इजरायलमा हमासद्वारा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको रिहाइको माग गर्दै त्यहाँस्थित नेपाली समुदायले दबाबमूलक प्रदर्शन गरेका छन्।
इजरायली बन्धक परिवारका सदस्यहरूले सञ्चालन गरिरहेको आन्दोलनमा नेपालीहरूसमेत ऐक्यबद्धता जनाउँदै सहभागी भएका हुन्। प्रदर्शनमा सहभागी नेपालीहरूले विपिन जोशीसहित अन्य सबै बन्धकहरूको शीघ्र सुरक्षित रिहाइको माग गर्दै सरकारसँग गम्भीर कूटनीतिक पहलको आह्वान गरेका छन्।
उनीहरूले नेपाली सरकारलाई बन्धक रिहाइका लागि अन्तर्राष्ट्रिय माध्यममार्फत सक्रिय हुन आग्रह गर्दै केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक ज्ञापनपत्रसमेत बुझाइसकेका छन्।
प्रदर्शनमा सहभागी नेपालीहरूले “हाम्रो विपिनलाइ छिटो घर फर्काउ!” भन्ने नारासहित ब्यानर र प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए।
इजरायलमा रहेका नेपालीहरू हाल विपिनको अवस्थाबारे चिन्तित छन् र बन्धक समस्या समाधान गर्न नेपाल सरकारले चाँडो, स्पष्ट र परिणाममुखी कदम चाल्नुपर्ने धारणा राख्छन्।
विपिन जोशी सुदूरपश्चिम नेपालको कञ्चनपुरका बासिन्दा हुन्, जो इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी भई अध्ययन र श्रमका सिलसिलामा इजरायल पुगेका थिए। हमासले गत अक्टोबर ७ मा गरेको आक्रमणका क्रममा उनी बन्धकमा परेका थिए।
यसबीच, विपिनको अवस्था अझै अज्ञात छ, र उनको सुरक्षित रिहाइका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आवाज उठ्न थालेको छ। नेपाली समुदायको यो सक्रियता बन्धक मामिलामा चासो बढ्दै गएको संकेतको रूपमा लिइएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com