जामा परेको लामो समय भइसक्दा पनि सरकारले उनको रिहाइका लागि उचित कूटनीतिक पहल गर्न नसकेको गुनासो छ । इजरायलवासी सचेत नेपालीहरूले प्रधानमन्त्रीलाई औपचारिक ज्ञापनपत्र बुझाउँदै सरकार भ्रष्टाचार, कुशासन र शक्ति संरक्षणमा मात्र केन्द्रित भई नागरिकको सुरक्षामा संवेदनहीन बन्दै गएको आरोप लगाएका छन्। उनीहरूका लागि सरकारको यो मौनता केवल राजनीतिक असफलता मात्र नभई मानवीय असंवेदनशीलताको चरम उदाहरण हो ।
ज्ञापनपत्रमार्फत सारभूत मागहरू
समुदायले प्रधानमन्त्रीलाई सम्बोधन गरेको ज्ञापनपत्रमार्फत नेपाल सरकारसँग निम्न लिखित ठोस कदमहरू चाल्न आग्रह गरेका छन्:
* विपिन जोशीको रिहाइका लागि तत्काल उच्च-स्तरीय कूटनीतिक टोली गठन गरियोस् ।
* अन्तर्राष्ट्रिय मानवीय संस्थासँग समन्वय गरी आवश्यक दबाब सिर्जना गरियोस् ।
* पीडित परिवारलाई आधिकारिक जानकारी नियमितरूपमा दिइयोस् ।
* यस घटनाको यथार्थ विवरण नागरिकहरूलाई सार्वजनिक गरियोस् ।
* विपिनजस्ता नागरिकको सुरक्षाका लागि दीर्घकालीन रणनीति तय गरियोस् ।
समुदायले नेपाल सरकारको पहल अपर्याप्त भएको भन्दै थप सक्रिय भूमिकाको अपेक्षा गरेका छन ।
इजरायलमा रहेको नेपाली समुदायको यो सक्रियता बन्धक मामिलामा बढ्दो चासो र आफ्नो नागरिकको सुरक्षाप्रतिको दृढ प्रतिबद्धताको संकेत हो । यस्ता प्रदर्शनहरुले नेपाली डायस्पोराको सामुहिक शक्ति र मानवीय संवेदनशीलतालाई उजागर गरेको छ। सहभागी मध्ये इजरायलको तेल अभिभमा कार्यरत एक नेपाली सामाजिक अभियन्ता लक्ष्मी तिम्सिनाका अनुसार विपिन जोशीको बारेमा प्रस्ट जानकारी प्राप्त नभएसम्म या उनको सुरक्षित घर फिर्ती नभएसम्म यस्ता प्रदर्शन र बिरोधका आवाजहरु अझै निरन्तर गुन्जिरहने देखिन्छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com