इजरायलस्थित नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्चको तेस्रो राष्ट्रिय अधिवेशन २५ जुलाई २०२५ मा उत्साहजनक सहभागिता, वैचारिक प्रतिबद्धता र साङ्गठनिक अनुशासनका साथ भव्य रूपमा सम्पन्न भएको छ।
यस अधिवेशनले रमेश जोशीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्वाचित गर्दै प्रवासी नेपाली समुदायको प्रतिनिधित्व गर्ने सशक्त नेतृत्व चयन गरेको छ।
केन्द्रीय नेतृत्वको उपस्थिति: स्पष्ट सङ्केत
सङ्गठनको वैधताको कार्यक्रममा नेपालबाट नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा र युवा सङ्घ नेपालका पूर्व उपाध्यक्ष पुष्पराज श्रेष्ठको विशेष उपस्थिति रहनुले सो अधिवेशनको वैधानिकता र महत्त्वलाई अझ स्पष्ट बनाएको छ।
पार्टीका केन्द्रीय प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता तथा सहमतिको आधारमा सम्पन्न अधिवेशनले एमाले प्रवासी सङ्गठनभित्रको नेतृत्वलाई विधिपूर्वक स्थापित गरिदिएको छ।
सकारात्मक सन्देश: गुट होइन, एकता र विचारप्रति प्रतिबद्धता
नव-निर्वाचित नेतृत्वले “पार्टी विचार, सिद्धान्त, विधि र अनुशासनको संरक्षक हो। हामी व्यक्तिगत स्वार्थ होइन, साझा विचार र प्रवासी हितमा काम गर्ने सङ्कल्पका साथ अघि बढेका छौँ ।कुनै भ्रममा नपरी, सङ्गठनलाई सशक्त बनाउनु आजको आवश्यकता हो।”यस सन्देशले कार्यकर्ताहरूबिच उत्पन्न हुन सक्ने द्विविधालाई अन्त्य गर्दै एकताको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।
प्रवासी राजनीतिमा सङ्गठनात्मक स्पष्टता र सकारात्मक प्रतिस्पर्धा आवश्यक प्रवासी नेपाली समाजभित्र सङ्गठनहरू बढ्नु स्वाभाविक प्रक्रिया हो। तर, सङ्गठनको उद्देश्य स्पष्ट हुनु, अनुशासन पालना हुनु र नेतृत्वको वैधता केन्द्रीय मान्यता र विधिको आधारमा सुनिश्चित हुनु आवश्यक छ।
यस अधिवेशनले देखाएको परिपक्वता, नेताहरूको सक्रिय सहभागिता र कार्यकर्ताहरूको स्पष्ट समर्थनले प्रवासी नेपाली मञ्च इजरायलको आगामी यात्रालाई सशक्त, सङ्गठित र सकारात्मक दिशा तर्फ डोर्याएको छ।
हामी प्रवासी भूमिमा रहेर पनि विचार र अनुशासनको मार्गमा चल्न प्रतिबद्ध छौँ। हामीले नेतृत्वको प्रतिस्थापन होइन, सुदृढीकरणका लागि योगदान दिएका हौं। एमाले विचारको पहिचान अनुशासन, कार्यशैली र जनप्रतिनिधित्वमा देखिनुपर्छ — यो अधिवेशनले त्यही सन्देश दिएको छ।
शिवराज खड्का,
(निवर्तमान उपाध्यक्ष )
प्रवासी नेपाली मञ्च इजरायल
विभिन्न संस्थामा आवद्ध रही सामजिक कार्यमा रुची राख्ने शिवराज खड्का हाल इजरायलको जेरुसलेममा केयरगिभरको रुपमा कार्यरत छन ।















